पुरातात्विक तथा धार्मिक महत्वका सामाग्री सहित बनेपा नगरपालिकामा १० करोड बराबरको क्षति

बनेपा/भदौ २४ गते बनेपा नगरपालिकामा भएको तोडफोड, लुटपाट र आगजनीका कारण नगरपालिकाको तीन तल्ले प्रशासनिक भवन, योजना शाखा र प्राविधिक शाखा रहेको भवन पूर्ण रुपमा क्षतिभएको नगरपालिकाले जानकारी दिएको छ । क्षति गराउन संलग्नहरुको पहिचान गरी कारवाहीका लागि नगरपािलकाले जिल्ला प्रहरी कार्यालय काभ्रेलाई लिखित जानकारी गराएको नगर प्रमुख शान्तिरत्न शाक्यले बताए । 
‘तीनतल्ले प्रशासनिक भवनको पहिलो तल्लामा रहेको सभाहल, प्रशासकीय अधिकृतको कार्यकक्ष, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा, प्रशासन शाखा, सहकारी तथा सामुदायिक विकास शाखा, राजश्व शाखा, जिन्सि शाखा, दर्ता चलानी शाखा, पुरुष र महिला शौचालय सहित कार्यकक्ष भित्र रहेका महत्वूर्ण अभिलेख तथा दस्तावेजहरु पुर्ण रुपमा नष्ट भएका छन’–नगर प्रमुख शाक्यले भने–‘दोश्रो तल्लामा रहेका नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्ष, गोप्य कक्ष, सचिवालय कक्ष, न्यायिक समितिको इजलाश कक्ष, कानून, शिक्षा, लेखा शाखा र दुईवटा शौचालय जलेर पूर्ण रुपमा नष्ट भएका छन् ।’ त्यस्तै तेश्रो तल्लामा रहेको आलेप, जिन्सी गोदाम कक्ष र लेखा शाखाका सबै अभिलेख रहेको कक्ष सहित सबै सामाग्रीहरु जलेर नष्ट भएका छन् । 
योजना र प्राविधिक शाखा रहेको भवन भित्र रहेका सबै शाखा तथा कार्यकक्ष र त्यहाँ रहेका सामाग्रीहरु जलेर पूर्ण रुपमा नष्ट भएको छ । सुरक्षा गार्ड र स्तनपान कक्ष रहेको भवन भित्र रहेका सबै शाखाहरु जलेल नष्ट भएका छन् । नगरपालिकाले मुख्य कार्यालय भवनको ५ करोड ४२ लाख ५४ हजार ४ सय ८७ रुपैया क्षति भएको प्राविधिक मुल्यांकन गरेको छ । २०४३ सालमा निर्माण भएको मुख्य भवनको हस कट्टि सहितको मुल्यांकन गरिएको नगरपालिकाले जानकारी दिएको छ । मिनि ट्रक ४९ लाख ५० हजार, ३ वटा ट्रयाक्टरको ४५ लाख, ट्रिपर १ वटाको २५ लाख ९० हजार, मोटरसाईकल १ वटा १ लाख ४२ हजार ९ सय, कार २ वटा २३ लाख, जिप १ वटा ५ लाख ८ हजार २ सय ६८, साईकल ५ वटा ५० हजार रुपैयाको जलेको बताएको छ । त्यस्तै डेक्सटप कम्प्युृटर सेट ४४ वटा, ल्यावटप १६ वटा, टयावलेट १४ वटा जलेको छ । २१ वटा मोवाईल, ५३ वटा प्रिन्टर, डिजिटल क्यामेरा ३ वटा, भिडियो क्यामेरा १ वटा, टेलिभिजन ३ वटा लगायत ६१ प्रकारका सामानको मुल्य ८ करोड २२ लाख ४९ हजार ५ सय ३१ रुपैया बराबरको क्षति भएको छ । 
त्यस्तै खर्च भएर जाने जिन्सी सामानहरु १४९ प्रकारका जलेर पूर्ण रुपमा नष्ट भएका छन् । प्रारम्भिक मुल्य १४ लाख ६० हजार निकालिएको छ । प्रकोप ब्यवस्थापन सम्वन्धीका सबै सामानहरु पूर्ण रुपमा नष्ट भएका छन् । बनेपा नगरपालिका शहरी तथा वातावरणीय सुधार परियोजनाका सामानहरु जलेर पुर्ण रुपमा नष्ट भएका छन् । पुरातात्विक सामानहरु समेत जलेर नष्ट भएको छ । पुरातात्विक सामानहरुमा पितलको कोपडा, धलौटका ४ वटा घण्टी, सिला भएको सुर्यनारायणको मुर्ति, ढुंगाको शिलापत्र, ढुंगाको मुखुन्डो, धलौतको सिनमु लगायतका सामाग्रीहरु चोरी भएका छन् । बनेपा नगरपालिका वडा नम्वर १० को कार्यालयमा ब्यवस्थापन गरिरहेको छ । त्यहिबाट सेवा प्रवाह गर्ने गरी नगरवासिहरुलाई आफुसँग भएका प्रमाणहरुलाई साथमा ल्याउन अनुरोध गरिरहेको छ ।