बनेपा नगरपालिकाः ‘खरानी’को डल्ला भित्र इतिहासको खोजी
मोतीराम तिमल्सिना
बनेपा
राजधानी उपत्यकासँग जोडिएको काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिकाको धार्मिक, सांस्कृतिक, ऐतिहासिक महत्व छ । राज्यको पुर्नसंरचनामा पछिल्लो पटक जिल्लामा भएका १३ पालिका मध्ये भौगोलिक हिसावले सानो तर जनसंख्याका हिसावले ठुलो र धेरै वडा भएको पालिका बनेपाको प्रशासनीक भवन खण्डहर भएको छ । यो जिल्लाको पहिलो नगर पञ्चायत हो । २०३८ सालमा नगरपञ्चायत घोषणा पछि २०४३ सालमा नगरपालिकाले उक्त भवनहरु निर्माण गरेको थियो ।
बुधबार नगर प्रमुख शान्तिरत्न शाक्य भन्दै थिए–‘हामीसँग इतिहासका नाममा खरानीको धुलो र इतिहास जलेको खरानीको डल्ला मात्रै बाँकी छन् । हामी अहिले त्यहि डल्ला टक्टक्याउँदै इतिहासको खोजी गरिरहेका छौं ।’ नगरपालिकाको भवन मात्रै जलेको छैन, भवनसँगै बनेपा नगर निर्माणमा विभिन्न कोणबाट योगदान दिनेहरुको मन जलेको छ । ब्यक्तिले अपराध गरेको हुन सक्छ वा गर्न सक्छ, भवनसँग नागरिकहरुले साँधेको दुस्मनीले सोचनिय बनाएको नगर प्रमुख शाक्यले भने । नगरपालिका वडा नम्वर १० स्थित पुलबजारमा स्थानान्तरणको प्रकृयामा छ । शुन्यबाट ब्यवस्थापन गर्नु पर्ने भएकाले अझै केहि दिन सेवा प्रवाहमा असहजता हुन सक्ने उनले बताए । आन्दोलनकारीले भदौ २३ गते साँझ २÷४ ढुंगा गेट बाहिर प्रहार गरे । राति अबेरसम्म नाराबाजी गरिरहँदा प्रहरी पहरेदार बनिरह्यो ।
राजधानीमा आन्दोलनले उग्र रुप लिदै थियो । बनेपामा पनि आन्दोलनकारी सडकमा आई सकेका थिए । पहिलो प्रहरमा नै आन्दोलनकारीको तारो नगरपालिका बनिसकेको थियो । प्रहरी र आन्दोलनमा सहभागिहरुले नै सार्वजनिक सम्पत्ति तोडफोड गर्नु हुँदैन भन्दै भिड मोडियो । त्यो भिड नेकपा एमाले पार्टी कार्यालयमा पुग्यो । तोडफोड र आगजनी गरेर सडकमा फर्कियो । पछि ट्राफिक प्रहरी कार्यालयमा आगजनी र तोडफोड भयो । इलाका प्रहरी कार्यालयमा समेत आगजनी गरसँगै नगरपालिका पनि तोडफोड र आगजनी भयो । त्यो सबैमा एउटै समुह सक्रिय थियो । नगरपालिकाले सामाजिक सञ्जालमा आएका भिडियो, तस्विरका आधारमा पहिचान गर्न र कानूनी कारवाहीका लागि प्रहरीलाई लिखित नै अनुरोध गरिसकेको नगर प्रमुख शाक्यले बताए । जलिसकेको भवन भित्र रहेका केहि कागजका डल्लाहरुबाट नगरपालिकाले बचेको इतिहास संरक्षण गर्ने प्रयत्न गरिरहेको छ ।
