काभ्रेपलाञ्चोक जिल्लामा अनुमति नभएका ‘बग्रेल्ति’ कन्सल्टेन्सी, अनुगमन सकिए पछि ठगी मुद्दा चलाईने

बनेपा/फस्टाउँदै गएको कन्सल्टेन्सी ब्यवसायमा संकट देखिन थालेको छ । क्याम्पसहरु विद्यार्थी अभावका कारण बन्द हुने अवस्थामा छन् । शहर बजारमा बग्रेल्ति खुलेका कन्सल्टेन्सीहरुमा विद्यार्थीहरुको चाप छ । दर्ता समेत नभएका र दर्ता भएकाहरुले समेत गलत परामर्श र प्रलोभन देखाउँदा विद्यार्थी र अभिभावक ठगिएका छन् । 
कन्सल्टेन्सीहरुको ठगी धन्दा भाषा प्रशिक्षणमा छ । काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा एउटा मात्रै कन्सल्टेन्सीले कोरियन भाषा पढाउने बैद्यानीक अनुमति पाएको छ । अहिले ५० भन्दा धेरै कन्सल्टेन्सीले कोरियन भाषा पढाईरहेका छन् । भाषा पढाउन आवश्यक पर्ने मापदण्ड, दक्ष जनशक्ति समेत नराखीकन कन्सल्टेन्सीहरुले विद्यार्थीहरुलाई गलत शिक्षामा उत्प्रेरित गरिरहेका छन् । आएल्स गर्ने विद्यार्थीहरुलाई पढाउन ७ भन्दा माथी ल्याउने प्रशिक्षक आवश्यक छ । जापानीज भाषा बढाउन एन २ ल्याउने प्रशिक्षक आवश्यक छ । +२ समेत भर्खर गर्दै गरेका विद्यार्थीहरु मार्फत नै भाषा सिकाएर विभिन्न मुलुक पठाउन थालेका कन्सल्टेन्सीहरुमा भाषा सिकेका विद्यार्थीहरु पास मात्रै हुँदा उनिहरुले पाउनु पर्ने सेवा सुविधा उक्त मुलुकबाट पाउन बञ्चित भएका छन् । सबैभन्दा ठुलो विद्यार्थी र अभिभावकहरुलाई प्रलोभन देखाउँदै आफनो कन्सल्टेन्सीमा तान्ने क्रम पनि बढेको छ । यो दर्ता भएकाहरुको पनि कानून विपरित कार्य हो भने अन्यको त दर्ता विना नै चलाएकाले झनै ठुलो ठगी हो । 
काभ्रेपलाञ्चोक जिल्लामा करिव एक सय भन्दा धेरै कन्सल्टेन्सीहरु संचालनमा रहेको प्रारम्भिक सूचना सार्वजनिक भएको छ । जिल्ला स्तरीय अनुगमन समितिले गरेको अनुगमनका क्रममा अधिकांश कन्सल्टेसीले अनुमति नलिईकन नै भाषा कक्षा संचालन गरी विभिन्न मुलुकमा विद्यार्थीहरु पठाउने गरेको फेला परेको छ भने दर्ता भएकाहरुले पनि पुरा गर्नु पर्ने आवश्यक शर्तहरु पुरा नगरेको जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी सुर्दशन श्रेष्ठको संयोजकत्वमा गठित समितिले गरेको अनुगमनमा कम्पनी मात्रै दर्ता गरी कन्सल्टेन्सी संचालन गरेकाहरुलाई कानूनी दायरामा ल्याउने निश्ष्कर्ष निकालेको छ । उनिहरुलाई कम्पनी ऐन २०६३, उपभोक्ता संरक्षण ऐन २०७५, राजश्व ऐन, फौजदारी संहिता समेत आर्कषण हुने निश्कर्ष निकालेको छ । अनुगमनका आधारमा तयार गरिएको प्रतिबेदनका आधारमा प्रहरीले कन्सल्टेन्सीहरुको ठगी अनुस्धान गरी संचालकहरुलाई कारवाहीको दायरामा ल्याउनेछ । 
