बाग्मती प्रदेशसभाका सभामुख पाठकले दिए राजीनामा

काठमाडौँ / बाग्मती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले पदबाट राजीनामा दिएका छन् । उनले उपसभामुख अपसरा चापागाईंलाई औपचारिक रुपमा राजीनामा बुझाएका छन् ।

सभामुख पाठकले आफ्नो राजीनामा नेपालको संविधान र प्रदेशसभा नियमावली २०७४ अनुसार प्रक्रिया पूरा गरेर दिइएको जानकारी दिएका छन् ।

उनले लेखेको पत्रमा भनेका छन्, ‘भाद्र २४ गते नै सामाजिक सञ्जालमार्फत राजीनामा दिने घोषणा गरेको थिएँ, तर प्राविधिक कारणले कानुनी प्रक्रिया पूरा गर्न अनुकूल भएन । आज संविधान र नियमावली अनुरूप प्रदेशसभाको सभामुख पदबाट राजीनामा गरेको छु ।’

राजीनामा दिँदा सभामुख पाठकले जनताको भावनालाई प्राथमिकता दिएको र राष्ट्रको अवस्था र युवा पुस्ताको चाहनाको विपरीत पदमा बस्न अनौचित्य हुने टिप्पणी गरेका छन् । उनले भने, ‘राष्ट्र रोएको बेला नेपाली जनताको चाहना र युवा पुस्ताको भावनाविपरीत पदमा बस्न अनुचित हुने ठान्छु ।’ पाठक राप्रपा पार्टीबाट बाग्मती प्रदेशसभामा निर्वाचित भएका थिए ।