यी तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं / जल तथा मौसम विज्ञान विभागले आज देशभर मनसुनी र स्थानीय वायुको प्रभाव कायम रहने जनाएको छ । देशका सबै प्रदेशमा बिहीबार साधारणतया बदली रहनेछ भने केही प्रदेशमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले बताएको छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू-भागका साथै मधेस प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। विशेषगरी, कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत चेतावनी दिइएको छ। अन्य प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानहरूमा पनि वर्षा हुन सक्नेछ।

राति पनि देशभर बदली कायम रहनेछ। कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ। बाँकी प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानहरूमा पनि वर्षा हुनेछ। राति कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको विभागले जानकारी दिएको छ।

आम नागरिकलाई विशेषगरी पहाडी क्षेत्रमा यात्रा गर्दा र नदी किनारामा बस्ने बासिन्दाहरूलाई सचेत रहन आग्रह गरिएको छ। भारी वर्षाका कारण बाढी र पहिरोको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले सुझाएको छ ।