आतङ्कमा संलग्न काभ्रेका ९ युवा र ४० कैदी पक्राउ, ११ सय राउण्ड गोली र हतियार बरामद
धुलिखेल/धेरैलाई लाग्ला विध्वँस मच्चाउने, आतंक श्रृजना गर्ने, आतंक सिर्जना गर्न उक्साउने, लुटपाट मच्चाउनेहरुलाई प्रहरीले किन पक्राउ गरिरहेको छैन ? त्यस्तो होईन प्रहरी उच्च मनोबलका साथ सक्रिय भएको छ ।
सरकारी तथा ब्यक्तिगत सम्पत्तिमा क्षति पु¥याउनेहरुको पहिचान गर्दै प्रहरीले धमाधम पक्राउ गर्न शुरु गरेको छ । राजधानीमा पनि प्रहरी सक्रिय भएको छ भने जिल्लामा पनि प्रहरीले सक्रियता देखाएको छ । कइलाका प्रहरी कार्यालयमा आगजनी, तोडफोड, लुटपाट मच्चाउँदै प्रहरीकै हतियार र गोलिगठ्ठा समेत लुटिएको थियो । फिल्मि शैलीमा आतंक मच्चाउँदै प्रहरीलाई घुँडा टेकाएर माफी मगाउँदै उत्तेजक समुहले आगजनी र लुटपाट शुरु गरेको थियो । प्रहरी कार्यालय भित्र रहेका महत्वपूर्ण कागजात, विद्यार्थीको उत्तर पुस्तिका, मुद्दाका मिसिलहरु, प्रहरीकै पोशाक तथा हातहतियार सबै भित्रै राखेर कम्पाउण्ड भित्र भएका दुईवटा सवारी साधन समेत जलाए । तलबाट आगो लगाउँदै माथीबाट लुटपाट गर्नेहरु तन्ना थापेर हाम फाले । तिनै मध्येका केहिलाई प्रहरीले पहिचान गरी पक्राउ गरिसकेको छ । आफ्नै प्रहरी कार्यालय बचाउन नसकेको प्रहरीले कसरी नागरिकको सुरक्षा गर्न सक्ला ? नागरिकहरु त्रसित हुँदै प्रश्न समेत तेस्र्याएका छन् ।
दशैको मुखमा चोरी र लुटपाटका घटना बृद्धी हुने तर्फ उत्तिक्कै नागरिकहरुलाई त्रास छ । अर्काेतर्फ खुलेआम डकैत गर्नेहरुलाई प्रहरीले पक्राउ गरिरहेको छैन । अनि नागरिकले शान्ति सुरक्षाको महसुस गर्न पाउँछन् ? सक्छन ? प्रहरी भन्छ– ‘अनुसन्धान शुरु गरेका छौ । पहिचानका आधारमा अपराधमा संलग्न सबैलाई कारवाही गर्छाै ।’ अझै इलाका प्रहरी कार्यालय बनेपा र जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले पूर्ण रुपमा कार्यालय संचालन गर्न सकिरहेका छैनन । पाँचखाल प्रहरी चौकी पनि संकटमा छ । केहि अन्य चौकीहरुमा पनि तोडफोड र आगजनी गरिएको छ । तर पनि प्रहरीले नियमित कामकारवाही अघि बढाएको छ । पीडितहरुले घटनाका बारेमा प्रहरीलाई लिखित र मौखिक पनि जानकारी गराईरहेका छन् ।
काभ्रेमा कति पक्राउ परे ?
प्रहरीले २४ गते लुटिएका हातहतियार सहितका ब्यक्ति पहिचान गर्ने क्रममा भाद्र २८ गते दिउसो १ बजे बनेपा ९ लायकुबाट ३४ बर्षिय सन्तोष श्रेष्ठलाई पक्राउ ग¥यो । मण्डनदेउपुर नगरपालिका वडा नम्वर ७ घर भई हाल बनेपा ९ लायकु बस्ने श्रेष्ठलाई कटुवा पेस्तोल १ थान र ३६ राउण्ड गोली सहित पक्राउ गरिएको थियो ।
त्यस्तै बनेपा ९ बाट नै हातहतियारको गोली राउण्ड सहित २०८२ भाद्र २९ गते ७ सय ३० राउण्ड गोली सहित बनेपा नगरपालिका ९ का अछुत खड्का, सिजन सुवाल, सुबास गौतम, बारा बनौली सखुवा ८ का महेश मुखिया, मकवानपुर बकैया गाउँपालिका ६ का सुशान्त लो, तेमाल गाउँपालिका २ का तिमोथी तामाङ, रामेछाप उमाकुण्ड गाउँपालिका ४ का प्रविन कार्कीलाई पक्राउ गरेको थियो । २०८२ भदौं २४ गते इलाका प्रहरी कार्यालय बनेपामा आगजानी गरी लुटि लगेको हातहतियार र गोली भएको पक्राउ परेकाहरुले बयान गरेका छन् । पक्राउ परेका सबै भाद्र २४ गतेको आन्दोलनमा आगजनी, तोडफोड र लुटपाटमा सक्रिय थिए ।
त्यस्तै प्रहरीले धुलिखेल १ का युवा रमेश तामाङलाई पक्राउ गरेको छ । बनेपाको प्रहरी चौकी लुटपाट गरी हतियार लगेर प्रर्दशन गर्दै टिकटक समेत बनाएका रमेश भाईरल भएका थिए । प्रहरीले उनलाई असोज ५ गते आईतबार पक्राउ गरेको हो । राजधानीमा प्रहरी मारेको अभियोगमा काभ्रेका युवा राजकुमार क्याप्छ्याकी मगर पक्राउ परेका छन् । असोज ७ गते मंगलबार उनी राजधानीबाटै पक्राउ परेका थिए ।
आन्दोलन पछि पनौती १ रयालेबाट नेपाली सेना र शशस्त्र प्रहरीद्धारा हतियार बरामद गरिएको छ । यो अवधीमा प्रहरीले ३७ जना कैदी पक्राउ गरेर कारागार बुझाएको छ ।