आन्दोलनकारीले चारै तिरबाट नगरपालिकालाई आक्रमण गरे । पार्किङ्ग गरिराखेको नगरपालिकाको फोहोर बोक्ने टिपर फोहोर सहित जल्यो । तीनवटा मोटरसाईकल र अन्य केहि सवारी साधनमा आगो लगाईयो । सडक विभागको पार्किङ्गमा राखिएको गाडीमा आगो लगाईयो । नगरपालिका भित्र भएका ग्याँस सिलिण्डर र अन्य सामानहरु चोरी गर्ने, तोडफोड गर्ने जलाउने कार्य भईरह्यो । अलग्गै रहेको प्राविधिक शाखामा समेत कागजात नै बाँकी नरहने गरी आगजनी गरियो । भदौ २५ गतेसम्म नगरपालिकामा सामानहरु जलिरहेका थिए । रातभर धेरैले सामानहरु ओसारिरहेका थिए । सडकमा आतकंको राज्य चलिरहेको थियो । लुटपाट, आगजनी र तोडफोड सामान्य मानिएका थिए । नगरपालिकाले महत्वपूर्ण दस्तावेजहरु समेत सुरक्षित गर्ने अवसर पाएन । भएका सबै कागजातहरु जलेर नष्ट भए । ‘यतिखेर नगरपालिका संकटमा छ । २०४३ सालमा बनेको भवनको मात्रै प्रारम्भिक मुल्यांकन गर्दा साढे ५ करोड रुपैया नोक्सानी भएको छ । नगरपालिका भित्र रहेका करोडौका सामानहरुसँगै इतिहास जलेको छ’–नगर प्रमुख शान्तिरन्त शाक्यले भने ।
जलेको कार्यालयबाट सेवा प्रारम्भ असम्भव भए पछि कर्मचारीहरुले अस्थायी रुपले बनेपा १० को कार्यालयबाट सेवा प्रारम्भ गरेका छन् । सामाजिक सुरक्षा भत्ता, कर्मचारीहरुको तलव लगायतको भुक्तानीको कार्य गरिएको भए पनि सिस्टमले समेत ढिला गराएको छ । तर पनि सेवालाई सहज बनाउन सक्रिय रहेको नगर प्रमुख शाक्यले बताए । ‘दशै पछि नागरिकहरुले आफुसँग भएका प्रमाणहरु सँगै ल्याउँदा सहज र चाँडै सेवा लिन सक्छन भने अन्यको हकमा पनि कानूनी प्रकृया पुरा गरेर सेवालाई सहज बनाउने अभियानमा छौं–नगर प्रमुख शाक्यले भने–‘नागरिकहरु हतोत्साही नहुन र नगरपालिकालाई आफुले सकेको सहयोग पु¥याउन अपिल गर्दर्छाै ।’ संघीय सरकारको कुनै निर्देशन पनि नआएकाले अलमलमा परेको नगरपालिकाले जानकारी दिएको छ । ‘जलेका भवनका हकमा के गर्ने हो ? अब कसरी अघि बढ्ने हो ? कुनै निर्देशन आएको छैन’–नगरपालिकाले भन्यो–‘निर्देशन नआए पनि स्थानीय सरकारले दिने सेवा र सुविधा नरोक्ने उदेश्यले अस्थायी रुपमा सेवा प्रारम्भ गरिएको हो ।’
बनेपाको इतिहास
बनेपा नगरपालिका नगर कार्यपालिकाको कार्यालय बनेपा काभे्रपलाञ्चोकले तयार गरेको नगर परिचय सम्वन्धी कक्षा ८ को बनेपाको परिचय र इतिहास पुस्तकमा एकाई ८ को पाठ १ मा बनेपाको ऐतिहासिक पृष्ठभूमि र प्रशासनिक, राजनीतिक विभाजन सम्वन्धी विस्तृत विवरण उल्लेख गरिएको छ । बनेपाको राजनीतिक परिचय: अहिले हामी हाम्रो बनेपा नगरपालिकाको जुन वडा गाउँ र टोलमा बसेका छौँ पहिला यो अवस्थामा थिएन । यहाँ धेरै वर्ष धेरै किसिमका राजनैतिक व्यवस्था र व्यक्तिहरूको परिवर्तन पछि मात्र यो अवस्थामा आइपुगेको हो ।
