आफ्नै आमाको हत्या अभियोगमा जेनजी आन्दोलनमा चर्चित युवक पक्राउ
बनेपा/ जेनजी आन्दोलनमा सक्रिय सहभागिता जनाउँदै भाइरल बनेका एक युवक आफ्नै आमाको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५, थापाकटेरीका ३० वर्षीय यमबहादुर कँडेल जिरेले ५५ वर्षीया आमा राममाया कँडेलको हत्या गरेको पुष्टि भएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी भेषराज रिजालका अनुसार, यमबहादुरले आइतबार राति धारिलो हतियार प्रयोग गरेर आमाको हत्या गरेका हुन्। हत्या अनुसन्धानका क्रममा उनले आमालाई नै ज्यान लिएको स्वीकारेका छन् ।

प्रहरीले घटनास्थलमै उपस्थित रहेर उनलाई हतियारसहित नियन्त्रणमा लिएको हो। अहिले उनी प्रहरी हिरासतमा छन् र घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
सामाजिक सञ्जालमा जेनजी आन्दोलनका क्रममा प्रहरीसँग घम्साघम्सीमा उत्रिएका यमबहादुर त्यतिबेला भाइरल बनेका थिए। तर आमामाथि हात उठाउँदै ज्यान लिने उनको क्रियाकलापले गाउँ शोकमा डुबेको छ । उनलाई अहिले प्रहरीले हिरासतमा राखेको छ ।





