राष्ट्रका नाममा आज प्रधानमन्त्री कार्कीले सम्बोधन गर्दै
काठमाडौं / प्रधानमन्त्री सुशीला कार्कीले आज साँझ ६ बजे राष्ट्रका नाममा महत्वपूर्ण सम्बोधन गर्ने भएकी छिन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार, दिउँसो ४ बजे बस्ने मन्त्रिपरिषद्को बैठकपश्चात् प्रधानमन्त्री कार्कीले राष्ट्रलाई सम्बोधन गर्ने कार्यतालिका तय भएको हो ।
‘जेनजी’ आन्दोलनको जगमा गठित अन्तरिम सरकारको नेतृत्व सम्हालेकी प्रधानमन्त्री कार्कीले प्रधानमन्त्रीको पदभार ग्रहण गरेपछि यो उनको पहिलो राष्ट्रिय सम्बोधन हुनेछ । पूर्व प्रधानन्यायाधीश कार्की गत भदौ २७ गते प्रधानमन्त्री पदमा नियुक्त भएकी थिइन्, जसले भदौ २३ र २४ गते भएको सशक्त ‘जेनजी’ आन्दोलनपछि विकसित राजनीतिक परिस्थितिको नेतृत्व गरेकी थिइन् ।
प्रधानमन्त्री कार्की नेतृत्वको अन्तरिम सरकारले हालै प्रतिनिधिसभा विघटन गरी आगामी फागुन २१ गते निर्वाचनको मिति घोषणा गरिसकेको छ । अन्तरिम सरकारको प्रमुख कार्यभार छ महिनाभित्र अर्थात् फागुन २१ गते स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन सम्पन्न गराउनु रहेको छ ।
आजको सम्बोधनमा प्रधानमन्त्री कार्कीले वर्तमान राजनीतिक अवस्था, निर्वाचनको तयारी, सरकारका प्राथमिकता र राष्ट्रका नाममा भावी योजनाबारे प्रकाश पार्ने अपेक्षा गरिएको छ । सम्बोधनलाई विशेष चासोका साथ हेरिएको छ ।