हाम्रो देशमा पहिले धेरै सानासाना राज्यहरू थिए । काठमाडांै उपत्यकाभित्र काठमाडौँ पाटन र भादगाउँ (भक्तपुर) नामका तीन मल्ल राजाहरू थिए। त्यतिखेर हाम्रो बनेपा भक्तपुर राज्यको अधीनमा रहेको थियो। अनि बनेपा र आसपासका बस्तीलाई बनेपा सातगाउँ पनि भनिन्थ्यो। मल्लकालीन समयमा भनिएका सात गाउँहरूमा १ बनेपा, २ साँगा, ३ पनौती, ४ खड्पू, ५ चौकोट, ६ धुलिखेल र ७ नाला थिए । त्यस ताका ती क्षेत्रहरूमा शासन गर्न हालको शिक्षासदन मा.वि. बनेपा अगाडि लायकु दरबार नाम गरेको विशाल दरबार थियो। आजभन्दा २०– २५ वर्ष अघिसम्म पनि उक्त दरबार देख्न सकिन्थ्यो। हाल उक्त दरबारको जग मात्र बाँकी रहेको छ र दरबार अगाडिको चउरमा लायकु मञ्च निर्माण गरिएको छ । अहिले त्यहाँ विभिन्न सभा, सम्मेलन र खेलकुदका कार्यक्रमहरू आयोजना गरिन्छन् ।
मल्लकालीन समयको बनेपा मल्लकालीन समयमा हाम्रो देशमा धेरै चाडपर्व जात्रा र सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गरिन्थे । ती पर्वहरू सञ्चालन गर्न विभिन्न देवीदेवताहरूको नाममा गुठी जग्गाहरू राखिएका हुन्थे । अनि त्यही जग्गाको आम्दानीबाट जात्राहरू चलाउने गरिन्थ्यो । त्यो गुठीको संरक्षण र समय समयमा जात्रा सञ्चालन गर्न एकजना व्यक्तिलाई जिम्मेवारी दिइन्थ्यो । सो जिम्मेवारी दिइएको व्यक्तिलाई त्यसबेला ‘द्वारे’ पदवीले सम्बोधन गरिन्थ्यो । द्वारे उक्त जात्रा पर्व चलाउने प्रमुख नाइके मानिन्थे । उनको योजना अनुसार जात्रा पर्व चल्दथ्यो र अन्य व्यक्तिहरूले उनको काममा सहयोग गर्दथे । अहिले पनि बनेपामा हरेक वर्ष वैशाख पूर्णिमामा बुद्ध जयन्तीको दिन मनाइने चण्डेश्वरी माईको चण्डीपूर्णिमा जात्रा सोही द्वारे प्रथाको परम्परालाई आधार बनाएर सञ्चालन गर्ने गरेको पाइन्छ । त्यसै गरी मल्लकालीन नेपालमा स्थानीय गाउँ शहरको सामान्य झगडा विवादका समाधान गर्न र उक्त स्थानको घर जग्गा जमिनको तिरो उठाउन तीन चार गाउँको बीचमा एकजना सामान्य लेखपढ गर्न जान्थे व्यक्तिलाई जिम्मावाल पदमा नियुक्ति गरिएको हुन्थ्यो । उनले आफ्नो क्षेत्रभित्रका मोहीहरूले घरजग्गाको वार्षिक तिरो उठाई तोकिएको ठाउँमा बुझाउँदथे । सो काम गरेवापत् सरकारले उनलाई केही प्रतिशत रकम पारिश्रमिकको रूपमा उपलब्ध गराउँदथ्यो । जिम्मावालको काममा सहयोग पु¥याउनको लागि एकजना व्यक्तिलाई ‘मुखिया’ को पदमा नियुक्ति गरिएको हुन्थ्यो ।
मुखियाले आफ्नो क्षेत्र भित्रका मानिसहरूले हकभोग कायम गरेका घर जग्गाको लगत राख्ने नयाँ जग्गा जमिन हकभोग गर्न पर्चा तिरोको कागजपत्र तयार गरिदिने काम गर्दथे । पञ्चायतकालीन चार गाउँ पञ्चायतको बनेपा हाम्रो देशमा वि.सं. २०१७ सालदेखि २०४७ साल सम्म करिब ३० वर्षसम्म निर्दलीय पञ्चायत व्यवस्था कायम रह्यो । उक्त अवधिमा हालको बनेपालाई चारवटा पञ्चायतमा विभाजन गरिएको थियो । बनेपाको पूर्वीभागमा बकुटोल गाउँ पञ्चायत मध्यभागमा भोलाखाटोल गाउँ पञ्चायत, पश्चिम भागमा दछुटोल गाउँ पञ्चायत र मध्यपूर्वी भागमा स्वधाटोल गाउँ पञ्चायत कायम गरिएको थियो । वि.