आज विश्वकर्मा पूजा, बाबा विश्वकर्माको विधिपूर्वक पूजाआजा गरिँदै

काठमाडौं / आज आश्विन सङ्क्रान्तिका दिन विश्वकर्मा पूजा मनाइँदै छ। प्रत्येक वर्ष असोज १ गते मनाइने यस पर्वमा सवारीसाधन, औजार, मेसिनरी, उद्योग–धन्दा, भवन निर्माणका उपकरण आदिको पूजा गर्ने परम्परा रहेको छ ।

विश्वकर्मालाई हिन्दु धर्मशास्त्रमा देव शिल्पी तथा पहिलो इन्जिनियरका रूपमा मानिन्छ। सत्ययुगमा स्वर्गलोक, त्रेतायुगमा लंका, द्वापरयुगमा द्वारका र कलियुगमा जगन्नाथ मन्दिर निर्माण गरेको विश्वास गरिन्छ ।

यस दिन मजदुर, शिल्पकार, व्यापारी, इन्जिनियर, कलाकारदेखि सबै वर्गले श्रद्धा एवं भक्ति भावका साथ पूजा गर्ने गर्छन्। भद्रकाली, दक्षिणकालीलगायत शक्तिपीठमा नयाँ सवारीसाधन पूजा गर्नेको भीड लाग्ने गर्दछ ।

विश्वकर्मा पूजाले उद्योग–व्यवसायमा प्रगति हुने, सवारीसाधनमा दुर्घटना कम हुने र परिवारमा समृद्धि तथा शान्ति स्थापना हुने विश्वास गरिन्छ ।