७० करोड अपचलन : अग्नी सहकारीका अध्यक्ष रविन्द्र श्रेष्ठले यसरी तयार गरे नक्कली ऋणी र निक्षेप

नक्कली ऋणी र निक्षेप खडा गर्दै नेफ्स्कुन र राष्ट्रिय सहकारी बैकबाट अध्यक्ष रविन्द्र श्रेष्ठले २५ करोड ऋण लिएका थिए । नक्कली कागजातको सक्कली लेखापरिक्षण पेश गरिएको थियो ।

मोतीराम तिमल्सिना
बनेपा
सहकारी क्षेत्रमा कसरी फैलियो अनियमित गर्ने प्रकरण ? कसरी हुन्छ अनियमितता ? कस–कसले निभाउँछन भूमिका ? संक्रमणकालिन अवस्थाको फाईदा उठाउँदै भएका विकृत्ति र विसंगतिको एउटा नमूना काभ्रेपलाञ्चोक जिल्लाको अग्नी बचत तथा ऋण सहकारीको आन्तरिक विषय हेर्दा छर्लङ्ग हुन्छ ? अहिले बनेपा क्षेत्रमा रहेका करिव ५० भन्दा धेरै सहकारीमा समस्या छ । अधिकांश भागेका छन् । बचतकर्ताहरु धुरुधुरु रोएका छन् । संचालक र हिनामिना गर्नेहरु खुलेआम छाति फुलाउँदै बचतकर्ताहरु उल्टो धम्कि दिदै छन् ।

 

यसका बाबजुत पनि सहकारी सदस्यमुखी भएकाहरु उस्तै छन् । नमुना सहकारी पनि छन् । सहकारीका नाममा ब्रम्हलुट गर्नेहरुको नमुना हो अग्नी । अग्नी र त्यस आसपासका संलग्न ब्यक्तिहरुले कसरी लुटे ? केहि विवरणहरु प्रकाशित गरिएको छ । केहि विवरणहरु क्रमशः प्रकाशन हुनेछ । सहकारी विग्रनुमा पहिलो कारण संचालक समिति । त्यसको अध्यक्ष र सहकारी संस्थाको प्रवन्धक । जुन अग्नीले प्रष्ट देखाएको छ । अध्यक्ष एक्लैले ७० करोड रकम अपचलन गर्दा अन्य संचालक र सहकारीका कर्मचारीहरु, बचतकर्ताहरु ब्याज र तलबको लोभमा थिए । त्यहि लोभले लाभ, लाभले विलाप गराएको थियो । जसमा लेखापरिक्षण गर्ने महत्वपूर्ण निकायको प्रत्यक्ष संलग्नता छ । अर्काे नक्कली कागजात बनाएर ऋण प्रवाह गर्ने छाता संगठनहरुको पनि संलग्नता छ ।

 

बनेपामा रहेको अग्नीलाई २५ करोड ऋण प्रदान गर्ने समयमा खडा गरिएको नक्कली निक्षेप, नक्कली ऋणीहरुका बारेमा नेफ्स्कुन, राष्ट्रिय सहकारी बैक र त्यस पछि लेखापरिक्षण गर्ने लेखापरिक्षकले थाहा पाएर पनि मिलेमत्तो भयो वा उनिहरु पनि लोभमा परे ? गम्भिर अनुसन्धान गर्नु आवश्यक छ । प्रहरीले तत्काल प्राप्त प्रमाणका आधारमा गरेको अनुसन्धानबाट केहि तथ्यहरु सार्वजनिक भएको छ तर अन्य संस्थामा गरिएको ऋण लगानी पनि यस्तै पो छ कि ? आम बचतकर्ताहरुको रकम यसरी पो डुबाईदै छ कि ? सरोकारवालाहरुले सचेत र बचतकर्ताहरुलाई स्पष्ट पार्नु आवश्यक छ ।

 

