तोडफोड र आगजनी गर्नेहरूलाई कारबाही अघि नबढाउनू: गृहमन्त्री
काठमाडौं / अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले गत भदौ २३ र २४ गते भएको ‘जेन-जी आन्दोलन’को बहानामा सरकारी सम्पत्ति तोडफोड, आगजनी र लुटपाटमा संलग्नलाई कारबाही नगर्न निर्देशन दिएका छन् ।
खासगरी सरकारी संरचना तोडफोड र आगजनीमा संलग्नहरूलाई प्रहरीले कानुनी दायरमा ल्याइरहेका बेला गृहमन्त्री अर्यालले ठाडो हस्तक्षेपसहित कानुनी कारबाही नगर्न निर्देशन दिएका हुन्।
प्रहरीले पछिल्लो समय जेन-जीका नाममा प्रहरी चौकी जलाउने, हतियार लुटपाट गर्ने र आगजनीमा संलग्नहरूलाई कानुनी दायरामा ल्याइरहेका बेला गृहमन्त्रीले हस्तक्षेप गरेर रोक्न निर्देशन दिएका हुन् ।
जेन-जीका नाममा गत भदौ २३ र २४ गते संघीय राजधानी काठमाडौंसहित देशभर हिंसात्मक प्रदर्शनका क्रममा सयौँ सरकरी कार्यालय जलाइएका थिए । अर्कातिर नेपाल प्रहरीका मात्रै तीन हजार बढी थान हतियार लुटिएको थियो । यस्तोमा गृहमन्त्री अर्यालले सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवन र प्रधानमन्त्रीको सरकारी निवाससहितमा आगो लगाउने र तोडफोड गर्नेहरूलाई उन्मुक्ति दिने गरी प्रहरीको अनुसन्धानमा हस्तक्षेप गरेका हुन् ।
गृहमन्त्री अर्यालले प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङलाई जेन-जी आन्दोलनका क्रममा भएका कुनै पनि घटनामा संलग्नलाई कारबाही नगर्न निर्देशन दिएसँगै कानुनी शासनमाथि नै प्रश्न उठेको छ।
जेन-जीले तोडफोड नगर्ने, बोटविरुवा नभाँच्ने र कुनै झैझडप नगर्ने उद्घोषसहित थालेको आन्दोलनमा व्यापक घुसपैठ हुँदा राज्य व्यवस्थालाई नै थला पार्ने गरी आगजनी र तोडफोड भएको थियो ।






