चौकीडाँडामा तीन पालिकाको संयुक्त बैठकः विपी राजमार्ग र थानसिङ वेशी पुल प्राथमिकतामा

by | अशोज २०, २०८२

चौकीडाँडामा तीन पालिकाको संयुक्त बैठकः विपी राजमार्ग र थानसिङ वेशी पुल प्राथमिकतामा

गत शुक्रबार र शनिवारको भीषण वर्षापछि आएको बाढीपहिरोले क्षतिग्रस्त विपी राजमार्गको चौकीडाँडामा तीन पालिकाको संयुक्त बैठक बसेको छ । नमोवुद्ध नगरपालिका, रोशी र महाभारत गाउँपालिकाका प्रमुख, सडक विभाग, निर्माण व्यवसायी, सुरक्षा निकायका प्रमुखसहितको उपस्थितीमा बसेको बैठकले अवरुद्ध विपी राजमार्ग तत्काल सञ्चालनका लागि आवश्यक समन्वय र सहकार्य गर्ने निर्णय गरेको छ । राजमार्ग निर्माण कार्य आजैबाट सुरु भएको छ ।

बैठकले गत वर्षको बाढीपहिरोले पूर्ण रुपमा क्षति भएको नमोवुद्ध नगरपालिका वडा नं ६ र रोशी गाउँपालिका ७ जोड्ने थान सिङ्ग वेशी पक्की पुल तत्काल सञ्चालनका लागि वेलिव्रिजको व्यवस्थापन र दीर्घकालमा पक्की पुल निर्माणको लागि नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ । यहाँ पुल नहुँदा जिल्लाको विकट क्षेत्र महाभारत आवतजावतमा कठिनाई छ । नमोवुद्ध नगरपालिका वडा नं ६ मा पर्ने चरङ्गे दोभान दाप्चा खोलामा वेलिव्रिज निर्माणका लागि नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकमा नमोवुद्ध नगरपालिकाका नगर प्रमुख कुन्साङ लामा, रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामा, महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बा, रोशी गाउँपालिकाका उपाध्यक्ष भीमबहादुर वाइवा, सडक विभागका इन्जिनियर दुर्गा प्रसाद लगायत सरोकारवालाको उपस्थिती रहेको थियो ।