काठमाडौं र ललितपुरमा आजका लागि घोषित बिदा खारेज
काठमाडौं/लगातारको वर्षाका कारण उत्पन्न हुनसक्ने विपद्को जोखिमलाई मध्यनजर गर्दै काठमाडौं र ललितपुर जिल्लामा आजका लागि घोषणा गरिएको सार्वजनिक बिदा खारेज गरिएको छ । मौसममा आएको सुधार र जोखिमको अवस्था टरेको ठहर गर्दै दुवै जिल्लाका प्रशासन कार्यालयहरूले आइतबार राति सूचना जारी गर्दै सोमबारदेखि सरकारी कार्यालय तथा सार्वजनिक सेवाहरू नियमित रूपमा सञ्चालन हुने जानकारी गराएका हुन् ।
गृह मन्त्रालयको निर्देशनअनुसार, विपद् जोखिम तथा प्रतिकार्य कार्यमा प्रत्यक्ष रूपमा संलग्न नरहेका जिल्लाहरूलाई सेवा नियमित सञ्चालन गर्न भनिएसँगै राजधानीका दुई जिल्लामा बिदा खारेजीको निर्णय आएको हो । काठमाडौं जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा भनिएको छ, ‘मिति २०८२/०६/२० सोमबार बिहान १० बजेदेखि कार्यालय समयसम्म काठमाडौँ जिल्लाका सबै प्रकारका सरकारी कार्यालयहरू, संस्थानहरू र स्थानीय तहहरूबाट सेवा प्रवाह हुने गरी कार्यालय खुला राख्न तथा कर्मचारीहरूको उपस्थितिको व्यवस्था मिलाउन अनुरोध गरिएको छ ।’
यस्तै, ललितपुर प्रशासनले पनि सोमबारदेखि सबै सार्वजनिक सेवा नियमित रूपमा सञ्चालन हुने जनाएको छ । यसअघि असोज १९ र २० गते दुई दिन सार्वजनिक बिदा घोषणा गरिएको थियो, जसको उद्देश्य उद्धार तथा राहत कार्यमा ध्यान केन्द्रित गर्नु रहेको थियो । बिदा खारेजीको यस निर्णयसँगै काठमाडौं र ललितपुरका सम्पूर्ण सरकारी कार्यालय, संस्थान र स्थानीय तहहरू आजदेखि पुनः आफ्नो नियमित कार्य सञ्चालन गर्नेछन् ।






