बाढीबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि दुई दिनमा ६५ लाखभन्दा बढी एसएमएस
जल तथा मौसम विज्ञान विभागले बाढीबाट हुनसक्ने सम्भावित धनजनको क्षति न्यूनीकरणका लागि गत शनिबार र आइतबार दुई दिनको अवधिमा करिब ६५ लाख १६ हजारभन्दा बढी पूर्वसूचना प्रवाह गर्दै प्रभावित क्षेत्रका सर्वसाधारण तथा सरोकारवाला निकायलाई मोबाइल एसएमएस पठाएको बताउनुहुन्छ विभागका बाढीविद् विनोद पराजुलीले जानकारी दिए ।
“दुई दिनको अवधिमा नेपाल टेलिकम र एनसेलमार्फत करिब ६५ लाख १६ हजार एसएमएस प्रवाह गरिएको छ,” उनले बताए, “बाढीको पूर्वसूचनाका आधारमा सर्वसाधारणले समयमा नै सुरक्षित स्थानमा बस्न पाउनुभयो । पछिल्ला वर्षहरूमा पूर्वसूचनाको प्रभावकै कारण बस्तीमा बाढीबाट मानवीय क्षति कम हुन थालेको छ । अझै पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउन आवश्यक छ ।”
विपद् व्यवस्थापनविद्हरूले यसपटक मनसुनजन्य विपद्बाट हुने क्षति न्यूनीकरणमा सरकारले गरेको पूर्वतयारीका कार्य राम्रो देखिएको बताएका छन् । विपद् व्यवस्थापनविद् डा. धर्मराज उप्रेतीले विपद्का समयमा हुने धनजनको क्षति न्यूनीकरणका लागि सरकारले थालेको तयारी र पूर्वसूचना सम्प्रेषण विगतको तुलनामा यसपटक राम्रो देखिएको भन्दै प्रशंसा गरेका छन् ।
“गतवर्ष पनि मौसमविद्हरूले ठूलो वर्षा हुने र बाढी–पहिरोको जोखिम रहने पूर्वानुमान गरेकै थिए । तर यातायात मात्रै सञ्चालन हुन नदिएको भए त्यति धेरै क्षति हुन पाउँदैनथ्यो,” उनले भने, “यसपटक यातायात बन्द गरेर राम्रो भएको छ । आगामी दिनमा पनि यसरी नै आवश्यक पूर्वतयारीका लागि सम्बन्धित सरकारी निकायबीच समन्वय बढाउन आवश्यक छ ।
डिपिनेटका अध्यक्ष डा.राजु थापाले सम्भावित विपद्लाई ध्यानमा राखेर सरकारले विभिन्न सङ्घसंस्था तथा निजी क्षेत्रसँग सहकार्यमा पूर्वतयारी एवं उद्धार कार्यहरु प्रभावकारी रुपमा सञ्चालन गरेको बताउँदै आगामी दिनमा पनि सामूहिक प्रयासबाटै यस्ता विपदबाट सुरक्षित हुन सकिनेछ भने । यसैगरी सर्वसाधारणले पनि सरकारले दिएको निर्देशन पालना गरेर सुरक्षित रहन सकेमा भविष्यमा यस्ता विपदबाट हुनसक्ने सम्भावित धनजनको क्षति कम गर्न सकिने उनको तर्क छ ।”