कानूनी ब्यवस्था 
कम्पनी ऐन २०६३, उपभोक्ता संरक्षण ऐन २०७५, राजस्व ऐन, फौजदारी संहिता समेत कन्सल्टेन्सी संचालकहरुका लागि आर्कषण हुने निश्कर्ष निकालिएको छ । कर नतिरेको, नक्कली कागजात पेस गरेको, ठगी वा भ्रामक सूचना दिएको अवस्थामा कम्पनी ऐन २०६३ अनुसार कारवाही हुन्छ । फौजदारी संहिता र उपभोक्ता संरक्षण ऐन अनुसार जेल सजाय वा जरिवाना हुन्छ । अनधिकृत रूपमा व्यवसाय सञ्चालन गरेको अवस्थामा कम्पनी ऐन २०६३ र शिक्षा ऐन/नियम अनुसार संस्था विघटन वा जरिवाना लाग्छ । विद्यार्थीलाई आर्थिक रूपमा धोका दिएको अर्थात अवैध शुल्क असुल्ने गरेको अभियोगमा  उपभोक्ता संरक्षण ऐन अनुसार जेल सजाय (१ वर्षसम्म) वा जरिवाना (लाखौं रुपैयाँसम्म) हुन सक्छ । 
बागमती प्रदेशको निर्देशिका २०७९ अनुमति खारेज वा बन्द गर्ने ब्यवस्था छ । अनुमति बिना वा गैरकानुनी रूपमा कन्सल्टेन्सी सञ्चालन गर्नु प्रशासनिक मात्र नभई आपराधिक अपराध ठहरिन सक्छ ।  कन्सल्टेन्सी÷भाषा शिक्षण संस्थाले अनुमति नलिई वा नियम उल्लङ्घन गरी सञ्चालन गरेमा तुरुन्तै सेवा बन्द गर्ने निर्देशन, गलत विवरण, बढी शुल्क, शर्त उल्लङ्घन गरेमा अनुमति रद्द/खारेज, ३ वर्षसम्म नवीकरण नगरे स्वतः अनुमति खारेज, मन्त्रालय÷प्रदेश सरकारको निर्देशन उल्लङ्घन गरेमा संस्था बन्द वा थप कारबाही हुनेछ ।  राजस्व/कर ऐन अन्र्तगत पनि कारवाही हुने ब्यवस्था छ । राजस्व छली गरेमा जरिवाना र बक्यौता कर असुल, ठूलो कर छली भएमा जेल सजाय (६ महिना–५ वर्षसम्म) हुने छ । नक्कली प्रमाणपत्र प्रयोग गर्ने वा विद्यार्थीलाई ठगी गरेको अवस्थामा ठगी/कागजात फर्जीकरण अपराध अन्तरगत सजायँ हुनेछ । जसमा ३ महिना–५ वर्षसम्म कैद, जरिवाना र क्षतिपूर्ति तोकिनेछ । 
कन्सल्टेन्सी संचालनका मापदण्ड 
शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धी निर्देशिका,२०७३ र बागमती प्रदेश सरकारकारले जारी गरेको निर्देशिका २०७९ ले गरेको ब्यवस्था पनि काभ्रेपलाञ्चोक जिल्लामा खुलेका संस्थाहरुले पालना गरेका छैनन । नेपाली नागरिक बाहेक अरुलाई शैक्षिक परामर्शदाता, पूर्व तयारी कक्षाको प्रशिक्षक वा भाषा प्रशिक्षकको रुपमा काम गराउनु पर्ने भए सोको लागि मन्त्रालय वा मन्त्रालयले तोकेको निकायबाट अनुमति लिएको हुनु पर्ने, सेवा शुल्क पूर्ण रुपमा पारदर्शी हुनु पर्ने, सेवाग्राहीसँग लिखित सम्झौता गरेर मात्र कार्य थालनी गर्नु पर्ने, भ्रामक, अनिश्चित, अपुष्ट र आधारहीन विषयमा सल्लाह, सुझाव, परामर्श, प्रशिक्षण