नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन अवरुद्ध

काठमाडौं/ चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा शुक्रबार साँझ ठूलाे पहिराे खसेपछि सवारी सञ्चालन पूर्ण रूपमा अवरुद्ध भएको छ। साँझ ६ बजेबाट निरन्तर खसिरहेको पहिरोले करिब १०० मिटर सडक ढाकेको डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लामिछानेले जानकारी दिए।

उनका अनुसार करिब १०० मिटर माथिबाट खसेको पहिरो रातभर पन्छाउन सम्भव नभएकाले बिहान उज्यालो भएपछि मात्रै काम सुरु गरिएको हो। दुवैतर्फबाट एक–एक लोडर परिचालन गरिएको छ भने नारायणगढतर्फ सेती दोभान क्याम्पबाट स्काभेटर पनि पठाइएको छ।

लामिछानेका अनुसार पहिरो ठूलो भएकाले र ढुङ्गा निरन्तर खसिरहेकाले थप पहिरो नखसेमा चार घण्टा भित्र सडक खुल्ने अनुमान गरिएको छ।

शुक्रबार दिउँसो पनि पटक–पटक खसेका पहिरो हटाएर सडक सञ्चालन गरिएको थियो। तर साँझ ६ बजेपछि सडक अवरुद्ध हुँदा यात्रुहरू रातभर बाटोमै रोकिन बाध्य भएका थिए। पहिरो खसेको स्थान मुग्लिनबाट २.५ किलोमिटर नारायणगढतर्फ पर्छ।