बनेपामा रहेको अग्नि बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष रविन्द्र श्रेष्ठले सहकारीको बास्तविक अवस्था लुकाई लेखापरिक्षण समेत गराई संगठित रुपमा बचत हिनामिना गरी बचतकर्ताहरुलाई आर्थिक हानी, नोक्सानी पु¥याई आफुलाई लाभ प्राप्त हुने गरी झुक्याई, धोका दिई बेईमानीको मनसायले पिरामिड शैलीमा तहगत जिम्मेवारीहरु बाँडफाड गर्दै रकम ठगी गरेका थिए । आफुलाई मात्रै फाईदा पुग्ने गरी अध्यक्ष श्रेष्ठले उनकै नाममा रहेको ग्राण्ड गुण्डुक रिर्साेट प्राली, अग्नी आईकोनिक प्राली, गोल्डेन प्रोपोर्शन इन्भेष्टमेन्ट कम्पनी प्राली, मेल मि रेस्टुरेन्ट एण्ड बार, राधेराधे भक्तपुर समेतका प्राईभेट कम्पनीहरु दर्ता गरी विभिन्न स्थानमा जग्गाहरु समेत किनेर अग्नी बचत तथा ऋण सहकारी लिटिमेडका बचतकताएहरु तथा उनिहरुले गरेको बचत रकम ७० करोड ९५ लाख ६७ हजार ६७ रुपैया सहकारी ऐन विपरित अपचलन गरेका थिए ।

उनलाई संगठित अपराध, सम्पत्ति शुद्धिकरणमा समेत कारवाहीका लागि मुद्दा दायर गरिएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) र राष्ट्रिय सहकारी बैक लिमिटेडमा ब्यक्तीको जग्गा धितो राखि उक्त संस्था नेफ्स्कुन र राष्ट्रिय सहकारी बैकबाट ऋण स्वरुपको प्राप्त भएको रकम अग्नी बचत ऋणी भई सहकारीको खातामा उक्त ऋण स्वरुप रकम जम्मा गरी जग्गा धनिलाई जग्गाको धितो बापत ऋण स्वरुप आएको रकम बराबरै अग्नी सहकारीको अभिलेख प्रणालीमा ऋणी देखाई जग्गा धनिलाई राम्रो ब्याज दिन्छु भनि आश्वासन देखाई नेफ्स्कुन र राष्ट्रिय सहकारी बैकबाट प्राप्त भएको ऋण रकम बराबरको नक्कली मुद्धती निक्षेप कार्ड बनाई जग्गा धनीलाई दिई उक्त रकम हिनामिना गरिएको हो । मुद्धती निक्षेप कार्डलाई सहकराीले धितो स्वरुप राखी जग्गा धनीलाई मुद्धती धितोकर्जा शिर्षक बनाई नेफ्स्कुन र राष्ट्रिय सहकारी बैक लिमिटेडबाट जग्गा धितो बापत निकालेको केहि रकम ऋण स्वरुप जग्गा धनीलाई दिने गरिन्थ्यो ।

सहकारीमा प्राप्त हुन आएको रकम अग्नी बचत सहकारीमा कार्यरत पुर्व कर्मचारीहरु लगायत अन्य ब्यक्तिका नाममा नक्कली ऋणी खडा गरी विना धितो ऋण प्रवाह हुने गर्दथ्यो । सहकारीमा कार्यरत पुर्व कर्मचारीहरु बलराम तामाङ, देवकी केसी, विकास गौतम समेतका ब्यीक्तहरुलाई सम्वन्धित बैक तथा वित्तिय संस्थामा पत्र सहित चेक साट्न पठाउने गरिएको थियो । चेक साटेर ल्याएको नगदै रकम रविन्द्र श्रेष्ठ समेतका केहि ब्यक्तिहरुले आफ्नो आफन्तहरुलाई सापटी ऋण प्रवाह गर्ने, कम्पनी तथा जग्गामा लगानी गर्ने जस्ता कार्य गरी सहकारी संस्थाको रकम हिनामिना गरेको अनुसन्धानबाट खुलेको छ । संस्था स्थापना २०७० साल देखि सहकारीको खातामा रविन्द्र श्रेष्ठले हस्ताक्षर गरेका थिए । यतिखेर तिर्नु पर्ने नेफस्कुन बनेपाको ७ करोड, राष्ट्रिय सहकारी बैकको १० करोड छ । यो सबै कार्यमा अध्यक्ष रविन्द्र श्रेष्ठले नक्कली बचत, धितो र ब्याज देखाएका थिए । संस्थामा कार्यरत रहेका र माथी उल्लेखित ब्यक्तिका नाममा थप समेत रकम उल्लेख गरी नक्कली ऋणी समेत अध्यक्ष रविन्द्र श्रेष्ठले खडा गरेका थिए ।

