जेनजी आन्दोलनमा भएको क्षतिको सत्यतथ्य छानबिन गर्न सरकारसँग धुलिखेल नगरप्रमुखको अपिल
धुलिखेल / धुलिखेल नगरप्रमुख अशोक कुमार ब्याञ्जु श्रेष्ठले हालसालै देशभर जनेजी पुस्ताले सुरु गरेको आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति गहिरो दुःख प्रकट गरेका छन्।
नगरप्रमुख श्रेष्ठले सोमबार एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयविरुद्ध भाद्र २३ गते आयोजित प्रदर्शनका बेला राज्यपक्षको असावधानीपूर्ण दमनका कारण ज्यान गुमाउने जनेजी पुस्ताका युवा, सुरक्षाकर्मी तथा सर्वसाधारणप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरेका छन्। साथै, आन्दोलनमा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै निःशुल्क उपचारको माग समेत गरेका छन्।

भाद्र २४ गते आन्दोलनकै क्रममा देशभर सार्वजनिक महत्वका ऐतिहासिक, पुरातात्विक, प्रशासनिक संरचना, सवारी साधन र निजी सम्पत्तिमा भएको तोडफोड, आगजनी र लुटपाटप्रति धुलिखेल नगर परिवार स्तब्ध र मर्माहत भएको विज्ञप्तिमा उल्लेख छ। नगरप्रमुख श्रेष्ठले आफ्नो घरमा समेत अराजक भिडले आगजनी, तोडफोड र लुटपाट गरेको भन्दै घटनाको यथाशिघ्र छानबिन गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन सरकारसँग अपिल गरेका छन्।
“देश अहिले राजनीतिक शून्यता र कानुनी अनिश्चितताको अवस्थाबाट गुज्रिरहेको छ। लोकतान्त्रिक प्रणालीको विकल्प उन्नत लोकतन्त्र मात्र हो,” विज्ञप्तिमा भनिएको छ, “त्यसैले न्भल९श् पुस्ताका युवाहरूको जायज मागलाई लोकतान्त्रिक विधि र पद्धतिबाट सम्बोधन गर्दै संकटको समाधान गर्नुपर्छ।”
नगरप्रमुखले आन्दोलनमा भएका घटनाहरूको सत्यतथ्य छानबिन गरी व्यक्तिगत सम्पत्ति नष्ट गर्ने दोषीलाई चाँडै कानुनी दायरामा ल्याउन जोड दिए। साथै, राज्य पक्ष र आन्दोलनरत पक्ष दुवै संयमित भई थप जनधनको क्षति रोक्नुपर्नेमा जोड दिँदै उनले तत्काल वार्ता, संवाद र शान्तिपूर्ण प्रक्रिया मार्फत मात्र वर्तमान राष्ट्रिय संकट समाधान गर्न सकिने स्पष्ट पारे।
“मानव अधिकार, लोकतान्त्रिक मूल्य र कानूनी शासनको अवधारणा अनुरूप सबै पक्षले धैर्य र विवेकपूर्ण ढंगले अघि बढ्न आवश्यक छ,” नगरप्रमुख श्रेष्ठको अपिलमा उल्लेख छ।





