काठमाडौं विश्वविद्यालयले अनलाइन कक्षा सञ्चालन गर्ने
धुलिखेल/काठमाडौं विश्वविद्यालयले तत्काल अनलाइन पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको छ । यस अघि ‘जेन जी’ आन्दोलनका कारण उत्पन्न परिस्थितिमाझ विद्यार्थीहरूको सहजता र सुरक्षालाई प्राथमिकता दिँदै विश्वविद्यालयले छठपछि मात्र पठनपाठन सूचारू गर्ने निर्णय गरेको थियो ।
नयाँ सरकार निर्माण भएसँगै परिस्थिति सामान्य भइसकेकाले चालु शैक्षिक वर्षको क्यालेन्डर प्रभावित नहोस् भन्ने उद्देश्यले विश्वविद्यालयले तत्काल लागू हुने गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ । दशैं र तिहारबीचको समयमा समेत अनलाइन पठनपाठन सञ्चालन हुने भएको हो । यसका लागि विश्वविद्यालयले सम्पूर्ण स्कुलका डीनहरूलाई आवश्यकताअनुसार अनलाइन कक्षा सञ्चालनको व्यवस्था मिलाउन निर्देशन दिएको छ । स्कुलहरूले आफ्ना मातहतका विभागहरूसँग समन्वय गरी अनलाइन कक्षा सञ्चालन गर्न सक्नेछन् ।
छठपछि भने पूर्वनिर्धारित तालिकाअनुसार नै भौतिक रूपमा कक्षा सञ्चालन हुने विश्वविद्यालयले जानकारी दिएको छ । यसैबीच, पछिल्ला राजनीतिक घटनाक्रमका कारण विद्यार्थीमाझ परेको मनोवैज्ञानिक प्रभावलाई सम्बोधन गर्न विश्वविद्यालयले मनोपरामर्श सेवाको व्यवस्था समेत गरेको छ । विद्यार्थीहरूले आफ्नो स्कुलको डीन कार्यालयमार्फत समय लिई विश्वविद्यालयले तोकेका मनोविद्सँग इमेल वा फोनमार्फत सेवा लिन सक्नेछन् ।






