जेनजी आन्दोलनमा १ हजार २७६ थान राइफल र पिस्तोल लुटिए

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन हिंसात्मक बन्दा ७४ जनाको ज्यान गएको छ । यति धेरै क्षति हुनुमा सरकारले आन्दोलनकारीलाई गरेको दमन पनि एउटा कारण मानिएको छ । २३ भदौको आन्दोलनमा प्रहरीले गरेको बर्बर दमन र दोस्रो दिन भएको आगजनी र लुटपाट कति भयावह थियो भन्ने तथ्य प्रहरीको हतियार भण्डारको अभिलेखले पनि खुलाएको छ ।

नेपाल प्रहरीले तयार पारेको आन्तरिक विवरणअनुसार १२ सय ७६ थान राइफलरपिस्तोल लुटिएका छन् । त्यस्तै ९८ हजार ४ सय ९१ थान गोली अभिलेखमा आएका छैनन् । तीमध्ये प्रहरी आफैंले चलाएको कति हो र लुटिएका कति हुन् भन्ने खुलेको छैन । त्यस्तै १३ सय १५ राउन्ड रबर गोली अभिलेखमा कम भएका छन् । तीमध्ये कति प्रयोग भएका हुन् भन्ने प्रहरीले खुलाउन सकेको छैन । दुई दिनमा २२ सय २० पटक हवाई फायर र ३२ सय २३ सेल अश्रुग्यास प्रहार गरिएको प्रहरीको तथ्यांक छ ।

जेन–जी विद्रोहकै बलमा सत्ताबाट बाहिर पुगेका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसका दिन शुक्रबार सार्वजनिक गरेको वक्तव्यमा ‘जेन–जी प्रदर्शनमा घुसपैठ भएको र प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको’ दाबी गरेका छन् । दमनमा सुरक्षाकर्मीले प्रयोग गरेका हतियार, घटनास्थलबाट भेटिएका सबुत प्रमाण अनि दमन गर्नेमाथि राज्यले नै अनुसन्धान नगर्दै त्यो बेला देशको कमान्डमा रहेका ओलीले सुरक्षाकर्मीसँग त्यस्ता हतियार नै नभएको दाबी गरेका छन् ।

घातक हतियारधारी सुरक्षाकर्मीलाई ‘रिजर्भ फोर्स’ का रूपमा राखेर गैरघातक उपकरणसहितको फौज परिचालन गर्नुपर्ने हो । तर सरकारले प्रहरी र सशस्त्र प्रहरीलाई घातक र गैरघातक दुवै किसिमका उपकरणसहित सडकमा परिचालन गर्दै आएको छ ।

अझ सडकमा खटिने सुरक्षाकर्मीसँग गैरघातक उपकरण नभएको भनेर नेपाली सञ्चारमाध्यममा पटक–पटक समाचार आएका छन् । सुरक्षा संगठनले पनि पटक–पटक ताकेता गर्दै आएका छन् । तर पछिल्लो १० वर्षमा सरकारले त्यस्ता गैरघातक हतियार किनेको छैन ।