प्रधानमन्त्री कार्कीले भोलि राष्ट्रको नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छिन् । उनले भोलि साँझ ६ बजे राष्ट्रको नाममा सम्बोधन गर्ने कार्यतालिका तय भएको उनी निकट स्रोतले बताएको छ । सम्बोधनको समन्वय सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयले गरेको छ ।

जेनजीहरूले गत २३ र २४ भदौमा गरेको प्रदर्शनको बलमा कार्की २७ भदौमा प्रधानमन्त्री नियुक्त भएकी थिइन् । उनी नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गरेर आगामी २१ फागुनमा निर्वाचन घोषणा गरेको छ । यसैबिच जेनजीहरूले राष्ट्रपति रामचन्द्र पौडैल र सरकारका प्रतिनिधिसँग छलफल गर्ने भएका छन् । आज जेनजीहरूको बैठकले सुदन गुरुङ, पुरुषोत्तम यादव, प्रवेश दाहाल, ओजस्वी भट्टराई, बब्लु गुप्ता, खेमराज साउदसहितले जेनजीका माग सुनुवाइ गर्ने विषयमा राष्ट्रपति र सरकारसँग छलफल गर्ने निकुञ्ज भण्डारीले नेपालखबरलाई जानकारी दिए । सुदन गुरुङले पनि समिति बनेको र छलफल कहिले गर्ने भन्ने मिति तय नभएको जानकारी दिए ।

राष्ट्रपति र सरकारसँगको छलफलमा जेनजी सहिदका परिवारका केही सदस्य र घाइते प्रतिनिधि र तीनका प्रतिनिधि पनि सहभागी हुने गुरुङले जानकारी दिए । भदौ २३ र २४ गते जेनजीको आन्दोलन भएको थियो। उक्त आन्दोलनपछि केपी ओली नेतृत्वको सरकार ढलेर सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार बनेको छ । यो सरकार ११ सदस्यीय मन्त्रिपरिषद् सदस्य बनाउने तयारी छ। अहिलेसम्म ८ सदस्यीय मन्त्रिपरिषद् गठन भइसकेको छ ।