धुलिखेल एमाले बैठकः जेनजीका निस्वार्थ माग पुरा गर्न आग्रह, भव्य रुपमा संविधान दिवस मनाउने निर्णय
नेकपा एमाले धुलिखेल नगर कमिटीले जेनजी पुस्ताले निस्वार्थ रुपमा अघि सारेका मागहरु पुरा गर्न सरकारलाई आग्रह गरेको छ । प्रदेश कमिटी सदस्य अशोक ब्याञ्जुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको तेस्रो पूर्ण बैठकले जेनजी पुस्ताको माग गर्न आग्रह गरेको हो । बैठकले आन्दोलनका क्रममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि अर्पण गर्दै घाइतेहरुको निःशुल्क उपचारको ब्यवस्था मिलाउन पनि आग्रह गरेको एमाले धुलिखेलका अध्यक्ष विष्णु धितालले जानकारी दिए ।
आन्दोलनका नाममा भएका सरकारी तथा निजी सम्पत्तिमा भएको तोडफोड र आगजनीको उचित छानबिन गरी दोषीलाई कडा भन्दा कडा कारबाही गर्न पनि एमाले धुलिखेल नगर कमिटीले माग गरेको छ । दुसित मनसायबाट धुलिखेल नगर प्रमुखको घरमा गरिएको आगजनीप्रति घोर भर्त्सना गर्दै, सम्बन्धित दोषीलाई कानुन बमोजिम कडाभन्दा कडा सजाय दिन अध्यक्ष धितालले माग गरेका छन् ।
आगामी दिनमा पार्टीलाई अझ सबल, सुदृढ र बलियो बनाउन अझ सशक्त ढंगले काम गर्ने प्रतिवद्धता बैठकले गरेको छ । आगामी २०८२ असोज ३ गते संविधान दिवसको दिन बिहान ११ बजे सरस्वती बजारमा बृहत कार्यकर्ता भेला गरि संविधान दिवस मनाउने निर्णय बैठकले गरेको छ ।