दिन र प्रकाशन एवम्प्रसारण नगर्ने, अनुमति पत्र प्रदान गर्ने निकायको अनुमति प्राप्त गरेर मात्र शैक्षिक परामर्श सेवा पूर्व तयारी कक्षा एवम् भाषागत कक्षा सञ्चालन गर्नुपर्ने, पूर्व तयारी कक्षा, भाषा शिक्षण एवं तालिम प्रदायक संस्थामा पर्याप्त मानवीय स्रोत लगायत भौतिक पूर्वाधार, शिक्षण सामग्री एवं पुस्तकालयको सुविधा हुनु पर्ने, संस्थाको स्थायी लेखा प्रमाण–पत्र, संस्था दर्ता प्रमाण–पत्र, संस्थाबाट प्रदान गरिने सेवा, कार्यप्रक्रिया र लागत समेत खुलाई सबैले स्पष्ट रुपमा देख्ने गरी कार्यालयमा राख्नुपर्ने उल्ल्ेख गरिएको छ ।
शैक्षिक परामर्श वा पूर्व तयारी कक्षा वा भाषा शिक्षण सञ्चालन गर्ने संस्थाले विद्यार्थी वा अभिभावकसंग निम्न विवरण खुलाईसम्झौता गर्नु पर्ने, कलेजको नाम, विषय र तह खुलेको हुनु पर्ने, के कति शुल्क वा वार्षिक खर्चआवश्यक पर्ने हो सो खुलेको हुनु पर्ने,विद्यार्थीहरूले पेश गर्नुपर्ने कागजातहरू, सेवा शुल्क एवम् थप अन्य केही भए सो समेत खुलाउनु पर्ने, शैक्षिक परामर्श, पूर्व तयारी कक्षा तथा भाषा शिक्षण दिने संस्थाले अफ्नो सेवासम्बन्धी प्रचार प्रसार गर्दा देहायका शर्तहरू पालना गर्नु पर्नेछ । भ्रामक, अनिश्चित, अपुष्ट र आधारहीन कुरा राखी प्रचार प्रसार,विज्ञापन गर्न नहुने, आफ्नो प्रचार सामग्रीमा संस्थाको दर्ता नं., अनुमति नं., सम्पर्क ठेगाना स्पष्ट खुलेको हुनुपर्ने, आपूmले परामर्श वा प्रशिक्षण प्रदान गर्ने देश, विश्वविद्यालय, कलेज,विषय, अवधि, उपाधि, लागत, मान्यता, उपाधि, स्तर निर्धारण आदि स्पष्ट खुलाउनु पर्ने, स्वदेशी तथा विदेशी अध्ययन संस्थाले अध्ययन सम्बन्धी शैक्षिक परामर्श प्रदान गर्न शैक्षिक मेला वा प्रदर्शनी आयोजना गर्दा मन्त्रालय वा मन्त्रालयले तोकेको निकायबाट पूर्व स्विकृती लिनु पर्ने छ । अधिकांशले मन्त्रालयबाट स्वीकृत नै लिएका छैनन । 
परामर्शदाताको योग्यता कम्तिमा स्नातक वा सो सरह उत्तीर्ण भएको, शिक्षा मन्त्रालय वा अन्तर्गतको निकायबाट, विश्वविद्यालय वा महाविद्यालय वा मान्यता प्राप्त तालिम प्रदायक संस्था वा कुटनीतिक निकायबाट, नेपाल सरकार, शिक्षा मन्त्रालयबाट तालिम सञ्चालन स्वीकृति प्राप्त शैक्षिक परामर्र्र्श संघबाट,तर शैक्षिक परामर्श सेवा सञ्चालन अनुमति माग गर्ने संस्थामा कार्यरत परामर्शदाताले उल्लिखित निकायबाट तालिम प्रमाणपत्र प्राप्त गरेको रहेनछ भने शैक्षिक परामर्श सेवा सञ्चालनको परामर्शदाताका रुपमा कम्तिमा तीन वर्षदेखि काम गरिआएको भनी शैक्षिक परामर्श संघ वा अनुमति