संविधान दिवस काभ्रेमा प्रमुख दलले अलग अलग मनाउँदै

बनेपा/काभ्रेपलाञ्चोक जिल्लामा रहेको प्रमुख दलले संविधान दिवस अलग अलग समयमा फरक फरक कार्यक्रमका बीच मनाउने तयारी गरेका छन् । प्रमुख दल नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले अलग अलग कार्यक्रम मनाउने गरी कार्यकर्ताहरुलाई संविधान दिवसको उत्सवमा सहभागि हुन आब्हान गरेका छन् ।

नेकपा एमालेले दिउसो ३.३० बजे बनेपाको चारदोवाटोमा दीप प्रज्वलन गर्ने कार्यक्रम राखेको छ भने नेकपा एमाले धुलिखेल नगर कमिटीले विहान ११ बजे धुलिखेलमा शान्तिका लागि परेवा उडाउँदै संविधान दिवस मनाउने तयारी गरेको छ । एमाले अध्यक्ष राजन भुर्तेलले संविधान दिवसलाई भब्य रुपमा मनाउने गरी सम्पूर्ण तहका नेता कार्यकर्ताहरुलाई सहभागिताका लागि आब्हान गरिएको बताए । नेकपा एमालेको पार्टी कार्यालय आन्दोलनका नाममा तोडफोड र लुटपाट भएको छ । धुलिखेल एमालेका अध्यक्ष विष्णु धितालले नगर कमिटीले रचनात्मक कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाउने तयारी गरेको बताए ।

नेपाली काँग्रेस काभ्रेले विहान ११ बजे पार्टी कार्यालय काभ्रेमा संविधान दिवस मनाउने गरी नेता कार्यकर्ताहरुलाई सहभागिताका लागि अनुरोध गरेको छ । नेपाली काँग्रेसको पार्टी कार्यालयमा पनि आन्दोलनका नाममा तोडफोड, लुटपाट र आगजनी गरिएको छ ।

त्यसैगरी नेकपा माओवादी केन्द्र काभ्रेले साँझ ५ बजे बनेपाको ४ दोवाटोमा दीप प्रज्वलन गर्ने कार्यक्रम राखेको छ । नेकपा माओवादी केन्द्र काभ्रेका संयोजक भोला अर्यालले दीप प्रज्वलनमा सहभागिताका लागि नेता कार्यकर्ताहरुलाई अनुरोध गरेको छ ।

त्यस्तै स्वतन्त्र ब्यक्तिहरुले आन्दोलनमा मृत्यु भएकाहरुको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्ने तयारी गरेका छन् । दिउसो १ बजे बनेपा चारदोवाटोमा उक्त कार्यक्रम आयोजना गरिएको छ ।