काभ्रेमा पनि जनजिवन प्रभावित, दुबै राजमार्ग र सहायक मार्ग अवरुद्ध
धुलिखेल/जिल्ला विपद ब्यवस्थापन समिति काभ्रेको बैठकले असोज २० गतेसम्म विपी राजमार्ग बन्द गर्ने निर्णय गरेकै दिन विपी राजमार्गका विभिन्न स्थानमा पहिरो र खोलाको कटानका कारण तत्काल राजमार्ग सूचारु नहुने भएको छ । रोशी गाउँपालिकाको विभिन्न स्थानमा रोशी खोलाले राजमार्ग कटान गरेको छ भने नमोबुद्ध र धुलिखेलका क्षेत्रमा पनि सडक भासिएको र बगेको छ ।
अरनिको राजमार्गका विभिन्न स्थानमा अवरुद्ध भएको छ । भक्तपुर क्षेत्रमा पर्ने साँगामा पहिरोका कारण अवरुद्ध सडक पन्छाउने प्रयत्न जारी छ । तर पनि सडक सूचारु हुन सकेको छैन । अत्यावश्यक सवारी साधनहरु भित्री सडक नाला हुँदै राजधानी आउने जाने गरिरहेका छन् ।
सार्वजनिक यातायात बसहरु संचालन भएका छैनन । रोशी खोलाको वहावका कारण महाभारत क्षेत्र सडक सम्पर्क विच्छेद भएको छ । खानीखोला पुग्ने सडक पनौती ताल्ढुंगा र अन्य सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरिक्षक सुनिल धाँजुले बताएका छन् ।
बेथान्चोक गाउँपालिकाको प्रशासनिक भवनमा खोलाले क्षति पु¥याएको छ । ७० घर परिवार राति नै गाउँपालिका र वडा कार्यालयको समन्वयमा अन्यत्र सुरक्षित स्थानमा सारिएको छ । सदरमुकामा धुलिखेलको वडा नम्वर १ मा पहिरो जाँदा मन्दिर पुरिएको छ । अन्य वडाहरुमा जाने सडक सामान्य पहिरोका कारण अवरुद्ध छन् । निरन्तर पानी परिरहेका कारण अवरुद्ध सडक खुलाउने प्रयत्न सम्भव भएको छैन ।
पाँचखाल, मण्डनदेउपुर, भुम्लु, चौरीदेउराली, तेमाल, पनौती, नमोबुद्ध लगायतका क्षेत्रमा सहज रुपमा सडक संचालन हुन सकेको छैन । यद्यपी यतिबेलासम्म गत वर्षको असोज १०–१२ गतेको जस्तो वर्षातले जिल्लाको कुनै पनि क्षेत्रमा क्षति गराएको छैन । बनेपा नगरपालिका क्षेत्र भित्र पर्ने अरनिको राजमार्गको पुलबजार र गोदामचोक क्षेत्रमा केहि समय डुबान भयो । अहिले सहज रुपमा सवारी साधन संचालन भएका छन् । अन्य वडाहरुमा जाने सडक भने कतै कतै अवरोध भएको नगरपालिकाले जानकारी दिएको छ ।






