लोकप्रियतावाद, जेन–जी र अन्तरिम सरकार
झट्ट सुन्दा लोकप्रियतावादमा कुनै समस्या देखिदैन । लोकलाई प्रिय लाग्ने कुरा कसरी गलत हुन सक्छ भन्ने लाग्छ । हुनत, जतिबेला र जुनसुकै परिस्थितिमा लोकप्रियतावाद गलतै हुन्छ भन्ने होइन । तर यसका आफ्नै समस्या छन् । यसको प्रमुख समस्या भनेकोे यो कुनै राजनीतिक सिद्धान्त होईन । यसको मतलब यसले समाजलाई दीर्घकालीन उद्देश्य दिन सक्दैन । बरु यो सत्ता केन्द्रित विचार हो । यसले समाजलाई नेतृत्व दिनेभन्दा समाजका असन्तुष्टिलाई प्रयोग गरेर सत्तामा जाने ध्याउन्न गर्दछ ।
नेपालको सन्दर्भमा पछिल्लो चुनाव पछि पपुलिज्म् वा लोकप्रियतावादका कुरा अलि बढी नै हुन थालेका छन् । खास गरी रास्वपाको उदय पछि यसबारे पत्रपत्रिकामा धेरै लेख लेखिए । सामाजिक सञ्जालमा पनि यसका विषयमा व्यापक कुरा भए । भैरहेकै छन् । वास्तवमा लोकप्रियतावाद नेपाली लोकतन्त्रका लागि एक बलियो चुनौति बनेर आएको छ । त्यसकारण यस विषयमा छलफल चलाउनु आवश्यक छ ।
युरोप–अमेरिकामा भने लोकप्रियतावादका विषयमा धेरै पहिलादेखि कुरा हुँदै आएको छ । लोकप्रियतावाद आ–आफ्नो कालखण्डमा आ–आफ्नै मोडलको हुने हुँदा समय–सन्दर्भ अनुसार यसले रुप बदलेर आउने गर्दछ । यद्यपि, यसका केही विश्वव्यापी विशेषता पनि छन् ।
खासमा लोकप्रियतावादको कुनै विचार हुँदैन । यसले भीडले जे भन्छ त्यहि गर्छ । लोकप्रियतावादी राजनीतिले आफुले विचार र नेतृत्व दिँदैन । समाजलाई बुझाउने, परिवर्तन गर्ने र नयाँ मार्ग देखाउने काम यसले सोच्दैन । बहुसंख्यकले जे भन्छ, प्रियतावादी नेताले त्यहि गर्छ । प्रियतावादले समाजलाई नेतृत्व दिँदैन भन्नुको मतलब के हो भने यसले धेरैले जे भन्छन् त्यहि गर्छ । नीति बनाउने, न्याय सम्पादन गर्ने, विकास निर्माण तथा अवसरको सिर्जना गर्नेजस्ता कुरामा यसको ध्यान कसरी बहुसंख्यक मानिसलाई खुसी बनाउने भन्नेमा हुन्छ । यसले बुझ्ने लोकतन्त्र भनेको सत्तामा पुग्नका लागि बहुसंख्यकलाई खुसी बनाउने हो ।
कहिलेकाहिं कुनै राजनीतिक विचार छ भने त्यससँग जोडिएर पनि लोकप्रियतावादले टाउको उठाउन सक्छ । जस्तो समाजवाद एक राजनीतिक विचार हो । यसले सबै नागरिकलाई समान अवसर प्रदान गर्नका लागि राज्यले भूमिका खेल्नु पर्दछ भन्छ । समाजवादमा लोकप्रियतावाद मिसियो भने राज्यलाई चाहिने भन्दा बढी अधिकार दिने भन्ने कुरा आउन सक्छ । जस्तो समाजवादी लोकप्रियतावादले धनीको सम्पत्ति खोसेर गरिबलाई बाँड्नु पर्दछ भन्न सक्दछ । त्यस्तै गरी उदारवाद कमजोर हुँदै जाँदा पुँजीवाद पनि एक राजनीतिक विचारका रुपमा दरिएको छ । पुँजीवादी विचार मान्ने लोकप्रियतावादीले बजारले सबैका लागि समान अवसर प्रदान गर्छ, बजारको नियमन र नियन्त्रण गलत हो, सबै मानिसले खुला प्रतिस्पर्धा गर्न पाउनु पर्दछ भन्न सक्छ । यसलाई लिब्रटरियानिज्म् भन्ने गरिन्छ । यो पुँजीवादको लोकप्रियतावादी विचार हो । न त यसले भने जस्तो सम्भव छ न छाडा छोडिएको बजारले सबैको हित गर्छ । तर यो सुन्दा चाहिँ प्रिय सुन्निछ ।
