घर पूर्ण क्षति भएका बाढीपहिरो पीडितलाई धुलिखेल नगरपालिकाले ५० हजार दिने
बनेपा/ धुलिखेल नगरपालिकाले बाढीपहिरोपछिको राहत र उद्धार कार्यलाई तिव्रता दिएको छ । विपद् व्यवस्थापन समितिको बैठकले अवरुद्ध सडक तत्काल सुचारु गर्ने, बाढीपहिरो प्रभावितलाई राहत उपलब्ध गराउने, थप जोखिम हुन नदिन पुर्वतयारीका कार्यलाई निरन्तरता दिने निर्णय गरेको हो ।
निरन्तरको वर्षाबाट भएको क्षति तथा तत्काल गर्नुपर्ने उद्धार र राहत कार्यहरूबारे नगर प्रमुख अशोक ब्याञ्जुको अध्यक्षतामा उप–प्रमुख निराजन जंगम, १२ वटै वडाका वडा अध्यक्षज्यूहरू र सम्बन्धित शाखाका प्रमुखहरूको उपस्थितीमा पूर्ण बैठक बसेको थियो ।

बाढीपहिरोले पूर्ण क्षति भएका निजी आवासहरूलाई स्थलगत प्राविधिक निरीक्षण गरी राहत उपलब्ध गराउनुको साथै उक्त परिवारलाई आवश्यक खाद्यान्न, त्रिपाल, जस्ता पाता लगायतका राहत सामग्री उपलब्ध गराउने निर्णय बैठकले गरेको छ ।
आंशिक क्षति भएका निजी आवासहरूमा थप जोखिम बढ्न नदिन त्रिपाल तथा प्लास्टिक उपलब्ध गराउने, पूर्ण क्षति घर लाइ ५० हजार र आंशिक क्षति घर लाइ २० हजार तथा गोठहरूलाई तत्काल राहतस्वरूप १० हजार उपलब्ध गराउने निर्णय भएको नगर प्रमुख अशोक ब्याञ्जुले जानकारी दिए । सबै वडाका मुख्य सडकहरू तत्काल सुचारु गर्ने व्यवस्था मिलाउने र सहायक सडकहरू क्रमशः खुलाउँदै जाने उनको भनाई छ ।
खानेपानीका मुहानहरू तथा पाइपलाइनहरू तत्काल मर्मत गरी सञ्चालनमा ल्याउने, वर्षातपछि पानीका कारण फैलन सक्ने हैजा लगायत अन्य रोगहरू नियन्त्रणका लागि नगर स्वास्थ्य संयन्त्रलाई चुस्त–दुरुस्त राखी प्रभावकारी रूपमा परिचालन गर्ने निर्णय भएको छ। सबै वडामा भएको क्षतिको विस्तृत विवरण संकलन गरी तत्काल कार्य प्रारम्भ गर्ने धुलिखेल नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष एवं सामाजिक विकास समिति संयोजक गणेश आचार्यले जानकारी दिए ।





