बीपी राजमार्गको विकल्पमा भकुण्डे–तेमाल–मंगलटार सडक सञ्चालनको तयारी

बाढीपहिरोले विपी राजमार्गको अस्थायी डाइभर्सन बगाएपछि विकल्पको खोजी सुरु भएको छ । रोशीखोलाको बहाव नघटेसम्म पुनर्निर्माणको कार्य सुरु गर्न असम्भव देखिएपछि अन्य विकल्प खोज्न थालिएको हो । विपी राजमार्गको चौकीडाँडादेखि बर्खे खोलासम्मको करिब ३.४१० किलोमिटर डाइभर्सन सडकमा क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ । काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बीपी राजमार्गको विकल्पमा भकुण्डे–तेमाल–मंगलटार सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको जानकारी दिए । स्थानीय पालिका र सडक डिभिजन कार्यालयको पहलमा सडक व्यवस्थित गर्ने कार्य भइरहेको उनले जानकारी दिएका छन् ।

भकुण्डे तेमालको सडकमा साना र फोरह्विल भएका साना सवारी साधन मात्र सञ्चालन हुनसक्ने अवस्था छ । यद्यपी भकुण्डे–तेमाल हुँदै जाने सडकलाई वैकल्पिक मार्गको रुपमा प्रयोग गर्न भने प्रशासनले अहिलेसम्म सिफारिस गरेको छैन ।

उक्त सडक खण्ड कच्ची र साँघुरो भएकाले प्रहरीले उक्त मार्गलाई वैकल्पिक मार्गको रुपमा प्रयोग गर्न सिफारिस नगरेको हो । गत वर्ष असोज दोस्रो साताको बाढीपहिरोले बिपी राजमार्गको करिब २९ किलोमिटर सडक पूर्णरुपमा क्षति भएपछि सडक डिभिजनले तीन साता लामो प्रयासमा डाइभर्सन सडक निर्माण गरी यातायात सञ्चालनमा ल्याएको थियो ।

मङ्गलटारबाट मोटरसाइकलाई तेमालको बाटो पठाउनका लागि मङ्गलटार–तेमाल सडकको पहिरो पन्छाउने काम भइरहेको छ । उक्त सडकको पहिरो पन्छाएपछि मङ्गलटारबाट झोलुङ्गे पुल तरेर तेमाल निस्केर धुलिखेलतर्फ आवतजावत गर्न सकिने छ ।

अहिले राजमार्ग बाढीपहिरोले क्षतविक्षत बनाएपछि बिचबाटोमा अलपत्र परेका र दशैं मनाएर सङ्घीय राजधानी काठमाडौँ फर्कने र काठमाडौँबाट आफ्नो गन्तव्यमा जान अरनिको राजमार्गको खाडीचौर–दोलखा–मन्थली–खुर्कोटको वैकल्पिक मार्ग प्रयोग गरिरहेका छन् । यो मार्ग भएर यात्रा गर्ने यात्रुले झण्डै एकसय किलोमिटर लामो यात्रा गर्नुपर्ने बाध्यता छ । बिपी राजमार्ग बन्द भएपछि यात्रुहरुले अरनिको राजमार्गको धुलिखेलदेखि चरिकोटसम्म करिब एकसय किलोमिटर सडक र चरिकोटबाट सिन्धुलीको खुर्कोटसम्मको ७५ किलोमिटर सडकमा करिब ६ घण्टाको यात्रा गर्नुपर्नेछ ।

बिपी राजमार्ग सुचारु भएको भए यात्रुहरुले धुलिखेलदेखि खुर्कोटसम्मको ८७ किलोमिटरको सडकको यात्रा गर्नुपर्ने हुन्थ्यो । वैकल्पिक मार्ग प्रयोग गर्दा सडक अवरुद्ध नभएको खण्डमा यात्रु तथा सवारीलाई थप तीन घण्टाको यात्रा गर्नुपर्ने अवस्था छ ।

बिपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएपछि यसको विकल्पमा अरनिको राजमार्गहुँदै दोलखा–रामेछाप–खुर्कोटको बाटो र बिपी राजमार्गबाट मध्यपहाडी राजमार्ग जोड्ने सित्खा हुँदै सिन्दुरेटार–तेमाल–भकुण्डेको बाटो प्रयोग भएको छ ।