सं. २०३०÷०३१ सालतिर चारवटा गाउँ पञ्चायतमध्ये दछुटोल र भोलाखाटोल पञ्चायतलाई एउटै बनाई बनेपा पञ्चायत र स्वधाटोल र वकुटोललाई मिलाई चण्डेश्वरी पञ्चायत नामकरण गरिएको थियो । यसरी बनेपालाई नगरपालिका घोषणा हुनु अघि पहिलो पटक चारवटा गाउँ पञ्चायत र दोस्रो पटक दुईवटा गाउँ पञ्चायतमा व्यवस्थापन गरेको पाइन्छ ।
काभ्रे जिल्लामा पहिलो नगरपञ्चायत घोषणा भएको बनेपा तत्कालीन पञ्चायती व्यवस्थामा हाम्रो देशमा गाउँ पञ्चायतको सङ्ख्या धेरै थियो । नगर पञ्चायत हुनको लागि त्यो गाउँ वा सहरको कूल जनसङ्ख्या दश हजार पुग्नुपर्ने कानूनी नियम थियो । तत्कालीन बनेपा सहरको जनसङ्ख्या दश हजार नपुग भएकोले बुडोलको बज्रयोगिनी गाउँ पञ्चायतलाई गाभेर दश हजार जनसङ्ख्या पु¥याई वि.सं. २०३९ सालमा बनेपालाई नगर पञ्चायत घोषणा गरियो । बनेपा नगरलाई जम्मा ११ वडामा विभाजन गरिएको थियो । काभ्रे जिल्लामा बनेपा पछि वि.सं.२०४३ फागुन र ५ गते धुलिखेललाई नगरपालिका र वि.सं. २०५४ मा पनौतीलाई नगरपालिका घोषणा गरिएको थियो ।
सङ्घीय गणतन्त्र घोषणा पछिको विस्तारित वि.सं.२०७४ साल बैशाख ३१ गते भएको स्थानीय निर्वाचनमा साबिक एघार वटा वडामा रहेको बनेपा नगरपालिकालाई विस्तार गरी चौध वडा गरियो । विस्तारित नगरपालिकामा बनेपा आसपासका उग्रतारा, जनागाल, महेन्द्रज्योति, बाँसडोल, नासिकास्थान साँगा, उग्रचण्डी नाला, टुकुचा नालाको पूरा गा.वि.स. क्षेत्र र देवीटार गा.वि.स. र रविओपी गा.वि.स.का केही वडाहरू गाभिएका छन् । विस्तारित नगरपालिकाको क्षेत्रफल ५४.५९ वर्ग कि.मि र कुल जनसङ्ख्या ५५,६२८ रहेको छ ।
बनेपाको भौगोलिक परिवेश
पूर्वमा ‘रक्तचन्दन’ भनिने चण्डेश्वरीजङ्गल, उत्तरमा थागु (माथिको) जङ्गल र दक्षिणमा क्वःगु (तलको) जङ्गलको पृष्ठभूमिमा काठमाडौंबाट करिब २० कि. मि. पूर्व समुद्री सतहदेखि ४८०० फिट उचाइमा अनि २७.३७ डिग्री अक्षांश र ८१.३१ डिग्री देशान्तरमा रहेको एउटा सानो तर रमणीय उपत्यकामा अवस्थित प्राचीन नगरी बनेपा ऐतिहासिक र धार्मिक क्षेत्र हो । बनेपा नगर क्षेत्र पूर्वमा धुलिखेल, पश्चिममा भक्तपुर जिल्ला, उत्तरमा मण्डनदेउपुर नगरपालिका र दक्षिणमा पनौती नगरपालिका रहेको पहाड र पर्वत तथा स–साना गाउँहरुले घेरिएको काभ्रेपलाञ्चोक जिल्लाको महत्वपूर्ण व्यापारिक केन्द्र पनि हो । ‘बने’ ले व्यापार र ’पा’ ले बस्ती भन्ने बुझाउछ । त्यसैले बनेपा व्यापारीहरूको थलो हो ।
