देशका धेरै ठाउँमा रातिदेखि वर्षा, दिउँसो चार प्रदेशमा ठूलो पानी पर्ने सम्भावना

काठमाडौं/देशका धेरै ठाउँमा गएराति पानी परेको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँ तथा बाँकी भागका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशको पहाडी भूभागको थोरै तथा तराई भूभागको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज मुलुकभर साधारणतया बदली रहनेछ । दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनीलगायत देशको पहाडी भू–भागका केही स्थान तथा बाँकी भू–भागका थोरै ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ  ।

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आज राति कोशी, मधेश, बागमती र गण्डकीका थोरै स्थान तथा बाँकी भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

हाल नेपालमा मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित छ ।