जेनजी आन्दोलनः राष्ट्रिय वाणिज्य बैंकबाट मात्रै साढे ३८ करोड लुटपाट

२३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंकलाई मात्रै साढे ३८ करोडको क्षति पुगेको छ । बैंकहरूबाट करिब १८ किलो सुन र ५ करोड रुपैयाँभन्दा धेरै नगद लुटिएको हो ।

आन्दोलनकारीले राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखा तोडफोड तथा आगजनी गरी ३६ करोड रुपैयाँ बराबरको सुन तथा नगद लुटेका हुन् ।

बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत पवन रेग्मीका अनुसार बैंकको बानेश्वर शाखाबाट १७ हजार ९ सय ४५ ग्राम सुन र ५ करोड १५ लाख रुपैयाँ नगद लुटिएको छ ।

बुधबार कायम भएको सुनको मूल्यका आधारमा मूल्य निकालिएको हो । बुधबार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख ८५ हजार २ सय ७० रुपैयाँ कायम भएको छ । बैंकबाट आन्दोलनकारी ३३ करोड २४ लाख रुपैयाँ भन्दा धेरैको सुन नै लुटेको देखिन्छ ।

प्रदर्शनको क्रममा बैंकको बानेश्वर शाखासँगै भैरहवा भन्सार कार्यालयको शाखाबाट समेत नगद लुटिएको रेग्मीले बताए ।

बैंकबाट लुटिएको सुन धितोमा राखिएका गरगहना भएको उनले जानकारी दिए । सुनका गरगहना धितोमा राखी कर्जा प्रवाह गर्ने क्रममा सुन संकलन भएको उनले बताए ।

प्रदर्शनको क्रममा बैंकको ढुकुटीमै पुगेर नगद र गरगहना चोरी भएको रेग्मीले बताए । रेग्मीका अनुसार प्रदर्शनको क्रममा लुटिएको सुन उक्त शाखामा धितोमा रहेको कुल मध्यको एक चौथाइ हो । बाँकी सुन तथा नगद भने सुरक्षित नै रहेको उनको भनाइ छ ।

भौतिक संरचना कम्प्युटर, फर्निचर, क्यामेरा, प्रिन्टर, कागजपत्रहरू पूर्णरूपमा क्षति पुगेको छ । तर, कर्जाका तमसुकहरू भने सुरक्षित रहेको उनले बताए ।
नेपाल बैंकर्स संघका अनुसार देशभरि बैंकहरूका ६१ वटा कार्यालयमा आन्दोलनकारीले क्षति पुर्‍याएका छन् । बैंकहरूका केही स्थानका एटीएम मेसिन तोडफोड भएका छन् । बैंकका ती कार्यालयको झ्यालढोका फुटाउने तथा फर्निचर तोडफोड भएको संघले जनाएको छ । पूर्ण रूपमा क्षति भएका केही मात्र रहेको संघले जनाएको छ ।