काठमाडौ महानगरको मेयर लाई खुला पत्र

आदरणीय मेयरज्यू,
नेतृत्व भन्नाले कठोर मात्र होइन, संवेदनशील पनि बन्न सक्नुपर्छ। काठमाडौं महानगरका मेयरको कुर्सीमा बसेपछि तपाईं केवल एक जनप्रतिनिधि मात्र होइन, सम्पूर्ण नगरबासीका नगरपिता बन्नुभयो। अझ, आज तपाईंको व्यक्तित्वलाई देशभरिका नेपालीहरूले आशाको किरणका रूपमा स्वीकार गरिसकेका छन्।
Gen Z को आन्दोलनले तपाईंलाई युवापुस्ताको नायक, प्रेरणा र मार्गदर्शकका रूपमा हेर्दै आएको थियो। तर हालै २३/२४ गतेको आन्दोलनमा निर्दोष युवामाथि भएको गोली प्रहार, दमन र सयौं घाइतेहरूको पीडाको बीचमा तपाईंले न्यूनतम मानवीय संवेदनशीलता नदेखाउनु जनताका लागि अत्यन्तै पीडादायी र अचम्मको विषय बन्यो।
के शहीदहरूलाई श्रद्धाञ्जली दिनु, घाइतेहरूको अवस्था बुझ्नु वा पीडित परिवारसँग सहानुभूति प्रकट गर्नु कानुनको कुनै धारा वा प्रोटोकलले रोक्छ?
कि तपाईंको भित्रको मानवीयता नै कतै सुकेर गएको हो?
आज देश गम्भीर परिस्थितिबाट गुज्रिरहेको छ। सरकारकै गोलीबाट आफ्ना छोराछोरी, दाजुभाइ, दिदीबहिनी गुमाएका साधारण नागरिकको पीडा बेदनामा तपाईंको मौनता कत्तिको उचित ठहरिन्छ? जनता तपाईंलाई एउटा दृढ, न्यायप्रेमी र संवेदनशील नेतृत्वको रूपमा हेरेका थिए। तर अहिलेको मौनता र दूरीले जनताको आस्था र भरोशामा गहिरो चोट पुर्याएको छ।
-एउटा दाजुभाइको हैसियतले पनि पीडामा साथ दिनु तपाईंको कर्तव्य होइन र?
जनता भोलिका लागि मात्र नभई आजको पीडामा पनि आफ्नो नेतृत्वसँग आश्रय खोज्छन्। तर तपाईंको निष्ठुर मौनताले सबैलाई निराश तुल्याइरहेको छ।
आदरणीय मेयरज्यू, तपाईं व्यक्ति मात्र होइन, एउटा आशाको प्रतीक, एउटा व्यक्तित्वमा रूपान्तरण भइसकेको नाम हो। आज तपाईंको हरेक कदमले युवापुस्ताको सोच, भावना र भविष्यलाई असर पार्छ। यस्तो अवस्थामा तपाईंको आवाज निस्कनु, तपाईंको सहानुभूति प्रकट हुनु, तपाईंको मानवीय संवेदनशीलता देखिनु—यो केवल कर्तव्य मात्र होइन, इतिहासले तपाईंलाई दिएको अवसर र दायित्व पनि हो।
जनता अझै प्रतीक्षामा छन्—तपाईंले आफ्नो मौनता तोडेर घाइतेहरूको अवस्था बुझ्नुहुनेछ, शहीद परिवारसँग संवेदना बाँड्नुहुनेछ, र युवापुस्तालाई न्यायको बाटोमा साथ दिनुहुनेछ भन्ने आशामा।