काभ्रेमा फूलपाती देखि पूर्णिमासम्म टिपर चलाउन नपाइने
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले दशैं अवधिभर जिल्लाभित्र टिपर सञ्चालनमा रोक लगाएको छ । जिल्ला सुरक्षा समितिको निर्णय अनुसार १३ गते फूलपाती देखि २१ गते पूर्णिमासम्म जिल्ला भित्र टिपर सञ्चालनमा पूर्ण रुपमा रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले जानकारी दिए ।
नेपालीहरूको महान चाड बडा दशैंको समयमा हुने सवारी चाप, यसबाट हुन सक्ने सम्भावित दुर्घना न्यूनिकरण र आवागमनलाई सहज बनाउन टिपर बन्द गर्ने निर्णय गरिएको उनले बताए । उक्त अवधिमा जिल्ला स्थित वि.पी. राजमार्ग, अरनिको राजमार्ग लगायतका जिल्ला भित्रका सबै क्षेत्रमा टिपर सञ्चालनमा पूर्ण रुपमा रोक लगाइएको छ। अन्य सवारी साधनहरु भने यथावत रुपमा संचालन हुनेछ ।