बनेपा शब्दको व्युत्पति र यसको इतिहास: बनेपा सहर वणिर्पुर, बनेकापुर, बनेपुर, ब्यनेपे, बिन्यापा, विनयापुरी, विनायकपुरी, वनिंयप्य भनिँदै पछि ’बनेपा’ हुन आएको हो । नेवार समुदायमा यस सहरलाई भोंदे अथवा भ्वत पनि भन्ने गरिन्छ । भोटसँग पहिल्यैदेखि राम्रो व्यापारिक सम्बन्ध भएका कारणले यसलाई भोंदे अथवा भ्वत भनिएको हुनर्पर्छ । बनेपालाई ’भुज’ पनि भन्ने गरिन्थ्यो । बनेपामा रहेको लिच्छविकालीन शिवदेव अंशुवर्माको अभिलेखमा यसको चार किल्ला खुलाउदा ’चन्द्रेश्वर (चण्डेश्वरमहादेव) ङ ग्रामस्तत’ उल्लेख भएकाले बनेपा नै भुजङग्राम हुनुपर्ने देखिन्छ । ’ङ ग्राम’ भनी उल्लेख भएको यो ठाउ किरातकालमा नै गाउका रूपमा विकसित भइसकेको हुनुर्पर्दछ । किनभने नालङ, साङ, खोप्रिङ आदि ङ, आएका बस्तीहरूले ती बस्तीहरू किरातकालीन हुन् भन्ने बुझाउछन् । राजा अभय मल्लको शासनकालको चागुनारायणको भण्डारभित्रको ने. सं. ३५७ को एउटा ताडपत्रमा बनेपालाई ’बनिंयप्य’ उल्लेख गरिएको छ । त्यस्तै, बनेपाका राजा जयार्जुनदेवको नाम उल्लेख भएको ने. सं. ४८५ को एउटा ताडपत्रमा यस सहरलाई ’विनयापुरी’ उल्लेख गरिएको छ ।
बनेपा निर्माण हुदाको रूप: बनेपामा पहिले ‘भोलाखा’ भन्ने बस्ती मात्र थियो रे । तर कलिगत वर्ष४१९७ अर्थात् वि. सं. ११५९ मा पूर्व मध्यकालीन राजा आनन्ददेवले बनेपा वरिपरिका स–साना बस्तीहरू भोलाखाबस्तीसँग मिलाई नया बनेपाको निर्माण गर्दा आठ दिशामा आठ गणेशहरू दिक्पालका रूपमा प्रतिष्ठापन गरी प्रत्येक गणेशको मन्दिरसमीप ढोका, पोखरी र पाटी बनाइदिएका थिए । त्यसैले मल्लकालदेखि नै बनेपामा यी आठैवटा गणेशहरूसँग सम्बन्धित एउटा–एउटा दाफा भजन हुन्थे । यस ठाउका मानिसहरू बिहान–बिहान पोखरीमा मुख धोई पाटीमा बसेर भजन गर्दै देवीदेवताको आरती गर्थे । मानिसहरू विहान–विहान देवदेवीहरूप्रति आस्था राखी शुद्ध चित्तले जीवनयापन गर्दथे र बेलुकी पनि पाटीमा बसेर भजन गरी आनन्दपूर्वक जीवन बिताउथे । तर हाल केही पोखरीहरू र्सार्वजनिक कामका लागि प्रयोग भइसकेका छन्, केही पाटीहरू हराइसकेका छन् र चारवटाजति दाफा भजनहरू मात्र चलिरहेका छन् । बनेपा निर्माण गर्दाको संरचना अत्यन्तै वैज्ञानिक किसिमको थियो । घाम र हावाको सन्तुलन मिलाउनका लागि ठाउठाउमा ननि (चोक) हरू, पानीको व्यवस्था मिलाउन ढुङ्गेधारा र इनारहरू, सांस्कृतिक कार्यक्रमहरू गर्न र नाटक देखाउन डबलीहरू राखी निर्माण गरिएको बनेपा अत्यन्तै व्यवस्थित थियो । यहा नौवटा ढुङ्गेधाराहरू, नौवटा ननि (चोक) हरू, नौवटा डबलीहरू र ९९ वटा इनारहरू थिए । यसरी ९ अङ्क पारेर निर्माण गरिएको बनेपानगरी लक्षणयुक्त छ भनी बूढापाकाहरू भन्दछन्, किनभने शास्त्रीय दृष्टिकोणले ९ अङ्क लक्षणयुक्त र फलदायी हुन्छ । तर धेरैजसो इनारहरू पुरिइसकेका छन्, ढुङ्गेधाराको पानीका मुहानहरू सुकिसकेका छन्, धेरै ठाउका ननि (चोक) हरू अतिक्रमणमा परिसकेका छन् ।
