जवाङ खोलामा पहिरो पन्छाइयो, दुईतर्फी यातायात सञ्चालन

पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–१०, जवाङ खोलामा खसेको पहिरो पन्छाइएपछि सडक पुनः सञ्चालनमा आएको छ। जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार मंगलबार (असोज ७ गते) दिउँसो २ः५० बजेदेखि सडक दुवै तर्फका सवारीसाधनका लागि खोलिएको हो।

धादिङका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले सानातिना ढुंगा खस्ने क्रम भने अझै जारी रहेको जानकारी दिएका छन्। “दिउँसो २ः५० बजेदेखि सडक खुलाइएको हो,” सुवेदीले भने, “तर साना ढुंगा झरिरहेकाले सतर्कता अपनाइएको छ।”

ढुंगा खस्ने जोखिम कायमै रहेकाले सुरक्षाकर्मीले अवस्था मूल्यांकन गरेर सवारीसाधनलाई सुरक्षित रूपमा मार्ग निर्देशन गरिरहेको उनले बताए। लामो समयसम्म सडक अवरुद्ध रहेकाले दुबै तर्फ सवारीसाधनको लामो जाम समेत लागेको छ।

उक्त क्षेत्रमा मंगलबार बिहान करिब ५ः४० बजे ठूलो सुक्खा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो।