विद्यार्थीको लागि दशैँ–तिहार विदा र त्यसको सदुपयोग

by | अशोज १७, २०८२

विद्यार्थीको लागि दशैँ–तिहार विदा र त्यसको सदुपयोग

दशैँ र तिहार पारिवारिक पर्व हुन् । पारिवारिक पुनर्मिलन, भेटघाट र खानपिन मुख्य पक्ष हुन्, यी बिदाका । त्यसबाहेक मनोरञ्जनका लागी पिंग खेल्ने, घुम्ने, भैलो दिउसी खेल्ने, हेर्ने वा फिलिम हेर्ने यस समय गरिने मुख्य क्रियाकलापहरु हुन् । त्यसबाहेक मन परेका र अरु बेला समय नपुगेर वा नजुरेर पढ्न नभ्याएका वा नसकेका पुस्तक पढ्ने मौकापनि हो यो ।

भनिन्छ नि कि पढेर जानिन्छ कि परेर ! तर परेर जान्दा धेरै कुरा बिग्रीसकेको हुन्छ । पुस्तक असल मित्र, सुख र दुःखको साथी हो । जीवन र समाज लाई बुझ्न होस् या बदलिदो आर्थिक सामाजिक व्यवस्थालाई नियाल्न पुस्तकले मद्दत पु¥याउँछ । त्यसैले पुस्तक ज्ञानको भण्डार । जीवन जिउने आधार देखि जीवन जिउन सिकाउने पे्ररक पनि हो । यस सन्दर्भमा मार्क ह्याडनको एउटा भनाई छ– ‘पढ्नु भनेको कुराकानी गर्नुजस्तै हो । सबै पुस्तकहरुले कुरा गर्छन् तर उत्कृष्ट पुस्तकले सुन्छ पनि ।’

चर्चित कर्नाली ब्लुज र फिरफिरे उपन्यासका लेखक बुद्धि सागरले भन्ने गरेका छन्– किताब यस्तो होस् ः पढ्ने मान्छेलाई लागोस् एउटा छोटो समयको साथी, सबैभन्दा लामो र मिठो सम्झना दिएर गयो ।
यसअर्थ पनी निरन्तरजसो पढ्ने लत लागेकाहरुले भन्ने गरेका छन् कि मेरो सबैभन्दा असल साथी मेरो पुस्तक हो । पाठ्यक्रम मार्फत पढ्ने नभई पत्रपत्रिका, तथा विभिन्न साहित्यिक तथा विज्ञान, दर्शन आदि किताब पढ्नाले विचारको उत्पत्ति हुन्छ, सृजनात्मक क्षमता बढ्छ र संसारलाई हेर्ने दृष्टिकोण समेत बदलिन सक्छ । त्यसैले यो पढाई सिकाइ तथा सृजनाको माध्यम हो ।

तर पछिल्लो समयमा केटाकेटी, युवा र वृद्ध गरि तीनै वर्गका पुस्ताहरुले मोबाइल, कम्प्युटर र इन्टरनेटका कारण पढ्ने बानी घटाउँदै लगिरहेका छन् । इन्टरनेटभित्रका राम्रा र उपयोगी सामग्रीहरु पढ्नुभन्दा पनि सामाजिक सञ्जालमा दिन बानी बढ्दै गएको छ । कतिपयलाई त यसैको कुलत पनि भईसक्यो । युट्युवमा निरर्थक भिडियो हेरेर समय र जीवन व्यर्थ खेर फाल्नेको संख्या लाखौँमा होइन करोडौंमा छन् । र यो बढीरहेको छ ।
अध्ययन, चिन्तन र ध्यान मानिसका लागि महत्वपूर्ण पक्ष हो । मानिसले निरन्तर पढ्नुपर्छ । जसले जति बढि अध्ययन ग¥यो, उ त्यति नै माथि गएका उदाहरण हाम्रो समाजमा प्रशस्त छन् । तपाईंले जति पनि सम्पन्न मानिस देख्नु भएको छ, उनीहरु पढ्छन् । सफल मानिसको सफलताको रहस्य नै अध्ययन हो ।