सहकारीमा रामु पाण्डे, भोलनाथ पाण्डे, श्रीराम अधिकारी, गंगालक्ष्मी महाजु र उज्ज्वल बैद्य समेतको जग्गा अग्नी सहकारी मार्फत नेफ्स्कुन बनेपामा शाखामा धितो राखी २५ करोड ऋण निकालिएको थियो । उक्त ऋण निकाल्न रविन्द्र श्रेष्ठले सबै फर्जि कागजात बनाएका थिए । त्यसका लागि नेफ्स्कुनका केहि कर्मचारीहरुले सहयोग गरेका थिए । २०७८ फागुन १६ गते रविन्द्र श्रेष्ठको अध्यक्षतामा बसेको संचालक समितिको बैठकले नेफ्स्कुनबाट थप ५ करोड ऋण लिन बनेपा १० स्थित कित्ता नम्वर ७८ को १८४.९३ वर्ग मिटर भएको गंगालक्ष्मी महाजु बैद्य र सुजेन्द्र तौजलेको नाममा रहेको जग्गा धितो राखिएको थियो । जग्गाधनी गंगालक्ष्मी महाजु बैद्यका श्रीमान हुन संचालक समिति सदस्य दिनेश बैद्य । उनकै सहमतिमा ऋण लिएको छ । प्रवन्धक राहुल चौ प्रधानका नाममा रहेको कापजी जैसीथोक ९ मा रहेको कित्ता नम्वर ६६१, ६४८, ३५, २१, ३१, २०, ३२, ३९ का जग्गाहरु धितो राखी आईकोनिक सहकारी मार्फत नेफ्स्कुनमा धितो राखी २ करोड ४१ लाख १० हजार ऋण निकालेकोमा लिलाम गरिएको छ । ५ करोड ८६ लाख ३ हजार रुपैयामा उक्त जग्गा लिलामी गरिएको छ । मेरो नाममा खरिद गरिएको जग्गा बापत विदुरबहादुर अधिकारीलाई २०७८ भदौ ९ र १० गते मा भुक्तानी गरिएको थियो ।

अन्य कर्मचारी र संचालकहरुका नाममा पनि जग्गा खरिद गरिएको छ । त्यसको विवरण आगामी अंकमा प्रकाशन गरिनेछ । ललितपुर जिल्ला ललितपुर उपमहानगरपालिका १७ सातदोबाटो स्थित खजुरी विस्कुट कम्पनीको मार्केटिङ्ग सुपर भाईजरमा काम गर्ने रविन्द्र २०६५ सालमा नागरिक विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा बजार प्रतिनिधिका रुप्मा कार्यरत दिए । एक वर्ष बजार प्रतिनिधि भई काम गरे पछि २०६६ सालमा भक्तपुरको कौशलटारमा विज्ञान राईले संचालन गरेको नागरिक विकास बचत तथा ऋण सहकारीमा काम गर्न थाले । त्यतिबेला नुनम सुब्बा त्यहाँ प्रवन्ध थिए । त्यहाँ पनि रविन्द्रले मार्केटिङ्ग सुपरभाईजरका रुपमा कार्यरत रहँदा रहँदै २०६७ जेठ २८ गते डिभिजन सहकारी कार्यालय धुलिखेलमा दर्ता भएको र बनेपा नगरपालिकामा २०७० साल माघ २७ गते दर्ता भएको थियो । त्यहि बेला देखि उनि बुढानिलकण्ठ सहकारीका नाममा दर्ता भएको संस्थालाई अग्नी बनाउँदै प्रवेश गरेका थिए । (अध्यक्ष रविन्द्र श्रेष्ठको बयान अर्काे अंकमा )