विपी राजमार्गका सवारी साधन होल्डमा, अरनिको राजमार्गको खावा खण्डमा एकतर्फी यातायात संचालन

फाइल तस्वीर

धुलिखेल/निरन्तरतको वर्षातले थप जोखिम हुन नदिन ट्राफिक प्रहरीले विपी राजमार्गको धुलिखेल, काभ्रेभन्ज्याङ्ग, भकुण्डे र मंगलटारमा सवारी साधन होल्ड गराएको छ । भकुन्डे क्षेत्रमा अत्याधिक वर्षातका कारण हुन सक्ने जोखिम न्यूनीकरणका लागि सवारी साधन होल्ड गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरिक्षक सुनिल धाँजुले जानकारी दिए ।

‘अहिले विपी राजमार्गका विभिन्न खण्डमा सवारी साधन होल्ड गरिएको छ । होल्ड गरिएका सवारी साधनलाई सुरक्षित स्थानमा राख्नका लागि भनिएको छ’–प्रहरी निरिक्षक धाँजुले भने–‘रोशी क्षेत्रको मंगलटारमा लेदो बग्न थालेको छ । तर सवारी आवागमन रोखिएको छैन । होल्ड गराईएको छ । रोशी खोला बढेर हुन सक्ने जोखिम न्यूनीकरण गर्न चौकीडाँडाबाट भकुण्डेसम्मका सवारी साधनलाई भकुण्डेमा होल्ड गराईएको छ । काभ्रेभन्ज्याङ्ग र धुलिखेलमा पनि सवारी साधन होल्ड गराईएको छ ।’

अरनिको राजमार्गको धुलिखेल खावा खण्ड स्थित तिरतिरे धारा नजिकै गएको पहिरोका कारण एकतर्फी मात्रै सवारी साधन संचालन भएको छ । ट्राफिक प्रहरी, नेपाल प्रहरी, शशस्त्र प्रहरी र जिल्ला स्थित विपद ब्यवस्थापन समितिले अत्यावश्यक काम बाहेक यात्रा नगर्न र घरबाट बाहिर ननिस्कन नागरिकहरुलाई माईकिङ्ग गरिरहेको छ ।