आज रास्वपा केन्द्रीय समिति बैठक बस्दै
काठमाडौं/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक मंगलबार बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्दैछ । मुलुकको समसामयिक राजनीति, सांगठनिक सुदृढीकरण र आसन्न महाधिवेशनको तयारी लगायतका महत्त्वपूर्ण एजेन्डाहरूमाथि छलफल गर्न बैठक आह्वान गरिएको हो ।
प्रवक्ता मनिष झाका अनुसार, बैठकमा ६ वटा प्रमुख कार्यसूचीमा गहन छलफल हुनेछ । मुख्यतया, मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र यसले पार्टीमा पार्न सक्ने प्रभावबारे विस्तृत समीक्षा गरिनेछ । बैठकमा पार्टीका सातै प्रदेशमा सम्पन्न बैठकहरूबाट प्राप्त प्रतिवेदन प्रदेश सभापतिहरूले प्रस्तुत गर्नेछन् । यसबाट प्रदेश तहको वस्तुस्थिति र जनमत बुझ्न मद्दत पुग्नेछ। यस्तै, परिवर्तित राजनीतिक अवस्थाका सन्दर्भमा केन्द्रीय सदस्यहरूलाई आफ्नो धारणा राख्ने अवसर प्रदान गरिने झा ले जानकारी दिए ।
बैठकको अर्को महत्त्वपूर्ण एजेन्डा पार्टी संगठन र विभिन्न विभागहरूको अवस्थाबारे रहेको छ । संगठनलाई थप चुस्त र प्रभावकारी बनाउनका लागि आवश्यक रणनीति तय गरिनुका साथै, केही रिक्त रहेका विभागहरूमा नयाँ नेतृत्व चयन गरिने सम्भावना छ ।
आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधि सभा सदस्य निर्वाचनको रणनीतिका बारेमा पनि बैठकमा छलफल हुनेछ । यस उपनिर्वाचनलाई पार्टीले कसरी सामना गर्ने भन्नेबारे विस्तृत योजना निर्माण गरिनेछ । त्यस्तै, पार्टीको पहिलो महाधिवेशनको तयारी अर्को प्रमुख एजेन्डा बनेको छ । फागुन ७, ८ र ९ गतेका लागि तय गरिएको महाधिवेशनलाई भव्यताका साथ सम्पन्न गर्न आवश्यक तयारी र व्यवस्थापकीय पक्षमाथि गम्भीर छलफल गरिनेछ ।






