जलवायु परिवर्तन, बेमौसमी झरी र किसानको सपना

आजबाट मौसममा केहि सुधार आएयता दुई÷तीन दिन देखिको लगातार झरीले निथ्रुक्कै भिजेको मन थोरबहूत भएपनि खुल्न थालेको छ । हुन त अघिल्लो वर्षपनि असोजमा झरी नपरेको हैन । नेपालको बिभिन्न ठाउँहरुमा पानी पर्नुको साथै रोशी बितण्डा अझै ताजा छ । असारे झरी, साउने भेल, भदौरे पानी सुन्दै र केहि हदसम्म भएपनि देख्दै आएको हाम्रो पुस्ताले यो कात्तिके झरीको पनि सशक्त सामना गर्नु पर्यो ।

बर्ष भरि दुःख गरेर भित्राउन लागेको वेला भिजेको धानको मुठा सँगै भिजेका किसानहरूका मन, झरीले झारेको फूल र यात्रामा रहेका आन्तरिक तथा बाह्य पर्यटकहरूको रोक्किएको कदम, बाढि र पहिरोले भत्काएका सडक तथा पुलहरू अनि पहिरो सँगै पुरिएका ति सपनाहरू सबैको साक्षी बस्नु परेको छ ।
साविक भन्दा ढिलो गरी प्रवेश गरेको तथा ढिलो बाहिरिएको मनसुन सक्कियो भन्न नपाउँदै अनाहकमा आइपुगेको यो झरिले सवैलाई चकित पारेको छ । यो काम न काजको विनाशे बेमौसमे झरि के कति कारणले भयो भनेर मौसमविद हरूले बताउँदै होलान् । तर अहँ मलाई ति कुनै तथ्यको पछाडी लाग्न मन छैन । मेरो अटेरी मन र दिमागले भनिरहेको छ कि यो जलवायु परिवर्तनको असर हो ।
सामान्यतया पृथ्वी तथा यसको वायुमण्डलको तापक्रममा वृद्धि भएको अवस्थाले लामो समयको अन्तरालमा वातावरणमा पारेको असर र परिवर्तनलाई जलवायु परिवर्तन भनिन्छ । अर्थात पृथ्वीमा मानवीय क्रियाकलापका कारण हरितगृह ग्यासको अत्याधिक उत्सर्जन भई पृथ्वीको तापक्रम बढ्न गई जलवायु परिवर्तन भएको हो । जलवायु परिवर्तनका थोरै कारण छन् भने असरहरू थुप्रै ।
वास्तवमा जलवायु परिवर्तनको थोरै मात्रै कारकको रूपमा रहेको नेपाल यसको असरको भने ठूलो जिम्मेवारी वहन गरिरहेको छ । यो वास्तवमै पीडादायक छ । ठूलाठूला औद्योगिक राष्ट्रहरूको दिन प्रतिदिन बढ्दो कार्वन उत्सर्जन तथा हरितगृह उत्सर्जनको अगाडी नेपाल जस्तो अविकसित राष्ट्र साँच्चै निरिह बन्न पुगेको छ । हाम्रो जस्तो देशले न त कार्वन उत्सर्जनमा ति विकसित राष्ट्रहरू सँग प्रतिस्पर्धा गरेर थप विकसित बन्न सक्छ न त जलवायु परिवर्तनको असरबाट भाग्न नै । मेरो आशय फेरी हामीले टन्नै हरित गृह ग्यास उत्सर्जन गरेर पृथ्वीको तापक्रम बढाउनुमा ठूलो योगदान पुर्याउनुपर्छ भन्ने होइन । मात्रै आफुले नगरेको पापको सझाय भोग्नु परेकोमा चिन्ता व्यक्त गरेको हुँ ।

नेपालले जलवायु परिवर्तनको असरलाई लिएर गम्भिर रूपमा अगाडी बढ्नु पर्ने देखिन्छ । जलवायु परिवर्तन सम्बन्धी राष्ट्रिय नीति २०६७ लाई प्रादेशिकरण तथा स्थानीयकरण गर्नु आजको पहिलो आवश्यकता हो । जलवायु परिवर्तनका कारक तत्वहरूलाई रोक्न विश्व समुदायको ध्यान आकर्षण गर्नुका साथै सो सम्बन्धी थप आन्तरिक नीति तथा कार्यक्रमहरू तर्जुमा गरी लागु गर्न आवश्यक छ । जलवायु परिवर्तनका प्रतिकुल प्रभावहरूबाट वच्न वचाउन, मानव विकास र समृद्धि कायम गर्दै दिगो विकासको अवधारणालाई अवलम्वन गरि स्थानीय तहहरू देखि नै वातावरण मैत्री विकास निर्माण गर्ने, वातावरण संरक्षणमा लाग्नु पर्ने तथा जलवायु परिवर्तन अनुकुल आर्थिक –सामाजिक पूर्वाधारको स्थापना गर्नु पर्ने र जलवायु परिवर्तनवाट सिर्जित अवसरहरूको समेत सदुपयोग गर्दै जानुपर्ने देखिएको छ । यसका लागि अध्ययन अनुसन्धान तथा खोजहरू गरी सोहि आधारमा नीतिगत तथा कार्यक्रमगत व्यवस्था गर्नुका साथै व्यापक जनचेतनाको अभिवृद्धि आवश्यक पर्दछ ।