इतिहासका वद्र्धनहरू: ‘गोपाल राजवंशावली’ मा उल्लेख भएअनुसार मल्लकालीन नेपालमा बनेपा क्षेत्रले राजनीतिमा ठूलो भूमिका खेलेको थियो र बनेपालीहरूको अगुवाइमा देशको राजनीतिमा उलटपुलटसमेत हुने गरेको थियो । त्यस्ता बनेपालीहरू विशेषतः राम वद्र्धनहरू थिए । ज्योतिराम वद्र्धन महामन्त्री थिए । उनले बनेपालाई एक स्वतन्त्र राज्य बनाउन प्रयत्न गरेका थिए । ज्योतिरामका छोरा अनेकराम पनि महामन्त्री थिए । अनेकरामपछि जयसिंहराम बनेपाका राजा जयार्जुनदेवका महामन्त्री भए । वि. सं. १४११ मा जयस्थिति मल्ललाई भक्तपुरमा भित्र्याइयो । केही समयपछि राजकुमारी राजल्लदेवीसित उनको विवाह भयो । त्यसपछि जयस्थिति मल्ललाई नेपालका राजा घोषणा गरियो । अनि जयसिंहरामले राजा जयार्जुनदेवलाई मान्नुर्पर्छ, बाहिरबाट आएका जयस्थिति मल्ललाई हामी राजा मान्दैनौं भनी ४–५ वर्षम्म पूर्वी भेगको नेतृत्व लिई ठूलो व्र्रिोह गरे । पछि जयार्जुनदेवको मृत्यु भयो । त्यसपछि जयस्थिति मल्लले जयसिंहरामलाई हातमा लिई आफ्ना महामन्त्री बनाए । जयस्थिति मल्लका महामन्त्री बनेपछि जयसिंहराम झन् शक्तिशाली बन्न पुगे । जयसिंहराम वद्र्धन अत्यन्तै धर्मात्मा थिए । उनले इन्द्रेश्वरमहादेवका चारै मुखमा सुनौला खोल राखे, त्यस मन्दिरको छानामा सुनको मोलम्बा लगाए र इन्द्रेश्वरको हाताभित्र तुलानारायणको प्रतिष्ठापन गर्नुका साथै व्र्रि विद्वान्हरूलाई मूल्यवान् सामानहरू दान दिए । उक्त व्यहोरा ने. सं. ५२१ को पनौती इन्द्रेश्वर मन्दिर भित्रको सुवर्णपत्रमा उल्लेख छ । मुगलसम्राट सुल्तान समसुद्दीनको आक्रमणबाट ध्वस्त पारिएको पशुपतिनाथमन्दिरको पुनरुद्धार गरी ने. सं. ४८० मा जयसिंहरामले चारै वेदका आधारमा चतुर्मुखी पशुपतिनाथको मुर्ति बनाउन लगाएर शास्त्रीय विधिअनुसार प्रतिष्ठापन गरे । जयसिंहराम बनेपाली थिए । उनको दरबार बनेपाको भोलाखामा थियो । उनको दरबारलाई क्वाठ भनिन्थ्यो । हाल पनि त्यस ठाउलाई क्वाठ नै भन्ने गरिन्छ ।
सन् १४८२ मा भक्तपुरका राजा यक्ष मल्लको मृत्यु भयो । त्यसपछि यक्ष मल्लका साहिँला छोरा रण मल्ल बनेपाका राजा बने । रण मल्लको शासनकाल ने. सं. ६२२ मा देवी चण्डेश्वरीले बनेपाका धलंछे खलकका मोहनसिं मानन्धरलाई सुनको रागोको टाउको वर (प्रसाद) दिएको कुरा वंशावलीमा उल्लेख छ । तिनै मोहनसिंले पशुपतिनाथ महादेवलाई चढाएको एकमुखी रूद्राक्ष अद्यापि पशुपतिमन्दिरमा छ । रण मल्लपछि उनैका छोरा केशव मल्ल र केशव मल्लपछि कृष्ण मल्ल बनेपाका राजा भए । त्यसपछि बनेपा भक्तपुर राज्यसँग मिल्न गयो ।