लोकप्रियतावादको अर्को विशेषता भनेको व्यक्ति केन्द्रित हुनु हो । लोकप्रियतावादी राजनीतिलाई अगाडि बढाउने निश्चित नेता हुन्छ । उसले राजनीतिलाई आफु केन्द्रित बनाउँछ । सबै राजनीतिक समस्याको समाधान उसैले गर्न सक्ने जस्तो गरी प्रस्तुत गर्दछ । उसको दल वा समूहमा ऊ नै सर्बैसर्बा हुन्छ । उसको निर्णय अरु सबै सदस्यले अनुसरण गर्ने गर्दछन् । उसको विरुद्धमा कसैले आवाज उठाउन सक्दैन । बरु अन्य सदस्यहरुको राजनीति पनि उसको नाम वा ईमेजमा निर्भर हुने हुँदा फरक विचार राख्ने कुरा हुँदैन । बरु सदस्यहरुबीच उसलाई प्रिय लाग्ने कुरा गरेर र भनेर नजिक हुने होड चल्छ । यदि प्रियतावादी नेता कमजारे भयो भने सबै सदस्यहरुले डुब्न लागेको डुंगाबाट हाम फाले झैं उक्त समूहलाई छोड्न थाल्ने गर्दछन् ।
लोकप्रियतावादले राजनीतिमा भावनाको प्रयोग गर्दछ । ती भावना सामान्य मानवीय रिस, राग, लोभ, गर्व तथा पहिचानका कुरा पनि हुन सक्छन् । ती धर्म, संस्कृति, भाषा तथा परम्परा जस्ता कुराहरु पनि हुन सक्छन् । राष्ट्रियता प्रियतावादी नेताको सबैभन्दा प्रिय मुद्दा हो । तर्क र विज्ञानलाई नजरअन्दाज गरेर भावनामा खेल्नका लागि राष्ट्रियताले मनग्य स्थान दिने हुँदा पनि लोकप्रियतावादी नेता खुब राष्ट्रवादी हुने प्रयास गर्दछ । यसरी राजनीतिमा भावनाको व्यापक प्रयोग हुँदै जाँदा उक्त नेताले जुनसुकै बेला पनि एक समुदायलाई अर्को समुदायका विरुद्धमा प्रयोग गर्न सक्छ ।
लोकप्रियतावादी नेता आलोचनाबाट बच्न खोज्छ । विवाद हुन सक्ने विषयमा अरु नै बोलिदिए हुन्थ्यो जस्तो गर्छ । विवादित विषयलाई समाधान गर्नु पर्ने राजनीतिको जिम्मेवारी हो तर उक्त नेताले आफ्नो भोट घट्ने वा आलोचना हुने देख्यो भने बोल्नै खोज्दैन । उसँग समाधान गर्ने ज्ञान र विवादमा सामेल भएर त्यसलाई निश्चित दिशा दिने साहस हुँदैन । विवादमा परिनै हाल्यो भने विषयान्तर गर्न प्रयास गर्छ । तर जब प्रिय कुरा गर्ने अवसर पाउँछ अरुभन्दा चर्कोचर्को स्वरमा बोल्ने उसको स्वभाव हुन्छ । यस्तो बेलामा हल्लाखल्ला गरेर आपूmलाई जनताको आँखामा प्रिय देखाउने प्रयास गर्दछ ।
लोकप्रियतावादको आकर्षण जेन–जी पुस्तामा मात्र सीमित नभई समग्र नेपाली समाज, विशेषतः युवा, सामाजिक सञ्जाल, आप्रवासी नेपाली समुदाय र अन्तर्राष्ट्रिय निकायहरूमा पटक–पटक प्रकट भएको छ । आन्दोलनपछि पनि विभिन्न शैलीमा ‘लोकप्रियतावादको उग्र रूप’ फेरि उदाएको देखिन्छ ।
जेन–जी आन्दोलनपछि विकसित भइरहेको घटनाक्रमकै सन्दर्भमा ‘अनधिकृत पत्र’ देखाएर जेल ब्रेक गरेका रवि लामिछाने, फेसबुक स्टाटसमा मात्र पदार्पण हुने र ‘सुशीला कार्कीलाई मेरो समर्थन छ तर, संसद विघटन भएको हुनुपर्छ’ भनेर एकसुरे रटान लगाएका बालेन शाहदेखि ‘विदेशीले देश कब्जा गर्न सक्ने’ भन्दै धरानदेखि काठमाडौं हतारिँदै सेना प्रमुखलाई भेट्न पुगेका हर्क साम्पाङसम्म सबैमा फरक–फरक खालको लोकप्रियतावादको हिस्सा देखिन्छ ।
