जेनजी आन्दोलनमा पाथीभराको रेस्क्यू हाउसमा पनि आगजनी
जेनजी आन्दोलनको क्रममा ताप्लेजुङस्थित पाथीभरा क्षेत्रमा निर्माण गरिएको रेस्क्यू हाउस (आपतकालीन उपचार कक्ष) तथा टि हाउस (चिया घर) भवनमा आगजनी हुँदा साढे एक करोड बढीको क्षति भएको छ । पाथीभरा धाम प्रवेशद्वार नजिक रहेको रेस्क्यू हाउस र टि हाउसमा आगजनी हुँदा एक करोड ५५ लाख १८ हजार रुपियाँ बराबरको क्षति भएको हो ।
गत भदौ २३ र २४ गते देशभरी भएको जेनजी आन्दोलनको क्रममा केही अराजक समूहले गत भदौ २६ गते राति उक्त रेस्क्यू हाउस र टि हाउसमा आगजनी गरेको पाथिभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजित हाङबाङले बताए । उनका अनुसार त्यहाँ रहेको एक करोड रुपियाँ बराबरको एसवाई प्यानलबाट निर्मित भवन जलेर नष्ट भएको छ ।
यस्तै, ५० लाख रुपियाँ बराबरको एसवाई प्यानलबाट निर्मित रेस्क्यू हाउस, एक लाख २० हजार रुपियाँको जेनेरेटर, एक लाख ३५ हजार रुपियाँको ब्लाङकेट (कम्बल), १६ हजार रुपियाँको बेड म्याट, १ लाख ५० हजार रुपियाँको काठबाट निर्मित खाट, २५ हजार रुपियाँको टि टेबल, ४२ हजार रुपियाँको प्लास्टिक कुर्सी र ३० हजार रुपियाँको भाडा कुँडा साथै कुकर जलेर नष्ट भएको निर्देशक हाङबाङको भनाइ छ ।
कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आर्थिक सहयोगमा आर्थिक वर्ष २०७८–७९ को योजना मार्फत उक्त संरचना निर्माण गरिएको थियो । उक्त टि हाउसमा आगो लगाई ध्वस्त बनाइएको र रेस्क्यू हाउसमा सिलिन्डर विस्फोट गराई क्षति गरेको पाथिभरा क्षेत्र विकास समितिले जनाएको छ ।
केही समय पहिले नै निर्माण सम्पन्न गरिएका भवनहरू सञ्चालनमा ल्याउन सुरु नभई आगजनी भएको हो । आगजनी घटनाबारे अनुसन्धानमा संलग्नको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।