माग गर्ने संस्थाले गरिदिएको सिफारिसलाई पहिलो पटकका लागि तालिमको प्रमाणपत्र सरह मानिने छ । शैक्षिक परामर्श सेवा सञ्चालन अनुमति माग गर्ने संस्था तीन वर्षभन्दा कम अवधि सञ्चालन भएको रहेछ भने त्यस्ता संस्थाले अन्य संस्थामा काम गरेको भए सो अनुभव समेत जोडी परामर्शदाताको सिफारिस गर्न सक्नेछ । निर्देशिका बमोजिम सेवा सञ्चालन स्वीकृति प्राप्त गरेका संस्थामा कार्यरत परामर्शदाताले कम्तिमा तीन वर्षदेखि काम गरिआएको भनी प्राप्त गरेको सिफारिसका आधारमा सञ्चालन स्वीकृति प्राप्त गरेको भए त्यसरी स्वीकृति प्राप्त गरेको दुई वर्ष भित्र तालिमको प्रमाण पत्र लिनुपर्ने छ ।
प्रशिक्षकको योग्यता कम्तिमा स्नातक वा सो सरह उत्तीर्ण वा सम्बन्धित भाषाको कम्तिमा एक वर्षे तालिम लिएको वा उक्त भाषाको कम्तिमा डिप्लोमा लेभलको अध्ययन पूरा गरेको, टोफेल, आइएलटिए, स्याट, जेएलपिटी, अध्यापनका लागि स्नातक तह उत्तीर्ण गरी अध्यापन गर्ने सम्बन्धित विषयमा न्यूनतम ७५ प्रतिशत प्राप्ताड्ढ प्राप्त गरेको, ग्रि, जिएमएटी,अध्यापनका लागि स्नातकोत्तर तह उत्तीर्ण गरी सम्बन्धित अध्यापन गर्ने विषयमा न्यूनतम ७५ प्रतिशत प्राप्ताड्ढ प्राप्त गरेको हुनु पर्छ । अधिकांश कन्सल्टेन्सीले यो मापदण्ड पुरा गरेका छैनन । प्रमाणपत्र एउटाको काम अर्काेलाई गराई रहेका छन् । 
जिल्लाको अवस्था
कानुनुले तोकेको मापदण्ड पुरा गरेका करिव डेढ दर्जन बाहेक जिल्लामा ९० भन्दा धेरै संस्थाले सामान्य भन्दा सामान्य मापदण्ड पनि पुरा गरेका छैनन । बनेपा, पाँचखाल, भकुण्डे र पनौती लगायतका स्थानमा च्याउसरी बग्रेल्ति कन्सल्टेसी खुलेका छन् । जसका कारण विद्यार्थीहरु विदेश पुगेर समेत ठगिएका छन् । राम्रो बुझाई र ज्ञान नलिन विदेश पुगेका विद्यार्थीहरु शारिरिक र मानसिक दुबै दबाबमा छन् । ‘शैक्षिक परामर्श गर्ने कम्पनीहरुको छाता संगठन इक्यानले सदस्यता प्राप्त गर्न आवश्यक योग्यता र समावेश गर्ने कागजातहरुका बारेमा स्पष्ट मापदण्ड तोकेको छ’–जिल्ला अध्यक्ष भुवन रायमाझीले भने–‘मापदण्ड नपुगेका कम्पनीहरु इक्यानको सदस्य हुन योग्य छैनन । सदस्यता पनि प्राप्त गर्न सक्दैनन ।’ मापदण्ड अनुसार २६ वटा सूची तोकिएको छ । जिल्लामा अनुगमन गरे पछि ४ वटा र त्यस भन्दा अघि १२ गरी १६ वटा कन्सल्टेन्सीले अनुमति पाएका छन् । 
बनेपा क्षेत्रमा अत्याधिक कन्सल्टेन्सीहरु संचालनमा छन् । खुल्ने क्रममा पनि छन् । खुल्दै पनि छन् । राजधानीमा अनुमति लिएकाहरुले बनेपा अनि आसपासका शहरमा शाखाका रुपमा कार्यालय संचालन गरिरहेका छन् ।