धुलिखेल नगरपालिकाले गठन गर्यो पर्यटन परिषद्, कार्यकारी उपाध्यक्षमा होटल संघ काभ्रेका अध्यक्ष प्रेमकण्ठ माकजु श्रेष्ठ
धुलिखेल/धुलिखेल नगरपालिकाले पर्यटकिय क्षेत्रको विकास गर्ने उदेश्यले पर्यटन परिषद् गठन गरेको छ । यस अघि नगरपालिकाले दलित, युवा, महिला, आदिवासी जनजाति र अपाङ्गता परिषद गठन गरी सोहि परिषद् मार्फत विभिन्न कार्यक्रम गर्दै आएको छ ।
धुलिखेल नगरपालिका गरिवी न्यूनीकरणमा नेपालकै अब्बल शहरका रुपमा चिनिएको छ । २०७४ सालसम्म १३ प्रतिशत गरिवी रहेको धुलिखेल नगरपालिकाले २०७९ सम्म ४ प्रतिशतमा आएको थियो । क्रमशः गरिवी न्यूनीकरणका लागि विभिन्न कार्यक्रमहरु आयोजना भईरहेका छन् । राजधानीबाट नजिक धुलिखेल नगरपालिकाले पर्यटकहरुको आर्कषण बढाउन विभिन्न प्याकेजका कार्यक्रमहरु गरिरहेको छ । सोहि अनुरुप धुलिखेल पर्यटन परिषद् गठन गरिएको नगर प्रमुख अशोक ब्याञ्जुले जानकारी दिए ।
परिषद्मा नगर प्रमुख अध्यक्ष रहने ब्यवस्था गरिएको छ । परिषद्को कार्यकारी उपाध्यक्ष धुलिखेल लज रिसोर्टका मेनेजिङ्ग डाईरेक्टर प्रेमकण्ठ माकजु श्रेष्ठ रहेका छन् ।
सदस्यहरुमा होटल सारथीका अध्यक्ष प्रल्हाद प्याकुरेल, माउन्ट प्रिन्सेसकी प्रमुख कार्यकारी अधिकृत ज्योत्सना सैंजु, हिमालय दृश्य रिसोर्टका मेनेजिङ्ग डाईरेक्टर श्याम महत, धुलिखेल माउन्टेन रिसोर्ट पाँचखाल १ की डाईरेक्टर लिना खड्का, पर्यटनसँग सम्वन्धित संस्थाका प्रतिनिधि दीर्घराज श्रेष्ठ, धुलिखेल नगरपालिका कार्यपालिका सदस्यद्धय गणेश आचार्य, रत्नकुमारी सेवा, प्रशासन शाखा प्रमुख गायत्रीरमण घिमिरे, सामाजिक विकास शाखा प्रमुख विदुर गौतम, इन्जिनियर रोजन ताम्राकार रहेका छन् । परिषद्को सदस्य सचिव प्रमुख प्रशासकीय अधिकृत रहने ब्यवस्था छ । धुलिखेलमा साना ठुला गरी ७० वटा भन्दा धेरै होटल संचालनमा छन् ।






