आगजनी र तोडफोडमा उत्रिने नेता कार्यकर्तालाई कांग्रेसले कारबाही गर्ने
नेपाली कांग्रेसले जेनजीको आन्दोलनमा मिसिएर विभिन्न आगजनी तथा तोडफोडमा संलग्न पार्टीका नेता कार्यकर्तालाई कारबाही गर्ने भएको छ। भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलन हिंसात्मक बन्दा अहिलेसम्म ७४ जनाको ज्यान गइसकेको छ भने सिंहदरबार, संसद् भवनसहित सरकारी कार्यालय र शीर्ष नेताको घरमा पनि तोडफोड र आगजनी भएको छ।
यस्ता कार्यमा संलग्न भएकालाई कारबाही गर्ने भन्दै महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रदेश र जिल्लालाई सर्कुलर जारी गरी नाम पठाउन भनेका हुन्।
२३ गतेको आन्दोलन हिंसात्मक भएपछि २४ गते जेनजीसहित अन्य पनि आन्दोलनमा मिसिएर नेताका निवास र सरकारी संरचना ध्वस्त पारेका थिए। आगजनी र तोडफोडमा संलग्न पार्टीका नेताहरूको तस्बिर र भिडओ सार्वजनिक हुन थालेपछि महामन्त्रीद्वयले कारबाहीको तयारी थालेका हुन्।