परिवर्तन अवश्यम्भावी छ । प्राकृतिक विपद् बाजा बजाएर आउादैन । न त यसबाट भाग्न नै सकिन्छ । यस सँग जुध्नको लागि पूर्वतयारी र प्रतिकार्य गर्नुको विकल्प छैन । प्रकृतिले जता डोहोर्याउँछ त्यतै जानु सिवाय हाम्रो धर्म हो । यसको लागि प्रकृतिमैत्री क्रियाकलाप गर्नु र पृथ्वीको आयु र मानव अस्थित्वलाई जोगान गरिने प्रयत्नको बिकल्प छैन ।
बिहिबार रातीदेखि परेको बेमौसमी झरीले पूर्वदेखि पश्चिमसम्म धानबालीमा क्षति पु¥याएको छ । काटेर खेतमै सुकाइएको धानको बाला पानीमा डुबेको छ । नकाटिएको धानको बोट पनि हावाहुरीले लडाएको छ । पहाडी क्षेत्रमा अलिक ढिलागरी पाक्ने रैथाने धानको फूल पानीले बगाइदिँदा अब साविक मात्रामा धान भित्र्याउन पाइने आशा मरेको छ ।

मेहनत र पाखुरीको बलमा सारा दुनियाँलाई पाल्ने किसानहरु बेमौसमी झरीको कारणले गर्दा राहतको लागि आफै हात फैलाउन बाध्य भएका छन् । खेतबारीमा लगाएको धानसँगै आफ्नो सपनालाई सजाएर बसेका मेहनती किसानका धानसँग जोडिएका मिठा र सुन्दर सपनाहरु बेमौसमी झरीले बगाएको छ । त्यति मात्र भएको छैन बारिमा फल्ने विभिन्न तरकारी र कोसे बालीहरु नष्ट हुन पुगेको छ ।
जीवनमा आइपरेको आर्थिक अभाव सहन सक्ने तर कसैको दबाब सहन नसक्ने, आफ्नो हत्केलाको ठेला सहन सक्ने तर कसैको हेला सहन नसक्ने स्वाभिमानी किसानहरुले यति बेला खेतमा जमेको पानी र बगिरहेको धान हेर्दै आफ्नो निधारमा हत्केला बजार्दै छन्, थाप्लो ठोक्दै छन् । धान बाली भित्राएर भकारी भर्ने बेलामा सबै धान पानीले बगाइदियो । रित्तो भकारी देखेर किसानका आँखा आँसुले भरिएका छन् ।

जब किसानले आफ्नो धानले भरिएको भकारीलाई हेर्थे तब सोच्थे मैले आफ्नो परिश्रमले वर्षभरि खानलाई अन्न जोहो गर्न सफल भए भनेर गर्वले छाती फुलाउँथे । बजारमा अन्नको लागि जस्तोसुकै आपतविपद, संकट आइपरे पनि किसानहरु आफ्नो भकारीको धान देखेर हर्षले उफ्रिन्थे । वर्षै साल हुने जल वायु परिवर्तनको असरले असोज महिनामा भारी वर्षा हुन थालेको छ । समय तथा ठाउँविशेष रोपोको धानाम पूmल फुल्दै गरेकोदेखि काटेकोसम्म धान बालीलाई प्रत्यक्ष असर परेको छ । दशैंको मुखमा अवरुद्ध भएका सडकहरु खोल्नु छ । पहिरो पन्छाउनु छ । वर्षातले थपिएको २ दिनको विदाको सदुपयोग गर्दै विपद्मा परेका जनसमुदायको उद्धार र राहतको कार्य सम्पन्न गर्नुपर्ने छ । जलवायु परिवर्तनको असरसंग पौठेजोरी खेल्दै आजैबाट देखि जुरुक्क उठ्नु छ । सबै सपनाहरु साकार पार्नु छ ।