यस सन्दर्भमा विश्वप्रशिद्ध साहित्यकार थोरोले पनि भनेका छन्, ‘पुरानो कोट लगाउ नयाँ पुस्तक किन ।’ यसको अर्थ च्यातेको लुगा लगाएर हिँड भन्न खोजेको होइन तर आफूले कमाएको केही रकम पुस्तकको लागि छुट्याउ भन्न खोजेको हो ।
हिन्दू नेपालीको महान् पर्व दशैँको माहोलले छपक्कै छोपेको छ । अरु बेला व्यस्थ दैनिकीले गर्दा गाउँ फर्किन नपाएका धेरै नेपाली गाउँ फकिने क्रम पनि जारी छ । गाउँमा दशैँ मनाउनेहरु गफगाफमा तल्लीन छन् । देशको ७७ जिल्लामा नै दशैँको रौनक छ । केटाकेटीहरु पनि आफ्नो बाबाआमालाई नयाँ ठाउँमा घुम्न वा लुगा, खेलौनाको डिमाण्ड गरिरहेका छन् ।

लामो बिदामा कोर्सबाहेकका किताबहरू धित मर्ने गरी पढ्न पाइने समय । यो बिदामा के कुन किताब पढ्ने भइराखेको छ भने हामीले केहि प्रसिद्ध किताबहरु लोकपथ डटकमले थाहा पाएको छ । जुनबाट तपाईले जीवनलाई थोरै भएपनि बुझ्न सक्नुहुन्छ ।
दशैं तिहार लगायतका विदाहरु आउँदा सबैभन्दा रमाइलो विद्यार्थीलाई लाग्ने गर्दछ । अझै विद्यालय तहमा पढ्ने विद्यार्थीको लागि दशैं तिहारको विदाको महत्व झनै बेग्लै छ । धेरैजसो विद्यालयले दशैं, तिहार र छठ पर्वको एकैसाथ १ महिने विदा दिने गरेका छन् भने केहिले दशैं पछि लगत्तै विद्यालय सञ्चालनमा ल्याउने गर्दछन् ।

यस विदाको विचमा विद्यार्थी रमाइलो गर्ने, खेल्ने, घुम्ने इत्यादि क्रियाकलापहरु गर्दै बिताउन खोज्छन् भने, अभिभावकहरु उनीहरुको पढाईमा असर पर्ला भन्ने कुराको चिन्तामा बिताउँने गर्दछन् । बालबालिकाले यो विदामा के गर्ने, कसरी सदुपयोग गर्ने, अभिभावकले कस्तो व्यवहार गर्ने भन्ने जस्ता कुरामा सबैको भिन्न विचार हुन्छ । दशैं तथा तिहार विदालाई कसरी सदुपयोग गर्ने भन्ने विषयमा विभिन्न विद्धत वर्गले विभिन्न ढंगले विश्लेषण गर्ने गरेको पाइन्छ ।
दशैं र तिहारको विदालाई विद्यार्थीले धेरै तरिकाबाट उपयोग गर्न सक्छन् । साना विद्यार्थीहरुले विभिन्न शैक्षिक ट्रेनिङहरु गर्न सकछन् । जस्तै चित्रकला, हस्तलेखा इत्यादि कुराहरु सिक्न सक्छन् । त्यस्तै अलि ठूला तहका विद्यिार्थीले बोल्ने शक्ति बढ्ने तालिम तथा विभिन्न पुस्तकालयहरुबाट किताबहरु ल्याएर पढ्न सक्छन् । उनीहरुले छोटो समयमा नै ज्ञान आर्जन हुने सिप तथा तालिमहरु सिक्नुपर्छ । आफुले हालसम्म पढेका विषयवस्तुलाई रिभिजन गरेर ज्ञान हासिल गर्न सक्छन् । यसबाहेक उनीहरुले विभिन्न व्यवहारिक गतिविधिले पनि ज्ञान हासिल गर्न सक्छन् ।

जस्तै दशैं हाम्रो प्रमुख चाड हो । विद्यार्थीहरुले यसलाई मनाउँदै गर्दा यसको महत्व, विशेषता, राम्रो पक्षहरुबारे बुझ्न सक्छन् । काठमाडौं बाहिर घर भएकाहरु आफ्नो घर जान्छन् । त्यहाँ उनीहरुको गाउँको कला, गित, नृत्य, संस्कृति र परम्परा बारे बुझ्न सक्छन् । विद्यार्थीहरुले विदालाई गलत तरिकाले प्रयोग नगरुन भनेर विद्यालयले गृहकार्य दिएको हुन्छ । त्यसैले अभिभावकहरुले आफ्नो बच्चाहरुमा पढाईको दवाब पार्नु हुँदैन । उनीहरुलाई जतिबेला नै पढाईको लागि बाध्य गराउनु हुँदैन । उनीहरुलाई रिभिजन हुने गरि मात्र पढ्न लगाउनुमा नै राम्रो हुन्छ ।