यति मात्र होइन, ‘आवश्यकता सिद्धान्तको’ बलमा दुर्लभ जेन–जी आन्दोलनबाट प्राप्त दुर्लभ ‘राष्ट्र निर्माण गर्ने’ म्यान्डेट पाएको सुशीला कार्की सरकार स्वयंपनि लोकप्रियतावादबाट मुक्त देखिँदैन । डिजिटल स्पेसमा चर्का प्रश्न उराल्ने पत्रकार जगदिश खरेलदेखि, ‘क्याबिनेटमै सुत्छु’ भनेर हाइलाइट एवं सन्त छवि निर्माण गरेका महावीर पुन, ‘ऊर्जाका नायक’का रूपमा मिथकीकरण गरिएका कुलमान घिसिङसम्म ‘लोकप्रियतावाद’बाट अछुतो छैनन् ।
पछिल्लो चरणमा त परराष्ट्र मन्त्रालय र पर्यटन मन्त्रालयसँग जोडिएर नाम आएका राजेश हमाल र क्याप्टेन विजय थापावरपर भइरहेको डिजिटल बहसमा पनि लोकप्रियतावादकै छाया देखिन्छ । यी व्यक्तिहरूको नियत वा इमानदारीमाथि ठोस प्रश्न उठाउने ठाउँ नभए पनि आन्दोलनको उपलब्धिलाई संस्थागत गर्ने सवालमा जेन९जी पुस्ता र अन्तरिम सरकार पुनः लोकप्रियतावादको चक्रमा फसेको प्रस्ट हुन्छ । यसै कारण निकोलस भुसालजस्ता घुसपैठहरू तुच्छ लोकप्रियतावादमा उत्रिन भ्याइसकेका छन् ।
‘दोस्रो मदन भण्डारी’ भनेर प्रचार गराइएका प्रवेश दाहाल वा टिकटकमा सर्वाधिक हिट ‘मिराज ढुंगाना’मा पनि लोकप्रियतावादको अंश देखिन थालेको छ । परिणामतः ओलीदेखि नयाँ पुस्ताका जेन–जी नेतासम्मलाई लोकप्रियतावादको भूतले छोड्न नसकेको देखाउँदै छ । यसले अन्तः नागरिक चेतना र राजनीतिक शिक्षालाई धुलिसात पारिदिने जोखिम निम्त्याउँदै छ ।
जेन–जी आन्दोलनमार्फत सचेत युवापुस्ताले ओली र ओलीनिकटस्थ चरित्रहरूको ‘सत्तावादी लोकप्रियतावाद’लाई प्रश्न उठाए पनि ‘सत्तावादी लोकप्रियतावाद’कै डिजिटल शैली (मिम, भाइरल स्पिच, ड्रामेटिक भिडियो) अन्तरिम सरकार, जेन–जी अभियन्ता, मिडिया वा भनौँ डिजिटल संस्कृतिकै एक हिस्सा बन्न छोडेको छैन । बरु अझ बढिरहेजस्तो देखिन्छ ।
यस क्रममा टिकटक र फेसबुकको एल्गोरिदम कसरी भाइरल (फ्रेन्ड्ली) लोकप्रियतावादी पात्र जन्माउँछ भन्ने विश्लेषण जेन–जी र अन्तरिम सरकारले गर्न भ्याएका छैनन् । जेन–जी र आमसञ्चार तुलनात्मक रूपमा बढी समर्थन गरिरहेका आमसञ्चार, नागरिक र डिजिटल स्पेसमा यस्तो लोकप्रियतावादले दीर्घकालीन नीति, संस्थागत सुधार वा लोकतान्त्रिक संरचनामा कस्तो असर गर्छ भन्ने चर्चासमेत सुरु भइसकेको छैन । बरु उनीहरू पनि ‘लोकप्रियतावाद र भाइरल फ्रेन्ड्ली डिजिटल संरचना’ वरपर रहिबसेका छन् ।
जेन–जी आन्दोलनले शैलीलाई जित्यो, तर संरचनालाई जित्न सकेको छैन । त्यसैले, ‘प्रत्यक्ष कार्यकारी’ माग गर्ने जेन–जी नेता र नागरिक अनि ‘त्यो यो ६ महिनामा सम्भव छैन’ भनिसकेको अन्तरिम सरकार अझै पनि लोकप्रियतावादको जालबाट बाहिर निस्किन सकेका छैनन् । मिडिया र डिजिटल प्लेटफर्महरूले भाइरल सामग्री र खपतयोग्य लोकप्रिय व्यक्ति र व्यक्तिकेन्द्रित विचारलाई प्राथमिकता दिइरहेका छन्, जसका कारण नीति र विचारभन्दा व्यक्ति र शैली फस्टाइरहेका छन् । यस कारण जेन–जी आन्दोलनपछि छिटफुट भइरहेका संरचनात्मक बहसहरू ‘सीमान्तकृत’ हुँदै छन् । परिणामतः मानिसहरू अझै पनि ‘बालेन शाहले दसैँको टीकाको दिन पार्टी खोल्ने घोषणा गर्छ कि’ भन्ने लोकप्रियतावादको स्वप्नदशाबाट मुक्त भइसकेका छैनन् । यसो हुँदा लोकप्रियतावादले संस्थागत राजनीति र नीतिगत निरन्तरतालाई कमजोर बनिरहने हो कि भन्ने संशय बढिरहेको छ ।






