धार्मिक सहिष्णुतामा कालो दाग : समाज बिखण्डन तर्फको संकेत
नेपाल विविधता र सहअस्तित्वको सुन्दर बगैंचा हो। बहु जाति, बहु भाषा र बहु धर्मले सजिएको हाम्रो समाज सहिष्णुता र आपसी सम्मानको डोरीमा गाँसिएको छ। यही विशेषता हाम्रो राष्ट्रिय पहिचान हो। तर, कहिलेकाहीँ केही असंयमित कदम र असंवेदनशील आचरणले यही पहिचानमा कालो दाग थोपर्न खोज्छन्।
हालै मङ्गोल नेसनल अर्गनाइजेसनले आयोजना गरेको एक भेलामा विजयादशमीजस्तो हिन्दू धर्मावलम्बीहरूको महान पर्वमा कालो टिका लगाएर प्रस्तुत हुनु साधारण घटना मात्र थिएन। यो केवल व्यक्तिगत आस्था वा फरकपनको प्रदर्शन नभई सङ्गठित रुपमा गरिएको कदम थियो, जसले सम्पूर्ण मङ्गोल समुदायलाई अनावश्यक विवादमा तानेर समाजमै असहिष्णुताको चिह्न कोर्न खोज्यो।
टिका भनेको केवल रङ होइन—त्यो आस्था हो, संस्कार हो, र नेपाली समाजलाई एकतामा बाँध्ने साझा प्रतीक हो। यसलाई अपमानित गर्ने, वा उपहास गर्ने व्यवहारले अरूलाई मात्र होइन, आफ्नै संस्कृति र अस्तित्वलाई पनि कलङ्कित बनाउँछ। विशेषतः २१औँ शताब्दीमा, जब सहिष्णुता, सहअस्तित्व र परस्पर सम्मानलाई उच्चतम मूल्य मानिनुपर्ने हो, त्यस्तो संकीर्ण र उत्तेजक कदमले हाम्रो सभ्यतालाई चुनौतीमा पार्छ र समाजलाई विभाजनतर्फ धकेल्छ।
नेपाल बहुधार्मिक र बहुसांस्कृतिक समाज हो। यहाँ प्रत्येक समुदायलाई आफ्नो संस्कार र परम्परा मनाउने स्वतन्त्रता छ। तर स्वतन्त्रताको नाममा अरूको आस्था र विश्वासमाथि कुठाराघात गर्ने अधिकार कुनै समुदाय वा संगठनलाई दिइएको छैन। अरूको धर्मलाई अपमान गरेर आफ्नो धर्मको गरिमा बढ्दैन—यो सत्य हरेक सचेत नागरिकले आत्मसात गर्न जरुरी छ।
कालो टिकाको आडमा गरिएको यस्तो आचरणले धार्मिक द्वन्दलाई निम्त्याउन सक्छ, जातीय घृणा फैलाउन सक्छ, र समाजलाई हिंसा तथा अराजकतातर्फ उकास्न सक्छ। फलानो जातले यस्तो गर्यो, यस्को धर्म यस्तो हो भन्ने मानसिकता फैलाउने कार्य खतरनाक खेल हो, जसको अन्त्य कहिल्यै प्रगतिशील समाजमा हुन सक्दैन।
त्यसैले, आजको आवश्यकता भनेको आपसी सहिष्णुता, परस्पर सम्मान र सहअस्तित्वलाई जीवनशैलीको आधार बनाउन सक्नु हो। कसैलाई तल झारेर आफू माथि पुगिँदैन, अरूलाई अपमान गरेर आफू सम्मानित हुँदैन। जिम्मेवार नागरिकको पहिचान भनेकै मेलमिलाप, अमनचयन र शान्तिपूर्ण वातावरण निर्माण गर्ने प्रयासमा देखिनु पर्छ।
हामी सबैले यसैमा जोड दिनुपर्छ—समाजलाई बिखण्डन होइन, एकताको बाटोमा अगाडि बढाउने। यही बाटोले मात्र हामीले नयाँ पुस्तालाई सुरक्षित, सभ्य र उत्कृष्ट वातावरण हस्तान्तरण गर्न सक्छौं।
दुर्भाग्यवश, यस्तो कदमले विजयादशमी जस्तो महत्त्वपूर्ण पर्वलाई श्रद्धा गर्ने कैयौं मङ्गोल समुदायका सदस्यहरूलाई पनि असहज र अपमानित बनाएको छ। धार्मिक सहिष्णुता नेपालको मौलिक पहिचान हो, त्यसलाई क्षति पुर्याउने कुनै पनि प्रयास केवल निन्दनीय मात्र होइन, आत्मघाती पनि हो।





