२०८१ असोज १०–१२ महाविपत्तिः जो अझै भेटिएनन्, ८४ ले गुमाए ज्यान

धुलिखेल/२०८१ असोज १०–१२ गतेको अविरल वर्षासँगै आएको बाढी पहिरोमा परी ८४ जनाले ज्यान गुमाएका छन् । तत्काल ७८ जनाको शव घटनास्थलमा फेला परेको थियो भने अझै ६ बेपत्ता छन् । धेरै दिनसम्म खोजी गर्दा पनि फेला नपरेपछि जिल्ला प्रहरी कार्यालय धुलिखेलले खोजी स्थगित गरेको थियो ।


बाढी पहिरोमा बेपत्ता हुनेमा तेमाल गाउँपालिका २ का ३ र ६ वर्षीया दुई बालिका प्रिया तामाङ र अप्रिया तामाङ छन् । उनीहरु पहिरोले घर पुरिँदा बेपत्ता भएका हुन् । त्यस्तै, चौँरीदेउराली गाउँपालिका ६ का ४० वर्षीया शान्ता रिमाल बेपत्ता छिन् । एक हप्तासम्म खोजी गर्दा उनी फेला नपरेको प्रहरीले जनाएको छ । धुलिखेल नगरपालिका–८ निवासी ४२ वर्षीया गीता श्रेष्ठ पनि अझै बेपत्ता रहेको जनाईएको छ । बेथान्चोक गाउँपालिका ४ की ३८ वर्षीया ज्ञानु परियार र खानीखोला गाउँपालिका ६ की ३७ वर्षीया देवीमाया सिंतान अझै बेपत्ता छन् । बेपत्ताको खोजतलास गरिए पनि फेला पर्न नसकेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ । बाढी पहिरोमा परी ७५ जना घाइते भएका थिए ।


बाढी पहिरोमा मृत्यु हुनेमा सबै भन्दा बढी पनौती नगरपालिकाका १८ जना छन् । रोशी गाउँपालिकाका १३, तेमालका १२, बेथान्चोकका १२, मण्डनदेउपुर र नमोबुद्ध नगरका सात÷सात तथा बनेपा र भुम्लुका तीन÷तीन जनाले ज्यान गुमाएका थिए । धुलिखेल नपाका दुई र चौँरीदेउरालीका एक जनाले बाढी पहिरोमा ज्यान गुमाए । काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमध्ये पाँचखाल, खानीखोला र महाभारतमा भने मानवीय क्षति हुन पाएन ।


उक्त समयमा बाढी पहिरोमा परी ३३ महिला, २९ पुरुष, नौ बालक र सात बालिकाको मृत्यु भएको हो । यसमध्ये २१ विद्यार्थी हुन् । सरकारद्वारा बाढी पहिरो र डुबानबाट अति प्रभावित स्थानीय तह घोषित गरेकामध्ये ‘विपद् सङ्कटग्रस्त क्षेत्र’ अन्तर्गत रोशी, तेमाल, बेथानचोक, चौँरीदेउराली र महाभारत गाउँपालिका तथा पनौती, नमोबुद्ध, मण्डनदेउपुर नगरपालिका थिए । त्यो अनुसार थप रकम प्राप्त भएन ।


सरकारले बाढी पहिरोमा मृतक परिवारलाई तत्काल उपलब्ध गराउने दुई लाख जिल्ला प्रशासन कार्यालय मार्फत प्रदान गरेको थियो । घाईतेको निशुल्क उपचार गरेको थियो । बेपत्ता भएका ब्यक्तिका आफन्तलाई मृतक सरह नै राहत उपलब्ध गराएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।