संविधान दिवस मनाउन एमालेको आह्वान

काठमाडौं/नेकपा (एमाले) मधेश प्रदेश कमिटीले संविधान दिवस असोज ३ गते भव्यताका साथ मनाउन विशेष आह्वान गरेको छ।

आज जारी विज्ञप्तिमा कमिटीले मातहतका सबै कमिटी, जनवर्गीय संगठन र जनसमुदायलाई संविधान दिवसलाई ऐतिहासिक उत्सवको रूपमा मनाउन आग्रह गरेको हो।

कमिटीका अध्यक्ष चन्द्रशेखर मण्डलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “२०७२ साल असोज ३ गते जारी नेपालको संविधान ऐतिहासिक जनआन्दोलन र संविधानसभाको उपलब्धि हो। यसले मुलुकलाई लोकतान्त्रिक गणतन्त्रतर्फ डोऱ्याएको छ र नेपाली जनतालाई पूर्ण सार्वभौमसत्ता सम्पन्न बनाएको छ।”

विज्ञप्तिमा संविधान दिवसलाई राज्यस्तरमा समेत विशेष कार्यक्रममार्फत मनाउँदै आएको उल्लेख गर्दै एमालेले पनि यस वर्ष मधेश प्रदेशका सबै जिल्लामा कार्यक्रम गर्ने जनाएको छ। साथै, सहकार्यको वातावरण भएमा अन्य राजनीतिक दलसँग मिलेर संविधान दिवस मनाइने जनाइएको छ।

भदौ २२ र २४ मा भएका दुःखद घटनापछि उत्पन्न असहज राजनीतिक परिस्थिति र संवैधानिक व्यवस्थाविरुद्ध भइरहेका गतिविधिप्रति पनि विज्ञप्तिले चिन्ता व्यक्त गरेको छ। “संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न संविधान दिवसलाई अझ भव्य बनाउनु जरुरी छ,” विज्ञप्तिमा भनिएको छ।

पार्टीले सबै तहका संगठन, महानगरदेखि वडासम्म, आफ्ना क्षेत्रमा कार्यक्रम आयोजना गरी त्यसका फोटो–भिडिओ केन्द्रीय तथा प्रदेश पार्टी कार्यालयमा पठाउन निर्देशन दिएको छ। साथै, असोज १ गतेसम्म कार्यक्रमसँग सम्बन्धित संक्षिप्त भिडिओ र सहभागीहरूको विवरण प्रदेश कार्यालयमा बुझाउन भनिएको छ।