आजदेखि बीपी राजमार्ग २४ सै घण्टा सञ्चालन
यसवर्षको मनसुन शुरु भएसँगै जोखिमका कारण रातिको समयमा गाडी चलाउन रोक लगाइएको बीपी राजमार्ग आजदेखि २४ सै घण्टा सञ्चालनमा आउने भएको छ ।
जिल्ला प्रशासन कार्यालय काभ्रेमा बसेको सुरक्षा समितिको पछिल्लो बैठकले मनसुन बाहिरिने क्रममा रहेको र दशैँ तिहारलगायत चाडपर्वलाई लक्षित गरी सडक आज असोज १ गतेदेखि २४ सै घण्टा सञ्चालन गर्ने निर्णय गरेको थियो ।
यात्रुको सहजताका लागि सडक सुरक्षामा सजगता अपनाइ स्वीकृत सडक सुरक्षा कार्ययोजना बमोजिम खुला गर्ने निर्णय गरिएको समितिले जनाएको छ । बीपी राजमार्गमा असार पहिलो हप्तादेखि रातिको समयमा गाडी आवतजावतमा पूर्ण रूपमा रोक लगाइएको थियो ।
बीपी राजमार्गअन्तर्गतको काभ्रे धुलिखेलबाट सिन्धुलीको सिमाना नेपालथोकसम्म रातमा १२ घण्टासम्म यातायात सञ्चालनमा रोक लगाइएको थियो । गएको वर्ष असोज १०, ११ र १२ को बाढीपहिरोले बिपी राजमार्ग क्षतिग्रस्त बनेको थियो । पूर्वी नेपाल जोड्ने छोटो दूरीका रूपमा रहेको यो राजमार्गबाट दैनिक हजारौँ गाडी ओहोरदोहोर गर्छन् ।






