प्रधानमन्त्री सुशीला कार्कीद्वारा तीन सल्लाहकार नियुक्त
काठमाडौं / प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो स्वकीय सचिवालयमा तीन सल्लाहकारहरूको नियुक्ति गरेकी छन्।
प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा अजयभद्र खनाल नियुक्त भएका छन्। खनाल ‘द हिमालयन टाइम्स’ दैनिक पत्रिकाका पूर्वसम्पादक हुन् र सञ्चारक्षेत्रमा लामो अनुभव बोकेका व्यक्ति मानिन्छन्।
प्रधानमन्त्रीका सल्लाहकार तथा प्रमुख स्वकीय सचिवमा आदर्शकुमार श्रेष्ठ नियुक्त भएका छन्। समाजशास्त्रमा स्नातकोत्तर गरेका श्रेष्ठ कानुन संकायमा स्नातकोत्तर अध्ययन गरिरहेका छन्। उनी पूर्वप्रधानन्यायाधीशहरू रामकुमार साह, कल्याण श्रेष्ठ र सुशीला कार्कीका निजी सहायकको रूपमा काम गरिसकेका अनुभवी व्यक्ति हुन्।
त्यस्तै, जनसम्पर्क सल्लाहकारमा गोविन्दनारायण तिमिल्सिना नियुक्त भएका छन्। तिमिल्सिना ‘थापा फाउन्डेसन’का अध्यक्ष हुन्, जसलाई विवेकशील नेपाल पार्टीका संस्थापक उज्ज्वल थापाको सम्झनामा स्थापना गरिएको हो।