दशैं—तिहारको विदामा कक्षाको तह हेरेर विद्यार्थीहरुलाई गृह कार्य दिने गर्नु पर्दछ । माध्यमिक तहका विद्यार्थीलाई विदामा कोर्स रिभिजन गर्नका लागि समय तोकिदिनु, उनीहरुको एसईई परीक्षा जीवनको लागि महत्वपूर्ण भएका कारण हामीले उनीहरुलाई किताब नै पढ्न बढि प्रोत्साहित गर्नु उपयुक्त हुन्छ । विद्यार्थीहरुलाई विभिन्न असाइन्मेन्टहरु दिनु, कक्षा १ देखि ९ कक्षासम्मका विद्यार्थीहरुलाई किताब मात्र पढ्ने भन्दापनि ज्ञान प्राप्त गर्ने खालको कार्यभार दिनु उपयुक्त हुने गर्दछ । उनीहरुको वरपरबाट कुनै विशेष व्यक्तिहरुको अन्तर्वाता लिने, वरपरका केहि घरहरुाम कतिजना छन्, कति पढेका छन्, इत्यादि रिपोर्ट तयार पार्ने जस्ता प्रोजेक्ट कार्य दिंदा उनिहरुमा अनुसन्धानमूलक ज्ञानको अभिवृद्धि हुने गर्दछ ।

विद्यार्थीहरुले साधारणतया दशैं, तिहारको विदा घर, मामाघर गएर तथा रमाइलो गर्नमा खर्च गर्ने गर्छन् । प्रायः वर्षको १ पटक आउने लामो विदा विद्यार्थीहरुले रमाइलो गरेर बिताउँछने गर्दछन् । विद्यालयले दिएको गृहकार्यहरु पुरा गर्छन् । माथिल्ले तहमा पढ्ने बच्चाहरु विभिन्न प्याकेजको टुरहरु पनि जाने गर्छन् । उनीहरु छुट्टिलाई आफ्नै तरिकाले बिताउन चाहन्छन् । तर पढाई पनि त्यत्तिकै मान्यता छ ।

विद्यार्थीहरुले चाडपर्वलाई रमाइलो रुपमा मनाउँदै त्यसबाट विभिन्न ज्ञान आर्जन गर्ने मौकाको रुपमा उपयोग गर्न सक्छन् । परिवार तथा आफन्तहरुबाट उनीहरुले चाडपर्वका बेलामा धेरै कुरा सिक्न सक्छन् । ठूलाबडाबाट उनीहरुले संस्कार, संस्कृति र विभिन्न ज्ञान आर्जन गर्न सक्छन् । अभिभावकहरुले आफ्नो बच्चाले धेरै पढोस् भन्ने सोच्छन् । उनीहरुले विदाका समय पनि बच्चालाई रमाइलोभन्दा पनि धेरै पढ्न तिर धकेल्छन् । तर यो गर्नु ठीक होइन । अभिभावकहरुले बरु बच्चाहरुलाई यस विदाको समयमा विभिन्न ठाउँहरु घुमाएर उनीहरुलाई बाहिरी ज्ञान प्रदान गर्न सक्छन् । उनीहरुलाई विभिन्न धार्मिक, संस्कृतिक, सामाजिक, ऐतिहासिक ठाउँहरु घुमाउने हो भने उनीहरुले यी कुराहरुको ज्ञान प्राप्त गर्छन् । विद्यार्थीहरुले किताबबाट मात्र सिक्छन् भन्ने हुँदैन । उनीहरुले कापी र कलमले मात्र केहि लेख्न र जान्न सक्छन् भन्ने छैन । भौतिक कुराहरुबाट पनि उनीहरुले सिक्न सक्छन् । उनीहरुलाई पढाई भनेर मात्र पनि पछि लाग्नु हुँदैन । यो विदाको समयमा उनीहरुलाई बाह्य ज्ञान प्रदान गर्नुपर्छ । (लेखकः नव प्रतिभा ईङ्गलिस स्कूल मण्डनदेउपुरका संस्थापक/प्रिन्सिपल हुन्)