बनेपामा ट्रायल सेन्टर खोल्न कर्मचारीकै मिलेमत्तोमा नक्कली कागजात राखेर स्वीकृतिको तयारी, अख्तियारमा उजुरी
बनेपा/मापदण्ड नै पुरा नगरेको ट्रायल सेन्टरलाई अनुमतिको तयारी भए पछि बागमती प्रदेश सरकारको आलोचना शुरु भएको छ । बनेपामा यातायात ब्यवस्था कार्यालय शुरु भए देखि नै ट्रायल सेन्टर खोल्ने तयारी गरे पनि कर्मचारीहरुको चलखेलका कारण जग्गाको कित्ता नै नक्कली राखेर स्वीकृतिको तयारी गरिएको छ ।
बनेपा नगरपालिका वडा नम्वर ६ मा सुमन मोटर ड्राईभिङ्ग सेन्टरलाई ट्रायल सेन्टर खोल्न दिने मन्त्रालयले तयारी गरे पछि वडा कार्यालयले उक्त क्षेत्रमा निर्माण भएका संरचनाका बारेमा जानकारी लिएको थियो । सामान्यता नगरपालिका भित्र निर्माण गरिने स्थायी र अस्थायी संरचनाको नक्सा पास गरिनु पर्छ । वडा कार्यालयको सिफारिस अनिवार्य छ । सुमन मोटर ड्राईभिङ्ग सेन्टरले पहुँचका आधारमा वडाको सिफारिस विना नै नक्सा पास नगरी संरचना निर्माण गरेको छ ।
संरचना निर्माण भएको क्षेत्रमा पर्ने जग्गा सडक मापदण्ड विपरित छ । २४ फुटको सडक मापदण्ड रहनु पर्नेमा निर्माण गरिएको ड्राईभिङ्ग सेन्टरले सडक मापदण्ड समेत मिचेको छ । अर्काे महत्वपूर्ण विषय भनेको ड्राईभिङ्ग सेन्टर भित्र देखाईएको जग्गाको कित्ता नै अन्यत्रको राखिएको छ । अन्यत्रको कित्ता देखाएर सोहि स्थानको जग्गा भन्दै फर्जि कागजात तयार गरिएको छ । बनेपामा रहेको यातायात ब्यवस्था कार्यालय केहि कर्मचारीहरुको समेत लगानी रहेको उक्त ड्राईभिङ सेन्टरका पक्षमा खुल्न र लाग्ने गरी केहि साता अघि उक्त ड्राईभिङ्ग सेन्टर मार्फत विदेश भ्रमण समेत गराईएको छ । उक्त ड्राईभिङ्ग सेन्टरले पुरा गर्नु पर्ने पार्किङ्गको मापदण्ड समेत पुगेको छैन । तर पनि जिल्ला र मन्त्रालयका कर्मचारीहरु त्यहि ड्राईभिङ्ग सेन्टरलाई नै स्वीकृति दिनु पर्नेमा लविङ्ग गरिरहेका छन् ।
बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयले काभ्रेको बनेपा लगायत राजधानीको बालाजु र कोटेश्वरमा ट्रायल सेन्टर थप्ने तयारी गरेको छ । बागमती प्रदेशमा रहेका अन्य ट्रायल सेन्टर भने सेवाग्राहि नभएकै कारण बन्द हुने अवस्थामा पुगेका छन् । मापदण्ड विपरित रहेको ड्राईभिङ्ग सेन्टरलाई मात्रै स्वीकृत दिन मिल्ने गरी मापदण्ड तोकिए पछि अख्तियारमा उजुरी दर्ता भएको छ । नक्कली जग्गाको कित्ता, नक्का पास विनाका संरचना, वडाको समेत स्वीकृति नलिएको र पार्किङ्ग समेत नभएको सुमन मोटर ड्राईभिङ्ग सेन्टरलाई नै अनुमति दिनु पर्ने बाध्यता मन्त्रालयलाई किन प¥यो ?
काभ्रेको बनेपामा ट्रायल सेन्टर सञ्चालन गर्ने भनेर सूचना निकाले पनि पटक पटक भएको धेरै विवाद पछि रोकिएको थियो । मन्त्रालयले काभ्रेमा ३ वटा सिकाउने सेन्टरलाई अनुमति दिएको बताए । ३ वटा मध्ये राम्रो भएको ट्रायल सेन्टरले अनुमति पाउने भए पनि कागजात नै नक्कली गरेको ट्रायल सेन्टर सुमन ड्राईभिङ्गलाई दिने तयारी भएको छ ।
यातायात व्यवस्था सेवा कार्यालय काभे्रका प्रमुख राजु प्रसाद मैनालीले नयाँ ट्रायल सेन्टर सञ्चालनको लागि काम भइरहेको बताए । काभ्रेमा सुमन ड्राइभिङ सेन्टरलाई सेटिङमा ट्रायल सेन्टरको रूपमा अनुमति दिने तयारीका बारेमा सेटिङ नभएको बताए । कागजात नक्कली र अख्तियारको उजुरीका बारेमा आफु भन्दा माथिल्लो निकायले हेर्ने जानकारी दिए ।






