मकवानपुरको भीमफेदी कारागारबाट भागेका ६८ कैदीबन्दी आफैँ फर्किए
जेनजी प्रदर्शनका क्रममा कारागारबाट फरार भएकामध्ये ६८ जना कैदीबन्दी आफैँ मकवानपुरको भीमफेदीस्थित क्षेत्रीय कारागार फर्केका छन् ।
मकवानपुरको भीमफेदी गाउँपालिकास्थित क्षेत्रीय कारागार भीमफेदीलगायत विभिन्न कारागारबाट फरार भएकामध्ये आज बिहानसम्म २५९ जना कैदीबन्दी कारागार फर्केका छन् ।
भीमफेदी कारागारबाट भागेकामध्ये आज बिहानसम्म १९८ कैदीबन्दी कारागार फर्किएको कारागारका प्रमुख सुवास पौडेलले जानकारी दिए । प्रमुख पौडेलका अनुसार भागेकामध्ये ६८ जना कैदीबन्दी आफैँ कारागारको सम्पर्कमा आएका छन भने बाँकी सबैलाई सुरक्षाकर्मीले पक्राउ गरी कारागार फर्काएका हुन् ।
गत भदौ २४ गते राति १ बजेतिर भीमफेदी कारागारको पर्खाल भत्काएर ४४० कैदीबन्दी फरार भएका थिए । फरार कैदीबन्दीको खोजी गर्ने क्रममा भीमफेदी कारागारबाट फरार १९८ र अन्य कारागारबाट फरार ६२ जना गरी २५९ जना कैदीबन्दी कारागार फर्किएको कारागार प्रमुख पौडेलले बताए।






