जेन–जेड आन्दोलनमा क्षतिग्रस्त इलाका प्रहरी कार्यालय बनेपालाई क्यान काभ्रेद्वारा फोटोकपी प्रिन्टर सहयोग

जेन–जेड आन्दोलनका क्रममा आगजनी हुँदा क्षतिग्रस्त बनेको बनेपा स्थित इलाका प्रहरी कार्यालयलाई कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ काभ्रे शाखाले फोटोकपी प्रिन्टर सहयोग गरेको छ।

सुरक्षा र जनसाधारणको सचेतनासँग प्रत्यक्ष सम्बन्धित प्रहरी कार्यालयलाई सहज सेवा प्रवाह गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले १ थान फोटोकपी र स्क्यान सहितको प्रिन्टर उपलब्ध गराइएको क्यान काभ्रेका अध्यक्ष देवकी आचार्य दुलालले जानकारी दिइन्।

उक्त प्रिन्टर बनेपाका प्रमुख डिएसपी रामेश्वर ट्वाटीलाई प्रदान गरिएको हो। एक आपसलाई सहयोग गर्नु सबैको कर्तव्य हुने भन्दै आगामी दिनमा पनि यस्ता सहकार्य गर्ने प्रतिबद्धता क्यान काभ्रेको तर्फबाट व्यक्त गरिएको छ।

सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै प्रहरी प्रमुखले आन्दोलनका क्रममा कार्यालयको भौतिक संरचना, सवारीसाधन, लत्ताकपडा तथा अन्य सामग्रीमा क्षति पुगेको उल्लेख गर्दै सबैको सहयोग प्राप्त भइरहेको र आगामी दिनमा पनि सधै साथ रहने विश्वास व्यक्त गरेका छन् ।