महावीर पुन पनि मन्त्री बन्दै
काठमाडौं / प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो मन्त्रिपरिषद् विस्तारको गृहकार्य तीव्र पारेकी छिन् । यसै क्रममा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं रोमन म्यागासेसे पुरस्कार विजेता महावीर पुनलाई विज्ञान तथा प्रविधि मन्त्री बनाउने तयारी भएको छ ।
प्रधानमन्त्री कार्कीले पुनसँग छलफल गरेपछि उनी मन्त्री बन्न सकारात्मक देखिएका हुन् । पुनले नेपालका ग्रामीण भेगमा ताररहित इन्टरनेट सेवा पुर्याउन पुर्याएको योगदानका लागि अन्तर्राष्ट्रिय ख्याति कमाएका छन् । यद्यपि, पुनलाई विज्ञान तथा प्रविधि मन्त्रालयसँगै हाल जोडिएको शिक्षा मन्त्रालयको समेत जिम्मेवारी दिने वा नदिने भन्ने विषयमा भने टुङ्गो लाग्न बाँकी छ ।
हाल प्रधानमन्त्री कार्कीसहित चार सदस्यीय मन्त्रिपरिषद्ले मात्र काम गरिरहेकाले तत्कालै मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रयास भइरहेको छ । प्रधानमन्त्री कार्की भदौ २७ गते ‘जेनजी आन्दोलन’ को बलमा प्रधानमन्त्री नियुक्त भएकी थिइन् ।






