काभ्रेमा एकैदिन चार दुर्घटनाः एकको निधन, तीन घाईते
धुलिखेल/असोज १० गते शुक्रबार काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न स्थानमा चारवटा दुर्घटना भएका छन् । जसमा एक जनाको निधन भएको छ भने तीन जना घाईते भएका छन् ।
बनेपा नगरपालिका ७ चाँदनी चोकमा बा ८६ प २९७२ नम्वरको स्कुटी आफै अनियन्त्रित भई सडक डिभाईडरमा ठक्कर खाँदा बनेपा १३ भैसेपाटी निवासी ६४ बर्षिय हरिभक्त धौगोडा घाईते भएका छन् । बनेपामा रहेको शिरमेमोरियल अस्पतालमा उनको उपचार भईरहेको छ ।
त्यस्तै पाँचखाल नगरपालिका वडा नम्वर ९ पलाञ्चोक बजारमा बसको छतबाट लडेर सह चालक २३ बर्षिय सन्दिप बराल घाईते भएका छन् । मण्डनदेउपुर नगरपालिका घर भएका २३ बर्षिय बराल काठमाडौबाट कोशिदेखा तर्फ गईरहेको बा २ ख ६२५९ नम्वरको बसको छतबाट सामान खसाल्ने क्रममा खसेका थिए । उनको धुलिखेल अस्पतालमा उपचार भईरहेको छ । बस चालक प्रहरी नियन्त्रणमा रहेको छ ।
शुक्रबार नै बनेपा ९ भैसीगोठ नजिकै बनेपाबाट नाला घिमिरेगाउँ तर्फ जाँदै गरेको बा २ ख २३४२ नम्वरको बसको छतबाट बनेपा नगरपालिका वडा नम्वर ४ बस्ने २१ बर्षिय रोजेश जिसी खसेर घाईते भएका छन् । उनको बनेपा स्थित शिरमेमोरियल अस्पतालमा उपचार भईरहेको छ । बस र चालकलाई नियन्त्रणमा लिएको प्रहरीेले जानकारी दिएको छ ।
शुक्रबार नै पाँचखाल नगरपालिका वडा नम्वर ४ तामाघाट बजारमा बोहोरेदोभान जाने सडक खण्डको बाँया साईडमा रहेको सडक नालीमा पाँचखाल नगरपालिका ११ खरेलथोक बस्ने ४० बर्षिय भिम रिमाल मृत अवस्थामा फेला परेका थिए । आफन्तले उनको शव बुझि लगेको प्रहरीले जानकारी दिएको छ ।






