आक्रोशलाई विध्वंसमा होइन, निर्माणमा बदलौँ

नेपाल फेरि एउटा अशान्त मोडमा आइपुगेको छ । देश बनाउन उठेका युवाहरूको आव्हानमा शुरु भएको आन्दोलनले क्षणभरमै विध्वंसको दृश्य देखायो । सडकमा आक्रोश पोखिँदै गर्दा नागरिकको तन र मन दुवै घाइते भए । अझैसम्म पनि सामान्यता फर्किन सकेको छैन । रातभरको डर, असुरक्षा र अविश्वासले मानिसहरूलाई पिरोलेको छ ।
राजधानी उपत्यकासँग जोडिएको काभ्रेपलाञ्चोक जिल्ला पनि आन्दोलनको प्रमुख केन्द्र बन्यो । उपत्यका प्रवेश गर्ने प्रमुख नाकहरुमा सम्झाँझै कफर््यु जारी भए । सरकारी भवनदेखि स्थानीय नेताको निजी घरसम्म आक्रमण भए । बनेपा नगरपालिका, प्रहरी कार्यालय, ट्राफिक कार्यालयदेखि पनौती र धुलिखेलका संरचना पूर्ण रूपमा क्षति भए । पूर्वमन्त्री, सांसददेखि नगरप्रमुख, उपप्रमुख र वडा अध्यक्षसम्मका घर र सम्पत्ति जले । विद्यालय भवन देखि अन्य सरकारी संरचनामा क्षति भयो । यस्तो क्षतिले केवल भौतिक संरचना मात्र नष्ट गरेन, स्थानीयको विश्वास पनि धराशायी बनायो । राजधानीमा ठूलो आन्दोलन हुने संकेत पहिले नै देखिएको थियो । तर राज्यका संयन्त्रहरूले त्यस्तो परिस्थिति व्यवस्थापन गर्न न तयारी गरे न संवादको आब्हान गरे । माग सुन्ने सट्टा गोली चलाइयो । जसको परिणाम पहिलो दिनमा १९ निर्दोषको मृत्यु भयो । मृत्यु हुनेको संख्या हालसम्म ७२ भन्दा धेरै नाघिसकेको थियो । त्यही दिनदेखि आक्रोशले नयाँ रूप लियो । प्रहरी, प्रशासन र राजनीतिक नेतृत्व सबैले नेतृत्व दिन असफल भए । नेपाली सेनाले अन्ततः जिम्मा लियो तर ढिला । यस्तो अवस्थाले नागरिकलाई झन् राज्यविहीनताको अनुभूति गरायो । 
शुरुमा शान्तिपूर्ण देखिएको आन्दोलन विस्तारै हिंसात्मक भयो । आगजनी, तोडफोड र लुटपाटले आन्दोलनलाई बदनाम ग¥यो । राज्यविरुद्ध उठेको स्वर व्यक्तिगत रिसईवी र सम्पत्ति विनाशमा परिणत भयो । राजनीतिक नेतृत्वको असफलता स्पष्ट भए पनि, युवा पुस्ताले आक्रोश नियन्त्रित गरेर संरचना जोगाउन सक्ने अवसर गुमायो । नेताहरूले भाषणमा राम–राज्यको उपमा दिने गर्छन् । तर अहिले मुलुकमा देखिएको अवस्था त्यसको ठीक उल्टो छ—हत्या, दमन, आगजनी र कफ्र्यु । सामाजिक सञ्जाल बन्द गर्ने निर्णय आन्दोलन भड्काउने प्रमुख कारण बन्यो । बेरोजगारी, असमान अवसर र भ्रष्टाचारप्रति निराश युवाले आफ्नो आक्रोश सडकमा पोखे । 
ह्यासट्यागबाट सुरु भएको असन्तुष्टि अन्ततः प्रधानमन्त्रीको राजीनामासम्म पुगेको छ । नागरिकको नजरमा ‘राम–राज्य’ होइन, अराजकताको राज्य स्थापित भएको अनुभूति भइरहेको छ । सत्ताको लगाम अहिले नयाँ पुस्तासम्म आइपुगेको छ । तर चुनौतीहरू थुप्रै छन । अराजकताबाट कानूनी शासनमा फर्कनु, भ्रष्टाचार नियन्त्रण गर्नु र विदेशी हस्तक्षेप रोक्नु । जेलबाट सजिलै निस्किएका अपराधीहरूलाई कानूनी प्रक्रियामा ल्याउनैपर्छ । नागरिकको मनमा ‘कानून जलिसकेको छ’ भन्ने भ्रम मेटाउन आवश्यक छ । विधिको शासन कायम नगरेसम्म न्याय सम्भव हुँदैन ।
नेपाल फेरि नयाँ निर्माणको मोडमा उभिएको छ । विध्वंस सजिलो हुन्छ, तर पुनर्निर्माण कठिन । युवापुस्ताले आन्दोलनको उर्जा अब देश बनाउने दिशामा प्रयोग गर्नुपर्छ । पुरानो पुस्ताको भ्रष्ट राजनीति समाप्त पारेर समान अवसर, पारदर्शिता र उत्तरदायित्वमा आधारित शासन व्यवस्था निर्माण गर्नु अहिलेको प्रमुख आवश्यकता हो । नेपाल रह्यो भने मात्रै हामी सबै रहन्छौं । त्यसैले आजको सन्देश स्पष्ट छ । आक्रोशलाई विध्वंसमा होइन, निर्माणमा बदलौँ ।