हाल कायम भएको बनेपा नगरपालिका ः जम्मा १४ वटा वडाहरू मिलेर बनेको बनेपा नगरपालिकाको क्षेत्रफल ५४.५९ बर्ग कि.मी. रहेको छ । क्षेत्रफलको आधारमा काभ्रे जिल्लाको यो सबै भन्दा सानो नगरपालिका हो भने जनसंख्याको आधारमा काभ्रे जिल्लाको यो सबै भन्दा धेरै जनसंख्या भएको नगरपालिका हो ।
राष्ट्रिय जनगणना बि.सं. २०७८ को नतिजा र क्षेत्रफल
वडा नं. १ को कार्यालय, पाण्डे गाँउ, नाला: साविक टुकुचा नाला वडा नं. १ देखि ५ सम्मलाइ समेटेर बनेपा नगरपालिकाको नयाँ वडा नं. १ भएको छ ।
वडा नं. २ को कार्यालय, घिमिरे गाँउ, नाला: साविक टुकुचा नाला वडा नं. ६ देखि ९ सम्मलाइ समेटेर बनेपा नगरपालिकाको नयाँ वडा नं. २ भएको छ ।
वडा नं. ३ को कार्यालय, ठूलोचेोर, नाला: साविक उग्रचण्डी नाला वडा नं. ६,७,८,९ र साविक देवीटार वडा नं. ४ र ५ लाइ समेटेर बनेपा नगरपालिका वडा नं. ३ भएको छ ।
वडा नं. ४ को कार्यालय, उग्रचण्डी, नाला : साविक उग्रचणडी नाला वडा नं. १,२,३,४ र ५ लाइ समेटेर बनेपा नगरपालिकाको नयाँ वडा नं. ४ भएको छ ।
वडा नं. ५ को कार्यालय, काथु गणेशस्थान : साविक बनेपा वडा नं. १,२ र साविक रविअपि वडा नं.६,७,८,९ लाइ समेटेर बनेपा नगरपालिकाको नयाँ वडा नं. ५ बनेको छ ।
वडा नं. ६ को कार्यालय, बुडोल (काभ्रे क्याम्पस) : साविक बनेपा वडा नं. ११ बनेपा नगरपालिकाको नयाँ वडा नं. ६ बनेको हो ।
वडा नं. ७ को कार्यालय, हंसराज मार्ग : साविक बनेपा वडा नं. ८,९,१० लाइ समेटेर बनेपा नगरपालिकाको नयाँ वडा नं. ७ बनेको हो ।
वडा नं.८ को कार्यालय, भोलाखाटोल : साविक बनेपा वडा नं. ५,६,७ लाइ समेटेर बनेपा नगरपालिकाको नयाँ वडा नं. ८ बनेको हो ।
वडा नं.९ को कार्यालय, लाइकु दरवार : साविक बनेपा वडा नं. ३ र ४ लाइ समेटेर बनेपा नगरपालिकाको नयाँ वडा नं. ९ बनेको हो ।
वडा नं.१० को कार्यालय, पुलबजार : साविक उग्रतारा जनागाल वडा नं. १,२,३,४ र ८ लाइ समेटेर बनेपा नगरपालिकाको नयाँ वडा नं. १० बनेको हो ।
वडा नं.११ को कार्यालय, पुलबजारः साविक उग्रतारा जनागाल वडा नं. ५,६,७ र ९ लाइ समेटेर बनेपा नगरपालिकाको नयाँ वडा नं. ११ बनेको हो ।
वडा नं.१२ को कार्यालय, बाँसडोल : साविक महेन्द्रज्योती वडा नं. १ देखि ९ समेटेर बनेपा नगरपालिकाको नयाँ वडा नं. १२ बनेको हो ।
वडा नं.१३ को कार्यालय, भैसेपाटी : साविक नासिकास्थान साँगा वडा नं. १,२,३ र ४ समेटेर बनेपा नगरपालिकाको नयाँ वडा नं. १३ बनेको हो ।
वडा नं.१४ को कार्यालय, साँगा (नासिकास्थान) : साविक नासिकास्थान साँगा वडा नं. ५,६,७,८ र ९ समेटेर बनेपा नगरपालिकाको नयाँ वडा नं. १४ बनेको हो । (श्रोतः बनेपा नगरपालिका परिचय पुस्तकबाट ।)
तस्बिरः विकास तिमल्सिना/मदानी विट






