सीप भए जीवन आफैं बदलिन्छ
गोमा थापा
पनौतीकी एक सफल उद्यमी महिला रोशनी श्रेष्ठ । आजभन्दा झण्डै १०/११ वर्ष अगाडि, उनले एसएलसी परीक्षा सकेर खाली समय पास गर्न कपडा पसलमा बसेकी थिइन् । त्यही बस्दा बस्दै उनले कपडा सिलाउँन सिकिन् ।
पसलमा बस्दा बस्दै दिनहुँ देखिने दृश्य र लोभलाग्दो देखिने आम्दानीले उनलाई सिक्न प्रेरणा मिल्यो । त्यसपछि केही समयमै सानो लगानीमा आफैंले पनौती ७ काभ्रेमा पसल खोलिन् । पसलको नाम रहेको छ फ्रेण्ड्सिप टेलरिङ सेन्टर । लगानी थियो—साँढे दुई लाख रुपैयाँ। अहिले त्यो लगानीले १५ लाख बराबरको कारोबार बनाइसकेको छ । उनको सानो सिलाई केन्द्रमा पाँचजना महिलाहरूले रोजगारी पाएका छन् । प्रत्येक कपडाको नाप र कटाइमा—त्यहाँ आत्म–निर्भरता छ, सशक्तिकरण छ । आफूसँग सीप हुँदा आर्थिकदेखि सामाजिक रुपमा पनि सक्षम भइने उनको भनाई छ ।
सिलाई–कटाइलाई उद्यममा रूपान्तरण गर्दै उनले “सीप भए जीवन आफैं बदलिन्छ” भन्ने सन्देश पनि उनले समाजलाई दिएकी छिन् । उनको अनुभवमा, सीपसँगै आत्मविश्वास आउँछ र त्यसले आर्थिक मात्र होइन, सामाजिक हैसियत पनि बदलिन्छ ।
पछिल्ला वर्षमा अनलाइन व्यापारको चापले उनलाई केही चिन्तित बनाएको छ । “अनलाइनमार्फत बजारमा मनलाग्दी मूल्य राखिन्छ, त्यसैले हाम्रो परम्परागत सिलाई–कटाइ व्यवसाय अघि बढाउन गाह्रो भइरहेको छ,” उनी बताउँछिन् ।
उनी भन्छिन्—सामाजिक सञ्जालले नयाँ बजार दिएको भए पनि स्थानीय ग्राहकको भरोसा कहिलेकाहीँ अनलाइनतर्फ मोडिनु व्यवसायका लागि चुनौती बनेको छ ।
रोशनीलाई थाहा छ—समय, प्रविधि र बजारसँगै आफू पनि अपडेट हुनुपर्छ । त्यसैले उनी अहिले अनलाइन प्लेटफर्ममा पनि आफ्नो सेवा विस्तार गर्ने योजनामा छिन् । ग्राहकसँग प्रत्यक्ष सम्पर्क, गुणस्तरीय काम र विश्वासलाई आधार बनाएर अनलाइन प्रतिस्पर्धालाई अवसरमा बदल्ने तयारीमा छिन् ।
पनौतीकी रोशनी श्रेष्ठ जस्तै मेहनती र जिज्ञासु स्वभावकी छिन् सविता श्रेष्ठ । पनौती नगरपालिका, वडा नम्बर ८, खरीबोटकी सविता श्रेष्ठले पनि सानै उमेर बुन्ने सीप सिकिन् । पाँच कक्षामा पढ्दा स्कुलको होमवर्क सकीएपछि उनी सधैं ठुली मम्मीको छोरीले हातमा धागोको रोल तान्दै तान्दै कुनै नयाँ रूप बनाइरहेको हेरेर बस्ने गर्थिन् । त्यो जिज्ञासु हेराईले उनलाई आज आत्मनिर्भर हुने सीप मिलेको छ ।
उनको आमाले भन्ने गर्थिन्— सिक् है बुन्न, खालि पढेर मात्रै काम चल्दैन! सवितालाई त्यो कुरा त्यति मन परेको थिएन, तर मम्मीको करले उनले पनि बिस्तारै बुन्न सिकिन् ।
त्यतिबेला पनि एउटा वस्तु तयार पर्दा ६०–७० रुपैयाँ पाइन्थ्यो। सानै उमेर, त्यो रकम उनलाई ठूलै जस्तो लाग्थ्यो। ५, ६ कक्षाकी बालिका सविताले त्यति बेलै बुझ्न थालिन् सीपले मूल्य राख्दोरहेछ । समय बित्दै गयो। एसइइ सकिएपछि लक्ष्मी महिला सहकारीले दिएको सिलाईकटाइ तालिममा भाग लिन पुगिन् । बुनाईको सीप थियो, सिलाई थपिएपछि अर्को पाना, अर्को सम्भावना थपिए जस्तै बन्यो । त्यसैले इच्छा मर्न दिनु हुँदैन। चाहना भए पछि बाटो आफैं खुल्ने सविता बताउँछिन् ।
आज उनले सानै उमेरमा सिकेको बुनाईका तरिकाहरू प्रयोग गरेर न्यानो टोपी, स्वेटर, झोलाहरू बुन्ने गर्छिन् । साथसाथै सिलाई–कटाईको काम त छँदै छ । यसरी उनको हरेक सियोको चालमा आत्मनिर्भरता लुकेको भेटिन्छ ।
यी दुई महिलाको कथा फरक–फरक छ, तर यात्राको बाटो एउटै रहेको छ त्यो हो सीप । सीपले केवल हात मात्रै चल्दैन, जीवन चलाउँछ । यसरी सविताले बचपनमा बुन्न सिकिन् र रोशनीले युवावस्थाको खाली समयलाई अवसरमा बदल्दै सिलाईकटाई सिकिन् ।






