जेन-जी प्रदर्शन भ्रष्टाचारप्रतिको असन्तुष्टिको प्रतिविम्ब हो’ : प्रधानमन्त्री कार्की

काठमाडौँ / प्रधानमन्त्री सुशीला कार्कीले गत भदौ २३ र २४ गते जेन जेड युवाको अगुवाइमा भएको विरोध प्रदर्शन र आन्दोलन युवापुस्ताको चाहना, जनताको बढ्दो चेतनास्तर र मुलुकमा विद्यमान भ्रष्टाचारप्रतिको असन्तुष्टिको प्रतिविम्ब भएको बताएकी छन् ।

संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ का अवसरमा आज यहाँ आयोजित मूल समारोहमा उनले संविधानको मर्म र भावनाबमोजिम सुशासन, समृद्धि र विकासको क्षेत्रमा भएका कमीकमजोरी र त्यसबाट सिर्जित असन्तोष, अभाव वा अपेक्षा पूरा नभएकाले पनि यो आन्दोलनको जन्म भएको कुरालाई स्वीकार गर्नुपर्ने उल्लेख गरिन् ।

प्रधानमन्त्री कार्कीले भनिन्, “यस आन्दोलनलाई मैले हाम्रो लोकतान्त्रिक प्रणालीको स्वास्थ्यसँग पनि जोडेर हेर्ने गरेको छु किनभने लोकतन्त्र भनेको जनताको आवाज सुन्ने, संवाद गर्ने र समाधान खोज्ने प्रणाली हो ।”

जेन जेड पुस्ताको आन्दोलन राज्यका तर्फबाट व्यक्त गरिएको प्रतिबद्धताअनुसारको संघीय गणतन्त्रात्मक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका, कानुनी राज्य, सुशासनलगायतका लोकतान्त्रिक मूल्यमान्यतामा खरो उत्रन नसक्नुको परिणाम पनि भएको उनको भनाइ थियो ।

युवापुस्ताले उठाएका रोजगारीको अवसर, गुणस्तरीय जीवनस्तर, सरकारका कामकारबाहीमा पारदर्शिता, कानुनी समानता, भ्रष्टाचारको अन्त्य, सुशासन र विकासजस्ता सवाल यथार्थमा नै सबै पुस्ताका साझा अपेक्षा र राष्ट्रिय ‘एजेन्डा’ भएको उल्लेख गरिन्। यी एजेन्डालाई आत्मसात् गर्दै जनअपेक्षाबमोजिम काम गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो ।